बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
कक्षा १२ का विद्यार्थी प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हिसान केन्द्रीय सदस्य तथा विद्यालयका प्राचार्य दिनेश भुसाल, अक्सफोर्ड कलेजका अध्यक्ष डा. अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, प्राध्यापक सुमन भुसाल सहित सञ्चालक समिति, विभागीय प्रमुख, प्राध्यापक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले अक्सफोर्डले गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारलाई सँगसँगै अघि बढाउँदै आएको बताए। उनले विद्यालयमा अध्ययन सुरु गरेका नयाँ विद्यार्थीलाई स्वागत गर्दै मेहनत, अनुशासन र सकारात्मक सोचका साथ अध्ययनमा केन्द्रित हुन आग्रह गरे। विद्यार्थीको शैक्षिक उपलब्धिसँगै नेतृत्व क्षमता, नैतिक मूल्य र व्यक्तित्व विकासलाई विद्यालयले समान प्राथमिकतामा राख्दै आएको उनको भनाइ थियो।
विद्यालयका प्राचार्य तथा हिसान केन्द्रीय सदस्य दिनेश भुसालले नवआगन्तुक विद्यार्थीलाई विद्यालय परिवारमा स्वागत गर्दै अक्सफोर्डले विद्यार्थीको भविष्य निर्माणलाई केन्द्रमा राखेर आधुनिक, व्यावहारिक तथा नतिजामुखी शिक्षण प्रणाली अवलम्बन गरिरहेको बताए। उनले विद्यालयको उद्देश्य उत्कृष्ट परीक्षा नतिजामात्र नभई अनुशासित, नैतिक तथा सामाजिक उत्तरदायित्व बोध भएका सक्षम नागरिक उत्पादन गर्नु रहेको उल्लेख गरे। विद्यार्थीले विद्यालयले उपलब्ध गराउने अवसरको भरपुर उपयोग गर्दै आफ्नो लक्ष्य हासिल गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा वार्षिक परीक्षामा उत्कृष्ट जीपीए हासिल गर्ने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरिएको थियो। सो अवसरमा प्राध्यापक सुमन भुसालले ३.७० वा सोभन्दा माथि जीपीए ल्याउने ११ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको जानकारी दिए। त्यसैगरी, ३.६० वा सोभन्दा माथि जीपीए ल्याउने २९ जना विद्यार्थीलाई जनही ३ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको उनले बताए। यस्ता प्रोत्साहन कार्यक्रमले विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुनुका साथै अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरणा मिल्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा अतिथिहरूलाई टीका तथा खादा लगाएर सम्मान गरिएको थियो। नवआगन्तुक विद्यार्थीको स्वागतलाई स्मरणीय बनाउन विद्यार्थीहरूले गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति दिएका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको सञ्चालन विवेचना प्रसाई र श्रीसा न्यौपानेले संयुक्त रूपमा गरेका थिए भने कार्यक्रमको संयोजन प्राध्यापकद्वय झविन्द्र मरासिनी र कपिल ढकालले गरेका थिए। विद्यालयले यस्ता कार्यक्रममार्फत नयाँ विद्यार्थीलाई विद्यालय परिवारसँग आत्मीय रूपमा जोड्दै अध्ययनप्रति प्रेरित गर्ने वातावरण सिर्जना गर्दै आएको जनाएको छ।










