बुटवल। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले मुख स्वास्थ्यलाई समग्र स्वास्थ्यको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्न सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्। उनले आकस्मिक रूपमा बुटवलस्थित आधुनिक समाज डेन्टलको भ्रमण गर्दै प्रदेशमा मुख स्वास्थ्य सेवाको अवस्था, जनचेतना अभिवृद्धि र आगामी कार्यक्रमबारे छलफल गरेका हुन्।
भ्रमणका क्रममा मन्त्री घिमिरेले आधुनिक समाज डेन्टलका अध्यक्ष तथा मुख स्वास्थ्य अभियन्ता अमृत भुसालसँग प्रदेशभर गुणस्तरीय, सहज र पहुँचयोग्य मुख स्वास्थ्य सेवा विस्तार, सरकारी–निजी साझेदारी तथा समुदायमा आधारित मुख स्वास्थ्य अभियानलाई प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए।
अध्यक्ष भुसालले संस्थाले प्रदान गर्दै आएको अत्याधुनिक दन्त उपचार सेवा, विशेषज्ञ चिकित्सकहरूको टोली, आधुनिक प्रविधिको प्रयोग, बिरामीमैत्री सेवा प्रणाली तथा समुदायमा नियमित रूपमा सञ्चालन हुँदै आएका मुख स्वास्थ्य सचेतना कार्यक्रमबारे जानकारी गराएका थिए। उनले मुख स्वास्थ्यलाई समग्र स्वास्थ्यको अभिन्न अंगका रूपमा स्थापित गर्न विद्यालय, स्थानीय तह र समुदायसम्म लक्षित कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
मन्त्री घिमिरेले आधुनिक समाज डेन्टलले उपचार सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै समुदायमा मुख स्वास्थ्यसम्बन्धी चेतना फैलाउन खेलेको भूमिकाको प्रशंसा गरे। उनले यस्ता संस्थाको अनुभव र क्षमतालाई प्रदेश सरकारका नीतिगत योजनासँग जोडेर मुख स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धिका लागि सहकार्य गर्न सकिने बताए।

भ्रमणका क्रममा मन्त्री घिमिरेलाई संस्थामा उपलब्ध डिजिटल दन्त उपचार प्रणाली, अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकहरूको सेवाबारे पनि जानकारी गराइएको थियो। सोही अवसरमा विशेषज्ञ दन्त चिकित्सक डा. भोजराज खनाल नेतृत्वको टोलीले मन्त्री घिमिरेको मुख स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्शसमेत दिएको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष भुसालले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभव समाजकै हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै समाजले सधैं सम्झिने खालको सकारात्मक योगदान दिने आफ्नो लक्ष्य रहेको बताए।
आधुनिक समाज डेन्टल बुटवलले अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर सेवा प्रदान गर्दै आएको छ। उपचार सेवासँगै विद्यालय, समुदाय तथा विभिन्न सामाजिक अभियानमार्फत मुख स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउँदै संस्थाले प्रदेशमा जनस्वास्थ्य प्रवर्द्धनमा योगदान पुर्याउँदै आएको जनाएको छ।










