घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका                
समाचार :

पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने

बुटवल– वर्षौंदेखि पहिरो, ढुंगा र दुर्घटनाको जोखिम बोकेको सिद्धबाबा सडकखण्ड अब नयाँ मोडमा प्रवेश गर्ने तयारीमा छ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डको सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिने सिद्धबाबामा निर्माणाधीन सुरूङमार्ग आगामी असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको छ। यदि निर्धारित समयमै काम सम्पन्न भयो भने वर्षौंदेखि यात्रुहरूले भोग्दै आएको डर, जाम र जोखिमबाट ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

सिद्धबाबा मन्दिरमाथिको भीरबाट लगातार ढुंगा र पहिरो खस्ने समस्याका कारण यो सडकखण्ड देशकै जोखिमयुक्त राजमार्गमध्ये एक मानिन्छ। विशेषगरी वर्षायाममा यात्रुहरू घण्टौँ सडक अवरुद्धमा फस्ने र ज्यान गुमाउने जोखिमसमेत रहने गरेको थियो। यही जोखिम न्यूनीकरणका लागि माथिल्लो सिद्धबाबा मन्दिर क्षेत्रदेखि विद्युत् हेडबक्ससम्म १ हजार १२६ मिटर लामो सुरूङमार्ग निर्माण भइरहेको हो।

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हालसम्म आयोजनाको ६८ प्रतिशत भौतिक प्रगति हासिल गरेको जनाएको छ। आयोजनाका प्रमुख नवराज बास्तोलाका अनुसार मुख्य सुरूङको सिभिल संरचना लगभग पूरा भइसकेको छ भने अहिले विद्युतीकरण, भेन्टिलेसन प्रणाली, सुरक्षा संयन्त्र र प्रवेशद्वार निर्माणको काम भइरहेको छ।

“मुख्य सुरूङभित्रको काम अन्तिम चरणमा पुगेको छ,” आयोजना प्रमुख बास्तोलाले भने, “विद्युत् जडान र सुरक्षा प्रणाली परीक्षणपछि असोजको पहिलो वा दोस्रो साताबाटै सवारी सञ्चालन गर्ने तयारी छ।”

उनका अनुसार अहिले बाहिरी सडक स्तरोन्नति, रक सेड, स्लोप प्रोटेक्सन तथा बाइपास सडक निर्माणलाई पनि क्रमशः अघि बढाइँदैछ। तर साँघुरो र जोखिमयुक्त सडक भएकाले सुरूङमार्ग सञ्चालनपछि मात्रै बाहिरी संरचनाको कामलाई थप तीव्र बनाइने योजना छ।

सिद्धबाबा सुरूङमार्गको ठेक्का २०७८ साल फागुनमा भए पनि निर्माण कार्य भने २०७९ सालको अन्तिमतिर मात्रै शुरू भएको थियो। प्रारम्भिक चरणमै कानुनी र प्राविधिक झन्झटले काम प्रभावित बन्यो। निर्माण कम्पनीले सुरूङको डिजाइनमै करिब एक वर्ष खर्च गर्नुपरेको थियो भने रूख कटानको अनुमति समयमा नपाउँदा काम अझै ढिला भयो।

त्यसमाथि २०७९ साल साउनमा गएको भीषण पहिरोले सुरूङका दुवैतर्फका पोर्टल क्षेत्रमा क्षति पुर्‍याएपछि काम केही समय रोकिएको थियो। वर्षा सकिएपछि मात्रै निर्माणले गति लिएको हो।

२०८१ माघ ११ गते सुरूङ ‘ब्रेक थ्रु’ हुँदा आयोजनाको करिब ४० प्रतिशत काम सम्पन्न भएको थियो। त्यसयता करिब १५ महिनाको अवधिमा थप २८ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ। यद्यपि ठेक्का सम्झौताअनुसार २०८३ चैत मसान्तसम्म सम्पूर्ण निर्माण सक्नुपर्ने भए पनि बाँकी रहेको ३२ प्रतिशत काम साढे १० महिनाभित्र पूरा गर्नुपर्ने चुनौती अझै बाँकी छ।

आयोजनाले सुरुवाती ढिलाइलाई ध्यानमा राख्दै म्याद थप र ‘माइलस्टोन’ समायोजनको प्रक्रिया अघि बढाइएको जनाएको छ। आयोजना ईपीसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण भइरहेको हो, जसअन्तर्गत डिजाइनदेखि निर्माणसम्मको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुन्छ। निर्माण सम्पन्न भएपछि पनि पाँच वर्षसम्म सञ्चालन, मर्मतसम्भार र सुरक्षाको जिम्मा सोही कम्पनीले लिनुपर्ने व्यवस्था छ।

सुरूङमार्गसँगै बुटवल र पाल्पातर्फको जोखिमयुक्त सडक क्षेत्रमा डबल लेन बाइपास, रक नेट, रक सेड, स्लोप प्रोटेक्सन लगायतका संरचना निर्माण गरी करिब साढे तीन किलोमिटर सडक सुरक्षित बनाउने योजना छ। आपत्कालीन अवस्थाका लागि तीन वटा बाइपास सुरूङ पनि निर्माण गरिएका छन्, जसको लम्बाइ क्रमशः १५१, १६१ र १३० मिटर रहेको छ।

यात्रु सुरक्षालाई प्राथमिकता दिँदै सुरूङ सञ्चालनपछि बाहिरी जोखिमयुक्त सडकलाई पैदल यात्रुका लागि प्रयोग गरिने योजना छ। रक सेडभित्र सुरक्षित पैदलमार्ग बनाइनेछ भने खानेपानी तथा ढल व्यवस्थापनसमेत बाहिरी भागबाट गरिने तयारी छ।

करीब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाको ठेक्का भने ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्झौता भएको थियो। आयोजना पूरा भएपछि बुटवलबाट पाल्पा हुँदै गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लातर्फको यात्रा थप सुरक्षित, छिटो र सहज हुने अपेक्षा गरिएको छ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित