जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

निराशालाई चुनौती दिन बुटवलमा पाँचतारे होटल ल्यायौँ- चुन्नप्रसाद पौडेल

बुटवलमा तीन अर्ब ५९ करोडको लगानीमा निर्मित पाँचतारे होटल ‘हायात प्यालेस’ सञ्चालनमा आएको छ ।  व्यावसायिक घरानामा दर्ज पौडेल र मालपानी दुई परिवारको लगानी छ, यो होटलमा ।  बुटवलका हायात ब्रान्डमा होटल प्यालेस शनिबारदेखि सञ्चालनमा आएको हो । 

–देशभर लगानीमा निराशा छाइरहेको बेला तपाईंहरूले बुटवलमा साढे तीन अर्बको लगानीमा पाँचतारे होटल सुरु गर्नुभयो । यस्तो ठूलो निर्णय कसरी सम्भव भयो ?

हो, लगानीकर्तामा आत्मविश्वास घटेको समय छ । तर हामीले बुटवलमा हायात प्यालेस सुरु गरेर त्यही निराशालाई चुनौती दिएका छौं । बुटवलमा स्वास्थ्य, शिक्षा र यातायात पूर्वाधार द्रुत गतिमा विकसित भइरहेका छन् ।

त्यसैले यो सहरलाई पर्यटन हब बनाउने हाम्रो दीर्घकालीन योजना हो । हामीले यो होटललाई सहरको गहना र प्रदेशको गौरवको रूपमा हेरेका छौं ।

–कोभिड र आर्थिक मन्दीका कारण धेरै परियोजना रोकिएका थिए, तपाईंहरू कसरी अघि बढ्नुभयो ?

हामीले आजभन्दा छ वर्षअघि हामीले लगानी सुरु गरेका हौँ । त्यतिबेला देशको स्थिति राम्रो थियो । त्यतिबेला लुम्बिनी प्रदेशको राजधानी पनि बुटवलमै थियो ।  भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन अवस्थामा थियो ।

त्यही हिसाबले बुटवलमा उच्चस्तरीय होटलको आवश्यकता छ भन्ने महसुस गरी पर्यटन क्षेत्रमा पनि लाग्नुपर्छ भन्ने निर्णय गरेका थियौं ।  कोभिड महामारी र अर्थतन्त्रको सुस्त गतिका कारण ढिलाइ भयो । तर, हामीले कहिल्यै हार मानेनौं ।

निर्माणलाई निरन्तरता दिँदै अन्ततः आज हायात प्यालेस सञ्चालनमा ल्याउन सफल भयौं । यो निजी क्षेत्रको दृढ इच्छाशक्तिको प्रतीक हो ।

hayata-palace-1762920116.jpg
–अब कसरी अगाडि बढाउने योजना छ ?

हामी आउँदो मंसिर १० गते ग्रान्ड ओपनिङ गर्दैछौं । त्यसपछि हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन, विवाह समारोह र व्यापारिक मेला जस्ता कार्यक्रमका लागि होटललाई पूर्ण गन्तव्यका रूपमा अघि बढाउनेछौं ।  हायात ब्रान्ड र हाम्रो व्यवस्थापन क्षमताले यो सम्भव बनाउनेछ ।

–होटलमा कति जना लगानीकर्ता हुनुहुन्छ र लगानी कति छ ?

करिब साढे तीन अर्ब रुपैयाँभन्दा बढी लगानी परेको छ । ग्लोबल आइएमई बैंकको ६५ प्रतिशत ऋण लगानी छ । बाँकी हिस्सा हामी, पौडेल र मालपानी दुई परिवारले गरेको हो । होटलको स्वामित्वमा अरू कसैको, विशेषगरी कुनै नेताको लगानी छैन भन्ने स्पष्ट पार्न चाहन्छु ।

–हायात जस्तो अन्तर्राष्ट्रिय ब्रान्ड बुटवलसम्म ल्याउन कसरी सम्भव भयो ?

हायात विश्वकै प्रतिष्ठित होटल चेन हो । हामीले ‘सफ्रोन सिकी प्रालि’मार्फत यो परियोजना अघि बढायौं र हायात समूहसँग व्यवस्थापन सम्झौता गर्‍यौं । काठमाडौं बाहिर नेपालकै पहिलो हायात प्यालेस बुटवलमा सञ्चालनमा आउनु आफैंमा ठूलो उपलब्धि हो । यसले बुटवललाई अन्तर्राष्ट्रिय मापदण्डको गन्तव्य बनाउनेछ ।

–होटलका मुख्य सुविधा के हुन् ?

यो होटल जमिनमुनि दुई तला पार्किङ र माथि १० तला भएको आधुनिक संरचना हो । कुल पाँच हजार ७४६ वर्गमिटरमा फैलिएको छ, जहाँ ६ श्रेणीका १०९ कोठा छन् । एकै पटक २५० पाहुनालाई सेवा दिन सक्छौं । साथै, यहाँ अत्याधुनिक रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङ्क्वेट हल, सेमिनार हल, स्पा, र विश्वस्तरीय क्यासिनो पनि छन्, जसको अन्तिम तयारी भइरहेको छ ।

–अर्थतन्त्र र रोजगारीमा कस्तो प्रभाव पार्ने अपेक्षा गर्नुभएको छ ?

होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनालाई प्रत्यक्ष रोजगारी मिल्नेछ । हामीले स्थानीय युवालाई प्राथमिकता दिँदै अन्तर्राष्ट्रियस्तरको सेवा प्रशिक्षण दिने योजना बनाएका छौं । यसले बुटवल र लुम्बिनी प्रदेशको आर्थिक चक्रलाई गतिशील बनाउनेछ ।

–पर्यटन क्षेत्रलाई कस्तो रूप दिन चाहनुहुन्छ ?

हाम्रो लक्ष्य बुटवललाई ‘स्टे डेस्टिनेशन’ बनाउने हो, ट्रान्जिट मात्र होइन । बुटवलबाट लुम्बिनी, रामग्राम, तिलौराकोट र पोखरा नजिक छन् । यी सबै मिलाएर दक्षिण एसियाको ‘गोल्डेन ट्रायाङ्गल टुरिज्म सर्किट’ बनाउन सकिन्छ । हायात प्यालेसले यो सम्भावनालाई ठोस रूप दिनेछ ।

–भारतीय पर्यटकका लागि पनि विशेष योजना रहेको सुनिन्छ, त्यसबारे के भन्नुहुन्छ ?

हो । बुटवल भारतको उत्तर प्रदेशसँग नजिक छ, जहाँ करिब २४ करोड जनसंख्या छ । त्यसको सानो प्रतिशत पनि नेपाल भ्रमणमा ल्याउन सकियो भने ठूलो फाइदा हुन्छ ।  हामीले धार्मिक, स्वास्थ्य र व्यावसायिक उद्देश्यका भारतीय पाहुनाका लागि विशेष प्याकेज योजना बनाएका छौं ।

बाह्रखरी बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित