
गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुस १ गतेबाट बाह्य उडान ठप्प छ। भैरहवामा जजिरा एयरले हप्तामा तीन उडान गर्दै आएको थियो। खराब मौसमको कारण देखाउँदै ६१ दिनदेखि भैरहवामा अन्तर्राष्ट्रिय नियमित उडान रोकिएको छ। तर, विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि भारतको अनुमति पहिलो विषय हो।
दुई दिनको नेपाल भ्रमण सकेर फर्किएका भारतीय विदेश सचिव विनय क्वात्रासँगको छलफलमा पनि नयाँ हवाई रुट र भारतीय अनुमतिको सम्बन्धमा खासै छलफल भएन। भारतीय सचिवसँगको भेटमा नेपाल तर्फबाट थप हवाई प्रवेश मार्गका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान सञ्चालनका लागि सहमतिका सम्बन्धमा अनुरोध गरिएको थियो। करिब १५ दिनअघि नै सो सम्बन्धमा परराष्ट्रमा प्रस्ताव पठाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।
‘भैरहवा रुटलाई बाई डिरेक्सनल बनाउने (विमान आउने र जाने) र पोखराको सम्बन्धमा सिमराबाट छिरेर गल्फ ५९० रुट भएर जाने सम्बन्धमा हामीले पहिला पनि भनेका थियौं,’ उनले भने। दुई देशको परराष्ट्र सचिवको भेटमा उद्योग तथा वाणिज्यसम्बन्धी छलफलले प्राथमिकता पाएकोले पनि यो नीतिगत विषय सम्बोधन नभएको भन्ने सुनिएको भुलले बताए। प्राधिकरणले केही समयअघि पनि कूटनीतिक नोट भनेर प्रक्रियागत रूपमा नै भारतलाई पठाएको तर कुनै प्रतिक्रया नआएको पनि उनले जानकारी दिए।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडान सञ्चालनका लागि प्रविधि नै बाधक बनेको छ।
यहाँ जडित इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (उपकरणद्वारा नै अवतरण गरिने प्रणाली) आईएलएसका कारण अन्तर्राष्ट्रिय उडानमा समस्या भएको छ। आईएलएस प्रयोग गर्दा भारतीय हवाई सीमा पनि छुने भएकाले भारतको अनुमति चाहिएको हो। यसका लागि भारतसँग पहल हुँदै आएको प्राधिकरणका सहसचिव ज्ञानेन्द्र भुल बताउँछन्। ‘सफा मौसमभन्दा पनि खराब मौसमको समयमा भारतीय सीमा छुन सक्ने हो। करिब ६ सय मिटर भारतीय सीमा छुन्छ,’ उनले प्रष्ट्याए।
भैरहवा विमानस्थलमा एयर जजिराले मात्रै नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आएकोमा पुस १ बाट बन्द छ। अब मार्च ९/१० बाट नियमित उडान गर्न सक्ने जानकारी आएको विमानस्थल प्रमुख गोविन्द दाहालले बताए। अरू एयर कम्पनीले चासो दिएका छैनन्। केही चार्टर्ड उडान फाट्टफुट्ट भइरहेको छ। मार्चदेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान गर्न सक्ने बताइएको छ।