बुटवल । रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योगीहरूको आकर्षण बढ्दै गएको छ।
लामो समयसम्म अपेक्षित रूपमा सञ्चालनमा आउन नसकेको सेज अहिले भने सरकारी नीतिगत सुधार र उद्योगमैत्री व्यवस्थापछि क्रमशः चलायमान बन्दै गएको हो। हाल सेजभित्र एकैपटक ६ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन्।
सेज कार्यालय भैरहवाका प्रमुख इन्जिनियर सपुत डुम्रेका अनुसार हाल सेजभित्र २१ वटा उद्योगले स्थापना अनुमति लिएका छन्। तीमध्ये १२ वटा उद्योग सञ्चालनमा छन् भने ६ वटा उद्योग निर्माणको चरणमा रहेका छन्। एउटा उद्योग भने बन्द अवस्थामा छ। थप दुईवटा उद्योगले अब निर्माण सुरु गर्ने योजना बनाएका छन्।
सरकारले पछिल्लो समय उद्योग प्रवर्द्धनका लागि विभिन्न नीतिगत निर्णय तथा सहुलियतका कार्यक्रम लागू गरेपछि उद्योगीहरूको आकर्षण बढ्दै गएको प्रमुख डुम्रेको दाबी छ। प्रमुख इन्जिनियर डुम्रेले सेजमा पछिल्लो समय देखिएको गतिविधिलाई उत्साहजनक रूपमा लिइएको बताए।
उनका अनुसार स्पोर्ट इलेक्ट्रिक प्रालिले इलेक्ट्रिक उपकरण उत्पादन गर्ने उद्योग निर्माण गरिरहेको छ भने इरिगेसन मेटल क्राफ्ट प्रालिले स्टिल तथा धातुजन्य सामग्री उत्पादन गर्ने उद्योग स्थापना गरिरहेको छ।
त्यस्तै, डाटा वर्ल्ड प्रालिले डेटा सेन्टर सञ्चालनको तयारी गरिरहेको छ भने डीएलएल ग्लोबल प्रालिले चाँदी, सुन तथा कृत्रिम गहनासम्बन्धी उद्योग स्थापना गरिरहेको छ। अलमाइटी ओभरसिज नेपाल प्रालिले पनि विभिन्न उत्पादनमूलक उद्योग सञ्चालन गर्ने उद्देश्यसहित निर्माण कार्य अघि बढाइरहेको उनले बताए।
उनका अनुसार थप दुईवटा उद्योगले पनि अनुमति लिइसकेका छन्। जसमध्ये एउटा उद्योगले पेय पदार्थ उत्पादन गर्ने योजना बनाएको छ भने अर्को कम्पनीले स्टिलजन्य सामग्री उत्पादन गर्ने तयारी गरिरहेको छ।
सेज सुरु हुँदा प्रतिवर्गमिटर १५० रुपैयाँ रहेको भाडा अहिले घटाएर २० रुपैयाँमा झारिएको छ। भाडादर घटाइएपछि उद्योगीहरूलाई केही राहत पुगेको बताइएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले विगतमा सेजमा जग्गा भाडा महँगो हुनु र उत्पादनको ठूलो हिस्सा अनिवार्य रूपमा निर्यात गर्नुपर्ने व्यवस्था लगायतका नीतिगत समस्याका कारण उद्योगीहरू आकर्षित हुन नसकेको बताए। पछिल्लो समय ती व्यवस्थामा सुधार हुँदै जाँदा उद्योग स्थापना गर्ने क्रम बढेको उनको भनाइ छ। उनले सेजलाई अझ प्रभावकारी र चलायमान बनाउन राज्यले थप उद्योगमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।
निर्यातको अवस्था कस्तो छ ?
रुपन्देहीको भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालनमा रहेका उद्योगहरूले उत्पादनसँगै निर्यातमा वृद्धि गरेका छन्। पछिल्ला वर्षहरूमा सेजभित्र उद्योगहरूको उत्पादन क्षमता बढ्दै जाँदा निर्यातको परिमाण पनि विस्तार हुँदै गएको देखिएको छ।
सेज प्रशासन शाखाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सेजभित्र रहेका उद्योगहरूले ९१ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु उत्पादन गरेका थिए, जसमध्ये करिब ६० प्रतिशत अर्थात् ६० करोड ३६ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएका थिए।
त्यसपछि आर्थिक वर्ष २०८१/८२ मा उत्पादन झन्डै दोब्बरले बढेर १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ। सो अवधिमा ८९ करोड ७ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका छन्। चालु आर्थिक वर्षको चैत मसान्तसम्म मात्रै १ अर्ब ३४ करोड ३० लाख रुपैयाँ बराबरको उत्पादन भइसकेको छ भने ८५ करोड १ लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएको सेज प्रशासनले जनाएको छ।
हाल भैरहवा सेजभित्र १२ वटा उद्योग सञ्चालनमा रहेका छन्। ५२ बिघा क्षेत्रफलमा फैलिएको सेजमा ६८ वटा औद्योगिक प्लट रहेका छन्। २०७३ सालदेखि उद्योग स्थापना सुरु भएको सेजमा २०७६ सालबाट शक्ति मिनरल्स प्रालिले पहिलोपटक उत्पादन बजारमा पठाउन थालेको थियो। त्यसपछि अन्य उद्योगहरूले पनि क्रमशः उत्पादन सुरु गरेको सेज प्रमुख इन्जिनियर डुम्रेले बताए।
सेजमा शक्ति मिनरल्स, भीस्टार ग्लोबल प्रालि, एस पोलिमर्स, तिरुपती मेटल क्राफ्ट, ब्रिलेन्ट लाइटिङ आरसी इन्डस्ट्री प्रालि, हिमालय ग्रेनाइट, इको नेपाल इनर्जी र हिमालय इको प्रालिलगायत उद्योग सञ्चालनमा छन्। ती उद्योगहरूले मुख्यतः भारततर्फ विभिन्न सामग्री निर्यात गर्दै आएका छन्।
भैरहवाका उद्योगीहरूको समूहले दुई नयाँ उद्योग स्थापनाको प्रक्रिया अघि बढाएका छन्। एक उद्योगले इनर्जी ड्रिङ्क उत्पादन गर्ने योजना बनाएको छ भने अर्कोले भाँडा उद्योग सञ्चालनका लागि इजाजत लिइसकेको छ।
सेजमा रहेको जयबुद्ध मेटल क्राफ्ट उद्योग हाल बन्द अवस्थामा छ। त्यस्तै पञ्चकन्या स्टिल ट्याङ्की उद्योगले भारतीय नीतिगत व्यवस्थाका कारण सेजभित्र उत्पादन गरेर भारत निर्यात गर्नुभन्दा स्वदेशमै बिक्री गर्न सहज हुने निष्कर्ष निकाल्दै सेजसँगको






