मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

करोडौं मुआब्जा कुम्ल्याउन जनप्रतिनिधि र भूमाफियाको मिलोमतो

बुटवल : जनप्रतिनिधि र भूमाफिया मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अधिग्रहण गरेको करोडौं मूल्यको जग्गा नक्कली नाता प्रमाणित गरी नामसारी गरेको पाइएको छ।

उनीहरूले जग्गाको करिब ४ करोड बराबरको मुआब्जा हात पार्ने योजनाका साथ किर्ते नाता प्रमाणित गरी एउटाको नाममा रहेको जग्गा अर्कैको नाममा नामसारी गरेपछि यो रहस्य खुलेको हो।

जग्गा नामसारीका लागि नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारी समेत भूमाफियासँग मिलेर किर्ते नाता प्रमाणित र जग्गा नामसारी सिफारिस गरेको पाइएको छ।

यस जग्गाको जग्गाधनी स्वर्गीय रामासरेको दुईवटी श्रीमती (जेठी माल्ती भर र कान्छी फुलादेवी भर) भएकोमा दुवैजनाको मृत्यु भइसकेको छ भने उनीहरुको कुनै सन्तान छैनन्।

त्यसैले उक्त जग्गाको हकदार कोही नभएको देखेपछि जग्गाको लोभमा भूमाफियासँग मिलेर जनप्रतिनिधिले नै नक्कली नाता प्रमाणित र जग्गा नामसारीको सिफारिस गरेका हुन्।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १० मा पर्ने गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको क्षेत्र अन्तर्गतको स्वर्गीय रामासरे भरको नाममा दर्ता कायम रहेको ४ कट्ठा ४ धुर जग्गा नक्कली नाता प्रमाणित गराइ अर्कैको नाममा नामसारी गरिदिएपछि यो रहस्य बाहिर आएको हो।

जनप्रतिनिधि र भूमाफियाले पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ कि ७० वर्षीय तिर्थी भरिनलाई आर्थिक प्रलोभनमा पारेर जग्गाधनी रामासरेको भाउजू नाता कायम गराएका थिए। यसपछि नक्कली नाता प्रमाणित गराइ उनकै नाउँमा जग्गा नामसारी गरिएको थियो।

हाल तिर्थी र उनको परिवार भने रामग्राम नगरपालिका–१७ मा बस्दै आएका छन्।

तिर्थी भरिनका छोरा राजुले भने स्वर्गीय रामासरे र निजको परिवारसँग आफूहरूको कुनै नाता सम्बन्ध नरहेको बताए। उनले थर मिलेकाले वृद्ध आमालाई आर्थिक प्रलोभनमा पारेर नाता प्रमाणित गराइ नामसारी गरेको बताए।

मुआब्जा बापतको करोडौं रकम कुम्ल्याउन भूमाफियाले बनाएको यस योजनामा ७ जनाको संलग्नता रहेको पाइएको छ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उक्त क्षेत्रमा प्रतिधुर ४ लाख ५० हजार रुपियाँ मुआव्जा निर्धारण गरेको छ। उक्त मूल्य अनुसार रामासरेको ४ कट्ठा ४ धुर जग्गाको मुआब्जा रकम ३ करोड ७८ लाख रुपैयाँ हुन आउँछ।

ती ७ जनाले वृद्ध आमासँग मुआब्जा क्षतिपूर्ति निकासा हुनुभन्दा अगाडि जनही १० लाख रुपैयाँको कपाली तमसुकसमेत गराएको उनले बताए। उनले तमसुकमा उल्लिखित रकम दिनुपरेमा आफूहरु सडकमा जानुपर्ने बताए।

साथै उनले किर्ते काम गर्ने माथि छानबिन गरेर उक्त जग्गा कानुनअनुसार राष्ट्रियकरण हुनुपर्ने समेत उल्लेख गरे।

साबिक भुजौली गाविस वडा नम्बर ७ मा पर्ने उक्त जग्गाको हक खाने कोही नभए पनि जनप्रतिनिधि र भूमाफियाको योजनामा नक्कली नाता प्रमाणित गरेर मुआब्जा बापतको ४ करोड रकम हात पार्न खोजेको उनले बताए।

तिर्थी भरिनका नाती गौतम भरका अनुसार यो खेलमा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष कृष्णचन्द्र यादव र वडा सदस्य तथा हाल जिल्ला समन्वय समितिका उपप्रमुख रामदायल तेली, महिला सदस्य अनिता साहनी यस योजनामा संलग्न रहेका छन्।

त्यसैगरी भूमाफिया गिरोहका पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का नाथुप्रसाद यादव, उनका छोरा अखिलेश यादव, वडा नम्बर ६ कै पारस भर र रामग्राम नगरपालिका–९ बस्ने घनश्याम पाठकको समेत संलग्नता रहेको छ।

यता वडा अध्यक्ष यादवले भने नाता प्रमाणितको बेला आफू विदामा बसेको बताए। साथै उनले आफूबाट कुनै पनि किर्ते काम नभएको र यदि प्रमाणित भएमा आफू कारबाहीका लागि तयार भएको बताएका छन्।

यादव विदा बसेको बेला महिला सदस्य अनिता साहनीलाई कार्यवाहकको जिम्मेवारी दिएको र नाता प्रमाणित गराएबापत ५० लाख रकम आउँछ भनी आश्वासन दिएको बताइएको छ।

तर, कार्यवाहक वडाअध्यक्ष सहानीले भने गाउँलेले सिफारिस गरेका आधारमा आफूले नाता प्रमाणित गरिदिएको बताइन्।
‘सार्वजनिक सुनुवाइ गरी प्रमाण पुर्याएर पाँचजनाले देवर भाउजूको रुपमा नाता कायम गर्न भनेपछि मैले वडाबाट नाता प्रमाणित गरिदिएकी हुँ,’ उनले भनिन्।

तिर्थी भरिनका छोरा राजुले ती सातै जनाकाविरुद्ध छानबिन गरी कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित