बुटवल । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको ११औँ पदस्थापन समारोह सम्पन्न भएको छ। समारोहमा वर्ष २०२५/२६ का अध्यक्ष पुरन ज्ञवालीले वर्ष २०२६/२७ का अध्यक्ष बाबुराम बोहोरालाई औपचारिक रूपमा पद तथा जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
पदभार ग्रहणपछि अध्यक्ष बोहोराले रोटरी इन्टरनेसनल डिष्ट्रिक्टले अघि सारेका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै क्लबका सामाजिक अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबले सञ्चालन गर्दै आएका योजनालाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, खेलकुद तथा सामुदायिक सेवाका क्षेत्रमा नयाँ र प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताए।
उनका अनुसार क्लबले शिक्षा, स्वास्थ्य र खेलकुदलाई उच्च प्राथमिकतामा राख्दै गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई ग्लोबल ग्रान्ट परियोजनाका रूपमा थप विस्तार गर्ने योजना अघि बढाएको छ।
कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्कीले रोटरी क्लब अफ सेन्ट्रल बुटवलले सामाजिक सेवामा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए। उनले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई ग्रान्ट परियोजनामार्फत सञ्चालन गर्दै स्वास्थ्य सेवामा क्लबले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।
गभर्नर कार्कीले यस वर्ष डिष्ट्रिक्टले विगतभन्दा फरक प्रकृतिका परियोजना सञ्चालन गर्न लागेको जानकारी दिँदै ती कार्यक्रमलाई सफल बनाउन सबै क्लबको सक्रिय सहकार्य आवश्यक रहेको बताए।
क्लबका संस्थापक अध्यक्ष एजाज आलमले स्थापना कालदेखि नै क्लबले सामाजिक उत्तरदायित्वका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताए। उनले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर स्थापना गरिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबाट लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका नागरिकले सेवा लिइरहेको उल्लेख गरे।
उनले क्लबले मुटु अस्पतालसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिँदै रोटरी क्लब अफ सेन्ट्रल बुटवल ‘१०० प्रतिशत मेजर डोनर क्लब’का रूपमा स्थापित भएको र क्लबका अधिकांश परियोजना सफलतापूर्वक कार्यान्वयन हुँदै आएको दाबी गरे।
कार्यक्रममा रोटरी डिष्ट्रिक्टका पूर्व गभर्नर राजेन्द्र ध्वजु, क्लबका पूर्व अध्यक्ष टंक पोखरेल तथा रोटरी क्लब अफ क्यापिटल बुटवलका अध्यक्ष तेजेन्द्र सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा निवर्तमान अध्यक्ष पुरन ज्ञवालीले आफ्नो कार्यकालमा क्लबका गतिविधिमा योगदान पुर्याउने सदस्यहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।
क्लबका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गिरिराज पाठकले स्वागत मन्तव्य तथा उपेन्द्र अग्रवालले धन्यवाद ज्ञापन गरेका थिए।










