बुटवल । बुटवल अटो इन्जिनियरिङ एशोसियसनको ३१औँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित ब्याडमिन्टन प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। व्यवसायीहरूबीच आपसी एकता अभिवृद्धि, स्वास्थ्यप्रति सचेतना र खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा एशोसियसनमा आबद्ध विभिन्न क्षेत्रका व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतियोगितामा आठ टोलीका १६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। दिनभर सञ्चालन भएको खेलमा सहभागीहरूले प्रतिस्पर्धात्मक र रोमाञ्चक प्रदर्शन गरेका थिए। फाइनलमा रिषी चौधरी र युवराज सारुको जोडीले उत्कृष्ट तालमेल र सशक्त प्रदर्शन गर्दै उपाधि जित्यो। नवराज सुवेदी र जयप्रकाश भुसालको जोडी उपविजेतामा सीमित भयो।
अटो पार्टपुर्जा तथा सर्भिसिङ व्यवसायमा व्यस्त रहने व्यवसायीहरूलाई खेलकुदमार्फत शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहन प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एशोसियसनले जनाएको छ। दैनिक कार्यव्यस्तताबीच यस्ता खेलकुद गतिविधिले व्यवसायीहरूबीच सम्बन्ध विस्तार गर्नुका साथै आपसी भाइचारालाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।
कार्यक्रम संयोजक नवराज सुवेदीको संयोजनमा सम्पन्न प्रतियोगितामा एशोसियसनका पूर्वअध्यक्ष तथा संरक्षण सल्लाहकार केवलप्रसाद यादव, अध्यक्ष प्रेम गौंचन, क्लब अध्यक्ष केसरप्रताप जंगबहादुर राणा तथा महासचिव पुनित पोखरेललगायतले आन्तरिक प्रतिस्पर्धाले खेलकुदको विकाससँगै आपसी भाइचारासमेत सुदृढ हुने धारणा व्यक्त गरे।
महासचिव पुनित पोखरेलले प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई समापन समारोहमा ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने जानकारी दिए। उनले खेलकुदलाई संस्थाको नियमित गतिविधिका रूपमा निरन्तरता दिँदै व्यवसायीहरूको स्वास्थ्य, आपसी सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकताका साथ सञ्चालन गरिने बताए।
एशोसियसनको ३१औँ स्थापना दिवसअन्तर्गत सञ्चालन भइरहेका कार्यक्रमअनुसार साउन ९ गते फुटसल प्रतियोगिता आयोजना गरिनेछ। त्यसपछि साउन १३ गते विशेष समारोहका बीच विविध कार्यक्रमसहित स्थापना दिवस औपचारिक रूपमा समापन गरिने एशोसियसनले जनाएको छ।










