रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण आज रातिदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै                
समाचार :

लामिछाने र जोशीको फाइल सँगै पेस गर्न उच्च अदालत बुटवलको आदेश

बुटवल । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिगोबमोजिमको रकम बुझाएर थुनाबाहिरबाट मुद्दा लड्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माग गरेकामा छविलाल जोशीको फाइल पनि सँगै पेस गर्न आदेश दिएको छ । उच्च अदालत बुटवलका न्यायाधीश मिलनकुमार राई र ओमप्रकाश अर्यालले बिहीबार सो आदेश जारी गरेका हुन् ।

एकै प्रकृतिको मुद्दामा जोशीले पनि बिगोअनुसारको रकम बुझाएर कारागारबाहिरै बसेर मुद्दाको पुर्पक्षका लागि माग गरेकामा जिल्ला अदालतले अस्वीकार गरेको थियो । त्यसपछि जोशीले उक्त आदेशविरूद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए । यसअघि लामिछानेको माग पनि जिल्ला अदालतले अस्वीकार गरेपछि उनी उच्च गएका थिए । उच्चले यस अघि कैफियत प्रतिवेदन पेस गर्ने आदेश गरेको थियो ।

जेन–जी प्रदर्शनका क्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आगजनी र तोडफोड भएको थियो । तर, आगजनी र तोडफोडमा लामिछाने र जोशी दुवैको मुद्दाको फाइल बचेको थियो । बचेका फाइलमध्ये बिहीबार लामिछानेको मुद्दाको पेसी चढेको थियो । न्यायाधीशद्वय राई र अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बताए ।

सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । यसअघि उनले आफ्नो भागको बिगो दाखिला गरेर सहकारी ठगीको मुद्दाबाट छुटकारा दिन माग गर्दै जिल्ला अदालतमा निवेदन दिएका थिए । जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनको निवेदनमा सुनुवाइ गर्दै रिहा गर्न अस्वीकार गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर अभियोगपत्र दायर गरिएको छ । तर लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागको एक भागबराबर बिगो दाखिला गरेको कागजात पेस गरेका थिए । लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत निवेदनसाथ पेस गरेका थिए ।

लामिछानेले जस्तै जोशीले पनि त्यति नै बिगोबापतको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको हकमा उनीहरूको भागमा कति बिगो कायम हुने भन्ने नै यकिन नभएकाले रिहा गर्न नमिल्ने एकै प्रकृतिको आदेश गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित