बुटवल । बुटवलमा फोहर व्यवस्थापनलाई आयमुखी बनाउने उद्देश्यसहित फोहर प्रशोधन केन्द्र स्थापना गरी इँटा (ब्लक) उत्पादन थालिएको छ । सहकारीमार्फत समुदायलाई एकीकृत गर्दै प्लास्टिकजन्य फोहरबाट इँटा उत्पादन थालिएको हो ।
बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर कार्कीका अनुसार प्रशोधन केन्द्रबाट उत्पादन गरिएका प्लास्टिक ब्लक सडक सौन्दर्यीकरण लगायत निर्माण कार्यमा उपयोगी हुन्छन् ।
२०७७ सालमा स्थापना भएको उक्त सहकारीमा बुटवल वडा नं.७ र ८ का बासिन्दा सेयर सदस्य छन् । बुटवलको शिवनगर सामुदायिक वनमा अहिले दैनिक फोहर लैजाने गरिएको छ भने त्यसलाई प्रशोधन गरी आय आर्जनसँग जोडिएको छ ।
बुटवल उपमहानगरपालिका, शिवनगर वन उपभोक्ता समिति र सहकारीको सहकार्यमा वडा नं. ७ र ८ को फोहर गत वर्षदेखि व्यवस्थापन गर्न थालिएको हो । यी वडाबाट सङ्कलित फोहर प्रशोधन गरी कुहिने फोहरबाट कम्पोस्ट मल र नकुहिने फोहर तथा प्लास्टिकबाट ब्लक उत्पादन सुरु गरिएको छ ।
प्रशोधन केन्द्र सञ्चालनका लागि उपमहानगरपालिकाले संरचना (ट्रस) निर्माण गरिदिएको छ भने युएनडीपी र कोकाकोला फाउन्डेसनले फोहर छुट्ट्याउने तथा प्लास्टिकबाट इँटा उत्पादन गर्ने मेसिन उपलब्ध गराएको अध्यक्ष कार्कीले बताए ।
बुटवलमा यसअघि एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने भनिएको योजना असफल बनेपछि नयाँ साझेदारीमार्फत काम अघि बढाउँदै फोहर व्यवस्थापनको फरक शैली अपनाइएको हो ।
बुटवल वडा नं. ७ का सदस्य सन्दीप खनालका अनुसार रिसाइक्लिङ उद्योगमा प्रयोग हुन नसक्ने सुर्ती, गुट्खा, चाउचाउका खोलजस्ता फोहरबाट पनि ब्लक उत्पादन गर्ने नयाँ अभ्यास सुरु गरिएको छ । प्लास्टिकका बोतल, आल्मुनियम, फलाम र रबर भने प्रशोधनपछि पुनः प्रयोगका लागि उद्योगमा बिक्री गरिँदै आएको उनको भनाइ छ ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवलमा फोहर व्यवस्थापनको चुनौती वर्षौंदेखिकै समस्या रहेको बताए । डम्पिङ साइट निर्माणको प्रक्रिया अगाडि बढाए पनि विभिन्न कारणले सम्पन्न हुन नसकेको जनाउँदै उनले सहकारीका माध्यमबाट समुदायलाई जोडेर स्थानीयस्तरमा उत्पादन भएको फोहर व्यवस्थापन र त्यसबाट रोजगारी तथा आम्दानी जोड्ने काम प्रशंसनीय रहेको बताए ।
उनले समुदायमा आधारित फोहर व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । शिव नगर सामुदायिक वनभित्र १० बिघा जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उनले भविष्यमा प्रशोधन केन्द्रसँगै पार्क निर्माण गर्ने योजना रहेको बताए ।
बुटवलमा दैनिक करिब ७७ टन फोहर उत्पादन हुने गरेको छ, जसमा करिब १५ प्रतिशत प्लास्टिकजन्य फोहर हुन्छ । हाल वडा नं. ७ र ८ बाट दैनिक १५ टन फोहर यही प्रशोधन केन्द्रमार्फत व्यवस्थापन भइरहेको छ ।
हाल ३६ जनाले रोजगारी पाएको यस केन्द्रलाई सबै वडामा विस्तार गर्दा करिब ४ सय जनाले रोजगारी पाउने अपेक्षा गरिएको नगर प्रमुख पाण्डेयले खुलाए । उनले बुटवलको यो प्रयोग नेपालका अन्य सहरहरूका लागि एउटा पाठ भएको बताए ।
‘फोहर समस्या होइन, सही व्यवस्थापन गरेमा एउटा ठुलो सम्भावना पनि हो,’ नगर प्रमुख पाण्डेयले भने ।
बुटवलका सडकमा जब प्लास्टिकका इँटा बिछ्याइने छन्, तब तिनले आत्मनिर्भरता र सिर्जनशीलताको नौलो काम देखाउने उनको विश्वास छ ।
सहकारीको फरक पहिचान
प्रायः सहकारीहरूले नियमित बचत तथा ऋण प्रवाह गरिरहेका हुन्छन् । सहकारी भनेको नाफामुखी मात्र नभई सहकार्य, समानता र सामूहिक हितमा आधारित संस्था पनि रहेको बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाले रूपमा आफूलाई परिचित बनाएको छ ।
‘एक घर, एक सदस्य’ अभियान अन्तर्गत १ हजारदेखि ५ हजार रुपैयाँसम्म सेयर राख्न सकिने व्यवस्था गरिएको बुटवल सरसफाइ तथा वातावरण संरक्षण सहकारी अध्यक्ष कृष्ण बहादुर कार्कीले बताए ।
२०७७ सालमा स्थापना भएको यो सहकारीमा अहिले वडा नम्बर ७ र ८ का गरी १२ सय सेयर सदस्य पुगेका छन् । यसलाई विस्तार गर्दै अन्य वडामा पनि पुर्याइने कार्कीको भनाइ छ ।
बुटवलमा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित स्थापना भएको उक्त सहकारी नगरपालिकामा दर्ता गरिएको छ । अन्य सहकारीमा सदस्यहरूले दैनिक वा मासिक रूपमा रकम बचत गर्ने गरे पनि यसमा एक पटक सेयर सदस्य बनेपछि आयआर्जनमा जोडिन मिल्छ ।
हाल सहकारीमा करिब ४० लाख रुपैयाँ पुँजी छ भने ३२ जनाले रोजगारी पाएका छन् । यो सहकारीको आम्दानी सेयर सदस्य, शिव नगर सामुदायिक वन र बुटवल नगरपालिकाबिच प्रतिशत छुट्ट्याएर विभाजन गर्ने सम्झौता भएको छ ।
त्यसमा सेयर सदस्यहरूले अधिकांश हिस्सा पाउँछन् भने केही प्रतिशत वन र केही नगरपालिकामा जाने छ । अध्यक्ष कार्कीका अनुसार अहिले सहकारीबाट कुहिने फोहरबाट बनाइएको मल बिक्रीले आम्दानी भइरहेको छ भने बिस्तारै प्लास्टिकको इँटा बिक्री गरेपछि आय थप बढ्ने छ ।
उनले फोहर सङ्कलन गर्दा एक दिन कुहिने र अर्को दिन नकुहिने गरी सङ्कलन गर्ने गरिएको जानकारी दिए । घर–घरमा सहकारीको गाडी जाने र त्यसलाई उद्योगमा ल्याएपछि आवश्यकता अनुसार विभाजन गरेर प्रशोधन गरिने उनको भनाइ छ ।










