लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै पाल्पामा घाँटी रेटेर युवतीको विभत्स हत्या बिहे गरेको ४ महिनामै २१ वर्षीया पत्नीको हत्या, २२ वर्षीय युवक पक्राउ                
समाचार :

विकास र समृद्धिका लागि मेरो उम्मेदवारी : बोहरा

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते देशभर एकैचरणमा सम्पन्न हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेसको नेतृत्वमा पाँचलदलीय गठबन्धन र नेकपा एमालेको नेतृत्वमा राप्रपा र जसपाको नेतृत्वमा तीनदलीय गठबन्धन चुनावी मैदानमा उत्रिएका छन् ।

निर्वाचनको मिति नजिकदै गर्दा दल तथा तीनका उम्मेदवारहरु चुनावी मैदानमा भोट माग्नमा व्यस्त छन् । यसै सिलसिलामा रुपन्देही क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण र राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराबीच चुनावी प्रतिस्पर्धा हुदैछ । आसन्न निर्वाचनमा राप्रपाको नीति, चुनावी एजेण्डा, प्रतिवद्धता लगाएका विषयमा केन्द्रित रहेर राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरासँग कुराकानी  । प्रस्तुत छ कुराकानीको सम्पादित अंश :

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुने दिन नजिकिदै गएको छ । तपाई जनतासँग के के एजेण्डा लिएर जाँदै हुनुहुन्छ ?

हो, प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको दिन अर्थात मंसिर ४ गते आउनै लागेको छ । म लगायत हाम्रो तीनदलीय गठबन्धनका साथीहरु हाम्रा साझा चुनावी एजेण्डा लिएर निर्वाचनमा होमिएका छौं । हाम्रो साझा एजेण्डा भनेको रुपन्देही क्षेत्र नम्बर ३ सहित समग्र रुपन्देही जिल्लाको दिगो विकास गर्ने हो । विकास एउटा प्रक्रिया हो । यो प्रक्रियालाई सही ट्रयाक दिने काम हाम्रो हो । खास गरी हामीले हाम्रा क्षेत्रको नागरिकका समस्या संकलन गरी त्यसको समाधान गर्नेतर्फ लाग्नेछौं । नागरिकको सर्वोपरी हितलाई ध्यानमा राखेर विकासको मोडल तयार गर्ने, समृद्धिको खाका तयार गर्ने र नागरिकलाई रोजगारीसँग जोडेर उनीहरुको भविष्य उज्जवल बनाउने योजनामा हामी लागेका छौं । हामीले खास गरी सडक संजाललाई विस्तार गर्ने, ग्राभेल नभएका सडकमा ग्राभेल गर्ने, कालोपत्रे पीच नभएका सडकपीच गर्ने, अन्य पूर्वाधार विकासलाई विशेष ध्यान दिने, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रको विकासका लागि थुप्रै काम गर्नुपर्नेछ । रुपन्देही क्षेत्र नम्बर ३ भौगोलिक, जातीय, साँस्कृतिक, ऐतिहासिक, पर्यटकीय विविधतामा एकता भएको निर्वाचन क्षेत्र हो । अन्तर्राष्ट्रिय सीमा नाका बेलहियादेखि पुर्व पश्चिम राजमार्गसम्म फैलिएको यो निर्वाचन क्षेत्रको विकासको लागि हामी निर्वाचित भइसकेपछि सबैभन्दा पहिले हामीले अल्पकालीन र दीर्घकालीन योजनासहितको गुरुयोजना बनाएर काम गर्नेछौं । त्यसका लागि नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो अमूल्य मत प्रदान गरेर विजयी बनाउनुपर्नेछ ।

तपाई धेरै पटक सांसद र मन्त्री बन्नुभयो । तपाई पदमा हुँदा के के काम गर्नुभयो ?
म पदमा हुँदा र नहुँदा जनताको सेवा र जनताको काममै समय बिताएको छु । खास गरी म रुपन्देहीबाट प्रतिनिधित्व गरेर सांसद् र सरकारमा सहभागी भएपछि रुपन्देहीको विकासका लागि धेरै काम गरेको छु । मेरै नेतृत्वमा बुटवलको दीपनगरमा बस्ती बसाउनेदेखि भैरहवामा एशियाली विकास बैंक (एडीबी) को सहयोगमा ठूलाठूला आयोजना भित्राउने काम गरेको छु । बुटवलको दीपनगर आज व्यवस्थित बस्तीको रुपमा विकास भएको छ भने भैरहवामा एडीबीको परियोजना भित्राएका कारण आज भैरहवा हेर्न लायक शहरको रुपमा विकसित हुँदै गएको छ । अर्को कुरा रुपन्देहीबासीलाई सिंचाईसम्बन्धी समस्या समाधान गर्न भैरहवा लुम्बिनी भूमिगत जल परियोजना भित्राउने काम मेरै नेतृत्वमा भएको हो । त्यही परियोजनाका कारण अहिलेसम्म रुपन्देहीको भैरहवा, सियारी, तिलोत्तमा, शुद्धोधन लगायतका पालिकाहरुमा स्थानीय कृषकले सिंचाईको सुविधा पाएका छन् । रुपन्देहीमा विद्युतीकरण गर्ने, बिजुलीका पोल तान्ने तथा गौतमबुद्ध विमानस्थलको स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि नीतिगत तहमा काम गर्नेदेखि लिएर जग्गाधनीलाई मुआब्जा दिलाउने काममा मेरो भूमिका यहाँका नागरिकले महसुस गरेका छन् ।

तपाई लगायत तीनदलीय गठबन्धनका साझा उम्मेदवारले चुनाव जित्ने आधार के हो?
चुनाव जित्ने पहिलो आधार भनेको आम मतदाता एमाले, राप्रपा र जसपा नेतृत्वको गठबन्धनका साझा उम्मेदवारको पक्षमा खुलेर, स्वतस्र्फूत रुपमा लाग्नु नै हो । अर्को कुरा भनेको स्थानीय तहको निर्वाचनको मतलाई आधार मान्ने हो । यसलाई आधार मान्दा अर्को पक्ष भन्दा हामी झण्डै १२ हजार मतले अगाडि छौं । त्यसमा पनि अहिले हामीप्रति आम मतदाताको विश्वास बढ्दै गएको छ । हामीप्रति मतदाताको स्नेह र ममता पनि छ । त्यसकारण हामीले यसपटक निर्वाचन जित्नेमा ढुक्क छौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय महाधिवेशनपछि जब राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी अगाडि बढ्यो, त्यसपछि राप्रपामा एउटा नयाँ खालको उत्साह–उमंग बढेर गएको छ । पुरातन शैलीमा सञ्चालित राजनीतिक दल र तीनको नेतृत्वप्रति आम नागरिकमा वितृष्णा जागेका बेला लिङ्देन नेतृत्वको राप्रपाले जनतामा उत्साह थपेको छ भने स्थानीय तहमा त्यसैकारण मतपरिणाम बढेको सशक्त उदाहरणको रुपमा लिन सकिन्छ । यसकै सिलसिलामा आउदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यो मत अझै बढेर जाने र रुपन्देही क्षेत्र नम्बर ३ सहित देशको विभिन्न क्षेत्रमा राप्रपाले अत्याधिक मतका साथ चुनाव जित्नेछ ।

तपाईहरुले जनतामाझ गरेका प्रतिवद्वताहरु के के हुन् ? मतदाताका लागि के के काम गर्नुहुन्छ ?
हाम्रो मुख्य चासो भनेको यहाँका जनताको जीवनस्तर कसरी उकास्ने भन्ने नै हो । म प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, तपाईहरु समक्ष कसम खान चाहन्छु की यस क्षेत्रका जनतालाई समृद्धि र विकासको मूलधारमा जोड्ने काममा हामीले कुनै कसर बाँकी राख्ने छैनौ । हामी सबै मिलेर वर्गीय असमानतालाई पूर्ण रुपमा निर्मूल पार्न लागिपर्ने छौं । हामी विश्व पर्यटनको केन्द्र लुम्बिनीलाई केन्द्रमा राखेर यो क्षेत्रको विकासको मुख्य योजनाहरु हिजोको दिनमा पनि बनाएका थियौं र भोलिका दिनमा पनि बनाउनेछौं । हिजोका दिनमा एमाले, राप्रपा र जसपाकाे नेतृत्वमा भए गरेका प्रदेशका राम्रा र जनपक्षीय योजनालाई निरन्तरता दिदैं प्रदेश तहका थप महत्वपूर्ण योजनालाई यस क्षेत्रमा ल्याउने प्रतिवद्वता व्यक्त गर्न चाहन्छौं । त्यसैगरी संघमा भए गरेका कतिपय राम्रा र दीर्घकालीन योजनालाई निरन्तरता दिदैं थप नयाँ योजनाहरुलाई यस क्षेत्रमा हामीले सुरुवात गर्नेछौं । अर्कोतर्फ हामी कृषकको हितमा हुने गरी मलको डिपो सञ्चालन गर्ने, यस क्षेत्रका मत्स्य कृषकहरुको लागि ठोस योजनासहित काम अगाडी बढाउने, शुद्धोधन र सियारीको मत्स्य जोनलाई अझै व्यवस्थित गर्ने, यस क्षेत्रको उत्पादित हरियो तरकारी र कृषि उपजको बजारीकरणको लागि पूर्ण सहयोग गर्ने तथा  चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाउनेगरी योजना अगाडी सारेका छौं ।

पर्यटन क्षेत्रको विकासका लागि तपाईका योजना के के छन् ?
नेपालको समृद्धिको आधार कृषि र पर्यटन नै हो । यसैले हामी प्रदेश सरकार र संघीय सरकारको पहलमा कृषि केन्द्रित ठूला योजनाहरु हामी यस क्षेत्रमा ल्याउने छौं ताकी यस क्षेत्रका कुनै पनि किसान समस्या अल्झिन नपरोस् । हामी पर्यटनकोलागि विशेष योजनाको साथ काम गर्नेछौं । सबैभन्दा बढी पर्यटक भित्रिने स्थल मार्ग बेलहिया र हवाइमार्ग अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी घुम्न आउने हजारौं विदेशी पर्यटकहरुलाई सियारी र शुद्धोधनको कृषि पर्यटन, मत्स्य पर्यटन, जल पर्यटन र प्राकृतिक पर्यापर्यटनको उपयोग गर्न गराउने गरी योजना बनाएका छौं ।
त्यसैगरी पर्यटन क्षेत्रको बिकासका लागि डण्डा करिडोरलाई व्यवस्थीत गरी पर्यटकिय केन्द्रको रुपमा बिकास गर्ने, भैरहवा लगाएतका पर्यटकिय बजारलाई रात्रिकालिन बजारको रुपमा बिकास गर्ने तथा भैरहवामा मेला तथा महोत्सव सञ्चालनका लागि भैरहवा मण्डपका लागि आबश्यक पहल गर्ने मुख्य योजना रहेका छन् । अतिथि देवो भवःको मूल नारालाई आत्मसाथ गर्दै सेमलारमा रहेको ताल, दर्वाह पार्क, तिनाउमा ग्रीनरी लगायतका काम गर्ने योजनाहरु छन् ।

मोतीपुर क्षेत्रको समस्या समाधानका लागि तपाई ठोस योजना के छ ?
मोतीपुर औद्योगिक क्षेत्रको समस्या समाधान गर्दै अगाडी बढ्ने छौं । हामीले त्यहाँका नागरिकको हितलाई ध्यानमा राखेर मोतीपुर औद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउनुपर्नेछ । त्यहाँका स्थानीयको उठिबास लगाएर हामी औद्योगिक क्षेत्र निर्माण गर्ने पक्षमा छैनौं । यसो भनिरहदा हामी मोतीपुर औद्योगिक क्षेत्र बनाउनु हुँदैन भन्ने पक्षमा भने छैनौं । स्थानीयलाई समस्या नपर्ने गरी औद्योगिक क्षेत्र निर्माण गर्ने पक्षमा हामी लाग्ने प्रतिबद्धता जनाउन चाहन्छौं ।

मुलुक चरम आर्थिक संकटबाट गुज्रिरहेको छ, उद्योग, कलकारखाना बन्द हुदै गएका छन् । उद्योगी व्यवसायी तथा सर्वसाधारण सडकमा आउने अवस्थामा पुगेका छन्, यस्तो अवस्थामा तपाई कसरी मतदाता माझ पुग्नुहुन्छ ?
हो, तपाईले प्रश्नमा उल्लेख गरे जस्तै मुलुक अहिले चरम आर्थिक संकटमा परेको छ । दिनानुदिन उद्योग, कलकारखाना तथा व्यवसाय बन्दै हँुदै गएका समाचारहरु आइरहेका छन् । आम नागरिकको रोजीरोटी गुम्ने अवस्थामा पुगेको छ । यी सबै समस्याको प्रमुख कारक तत्व भनेको वर्तमान सरकार हो । सरकारको गलत नीतिका कारण आज उद्योगी व्यवसायीले यो अवस्था झेल्नु परेको हो । सरकारले केहीसीमित उद्योगलाई पोस्ने काम गरेकाले गर्दा उद्योगी व्यवसायीले यो नियति भोग्नुपरेको छ । अर्कोतर्फ नेपाल राष्ट्र बैकको गलत कर्जा नीतिका कारण ८/९ प्रतिशत ब्याजदरमा कर्जा लिएका उद्योगी व्यवसायी तथा सर्वसाधारणले १७/१८ प्रतिशत ब्याज तिर्नुपरेको छ । यसका कारण उद्योगी व्यवसायी र सर्वसाधारण ठूलो मारमा परेका छन् । यसै कारणले गर्दा हामीले सरकारको गलत नीति परिवर्तन गरी सबैको हितमा हुने गरी नीति बनाउनका लागि एमाले, राप्रपा र जसपा नेतृत्व गठबन्धनका साझा उम्मेदवारलाई विजयी बनाउन जरुरी छ । हामी हिजो पनि उद्योगी व्यवसायीको पक्षमा थियौं । आज पनि छौंर भोलीका दिनमा पनि हुनेछौं । यो हाम्रो प्रतिवद्वता हो ।

तपाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा बहालवाला गृहमन्त्रीसँग चुनावी मैदानमा होमिनु भएको छ । चुनाव लड्न कत्तिको सहज महसुस गर्नु भएको छ ?
हामी लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्छौं । स्वतन्त्र प्रेस, न्यायीक सर्वोचतामा विश्वास गर्ने भएकाले मैले बहालवाला गृहमन्त्रीसँग चुनाव लड्नका लागि कुनै असहज महसुस गरेको छैन् । जनता जर्नादन हुन् । आफ्नो मतको पूर्ण अधिकार प्रयोग गर्न सक्ने अवस्थामा पुगेका छन् । कसैको धाकधम्की, डर त्रास र प्रलोभनमा परेर मताधिकार प्रयोग गर्दनन् । यो कुरामा हामी विश्वस्त छौं । तर, केही कुरामा भने हामी सचेत हुनुपर्ने छ । सरकारले पद र पावरको कही कतै दुरुपयोग गरेको त छैन् भन्ने आभास हामीलाई भइरहेको छ । पद र पावरको दुरुपयोग भएको आम मतदाताले महसुस गरेको खण्डमा यसको जिम्मेवारी स्वयं सरकार र सरकारका मान्छेले लिनेछन् ।

अन्तमा…
अन्तमा म आम नेपालीलाई यो भन्न चाहन्छु कि, राष्ट्र र राष्ट्रियताको बारेमा स्पष्ट एजेण्डासहित निर्वाचनमा होमिएको हाम्रो तीनदलीय गठबन्धनलाई मतदान गरी दिगो विकास र शान्तिको बाटोतर्फ अगाडि बढ्ने काममा अग्रसर हुन सबैलाई अनुरोध छ । सत्ता जनपक्षीय नहुँदा कस्तो दुःख हुन्छ भनेर आज रुपन्देहीबासीले अनुभव गरेकै छन् । ठाउँठाउँमा अनावश्यक नो–पार्किङको सास्ती, सीमामा हुने चोरी तस्करी बढ्दा भैरहवा बुटवलका व्यापारी विस्थापित हुने अवस्थामा पुगेका छन् । चन्दा आतंक यी सबै बन्द गर्न जरुरी छ ।  म फेरी पनि भन्न चाहन्छु, बहालवाला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, बाबुराम भट्टराई, बहालवाला गृहमन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौलाले निर्वाचन हारेको इतिहास साक्षी छ । यसैले गृहमन्त्री भए भन्दैमा निर्वाचन जित्ने आधार रहदैन। सबैभन्दा ठुलो आधार त जनाधार हो । हाम्रो पक्षमा धेरै राम्रो जनआधार छ।

खवरपात्रो बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार