नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीले आफ्नो ४७ औँ स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संगठनका अध्यक्ष हुमबहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुरप्रसाद गैरेको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गैरेले मानव जीवन बचाउन रगतको महत्वपूर्ण भूमिका रहने बताउँदै रक्तदान सबैभन्दा ठूलो सामाजिक सेवामध्ये एक भएको उल्लेख गरे। अस्पतालमा उपचाररत बिरामी, दुर्घटनामा परेका घाइते तथा विभिन्न रोगबाट पीडित व्यक्तिका लागि रगत आवश्यक पर्ने भएकाले स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्नेमा उनले जोड दिए। रक्तदानले अरूको जीवन बचाउनुका साथै रक्तदाताको स्वास्थ्य परीक्षणमा समेत सहयोग पुग्ने उनले बताए।
कार्यक्रमका अध्यक्ष क्षेत्रीले संगठनको स्थापना दिवसलाई केवल औपचारिक समारोहमा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले रगतको अभावका कारण कतिपय बिरामीले समयमै उपचार नपाउने अवस्था सिर्जना हुने भएकाले रक्तदानजस्ता मानवीय कार्यमा सबैलाई सहभागी हुन आग्रह गरे। रक्तदानले आपत्कालीन अवस्थामा जीवन रक्षा गर्न महत्वपूर्ण योगदान र्पुयाउने तथा समाजमा मानवीय सहकार्य र सद्भाव बढाउने उनको भनाइ थियो।
नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ७८ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा यातायात क्षेत्रमा आबद्ध मजदुर, व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन संगठनका सह–सचिव केशवराज पौडेलले गरेका थिए।











