
बुटवल । रुपन्देहीको तिलोत्तमामा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा क्रिकेट क्याम्प सम्पन्न भएको छ । एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी क्याम्प आयोजना गरिएको हो । ४ दिन सम्म चलेको क्याम्पमा रुपन्देहीका ५५ जना विद्यार्थीहरुको सहभागिता रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयका प्लस टु (व्यवस्थापन) संयोजक लक्ष्मण अर्यालले जानाकारी दिए ।
निशुल्क प्रदान गरिएको क्रिकेट क्याम्पमा नेपाल क्रिकेट एशोसिएनका सहायक प्रशिक्षक बसन्त बहादुर शाहीले प्रशिक्षण दिएका थिए । पछिल्लो समय क्रिकेट खेल तर्फ धेरै विद्यार्थीहरुको रुची बढ्दै गएकाले पनि निशुल्क क्रिकेट क्याम्प आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्लस टु विज्ञान संकायका संयोजक सुरज बस्यालले क्रिकेट क्रेज बढिरहेको अवस्थामा त्यसलाई प्रोत्साहन गर्न पनि विद्यालयले क्याम्पको आयोजना गरेको बताए ।
क्याम्पमा विद्यार्थीहरुले बलिङ, व्याटिङ, फिल्डिङका साथै सामान्य आधारभुत ज्ञान समेत प्राप्त गरेका थिए । हाल विद्यालयले क्रिकेट खेललाई प्राथमिकतामा राख्दै प्रशिक्षण केन्द्र समेत सञ्चालनमा आएको छ । हालै मात्र विद्यालयले क्रिकेट प्रशिक्षकको रुपमा बसन्त शाहीलाई नियुक्त गरेको र अब विद्यार्थीहरुका लागि नियमित क्रिकेट प्रशिक्षणको कार्यक्रम गर्ने बताइएको छ ।