भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

तिलोत्तमाका सहकारीपीडितले अध्यक्ष र सचिवकी श्रीमतीलाई बनाए बन्धक, रकम नतिर्न अध्यक्षको इमोसनल ब्ल्याकमेलिङ

रुपन्देहीको तिलोत्तमा– ३, डिङ्गरनगरस्थित दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा सर्वसाधारणको करोडौँ रुपैयाँ अपचलन गरी एक महिनादेखि फरार छन् ।

संस्थाका अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताहरू बचत फिर्ताको माग गर्दै एक महिनादेखि निरन्तर आन्दोलनमा छन् । आन्दोलनमा रहेका बचतकर्ताले अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिव थापाकी श्रीमती गीता पन्थीसहित सहकारीका सञ्चालकलाई सहकारीको कार्यालय प्राङ्गणमा १३ साउनदेखि थुनेर राखेका छन् ।

बचतकर्तामध्येका एक चेतबहादुर बस्नेत आफूहरूको मुख्य माग बचतकर्ताको पैसा फिर्ता हुनुपर्ने रहेको बताउँछन् । ‘हाम्रो मुख्य माग नै पैसा फिर्ता हो । सञ्चालकहरू तपाईंहरू सबै मिलेर बचतकर्ताको पैसा फिर्ता गर्ने ग्यारेन्टी गर्नुस् भनेर सबै बचतकर्ताले उनीहरूलाई सहकारीमै बस्न भनेका छन्,’ उनले भने, ‘बचत फिर्ता नभएसम्म बाहिर निस्कन नदिने बचतकर्ताको भनाइ छ ।’

यसरी निम्तियो समस्या

डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा-३, योगीकुटी क्षेत्रका स्थानीयहरूले स्थापना गरेको सहकारी हो । दूरगामी बचत तथा ऋण सहकारी २८ चैत २०६७ मा स्थापना गरिएको सहकारी हो भने डिङ्गरनगर दुग्ध विकास सहकारी ७ कात्तिक २०५० मा स्थापना गरिएको थियो । यी दुई सहकारीलाई मर्ज गरी २९ असार २०७८ देखि डिङ्गरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका नाममा एकीकृत कारोबार सुरु गरिएको थियो ।

स्थानीय सञ्चालक भएका नाताले त्यसका बचतकर्ता पनि तिलोत्तमा क्षेत्रका स्थानीय हुन् । स्थानीय सञ्चालक भएको विश्वासकै आधारमा स्थानीयले सहकारीमा रकम जम्मा गरेका थिए । तर, स्थापनादेखि नै सहकारीको अध्यक्ष रहेका घनश्याम तिवारीले सर्वसाधारणले बचत गरेको पैसा अपचलन गर्दै आएको पुष्टि भएको छ । गत वैशाखमा सहकारीमा समस्या देखिएपछि सुरु गरिएको लेखा परीक्षणका क्रममा तिवारीले अनियमितता गरेको भेटिएको हो । यद्यपि, लेखा परीक्षणको अन्तिम प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

सर्वसाधारणको रकम फिर्ताका लागि सुरुदेखि पहल गरिरहेका सहकारीका बचतकर्ता कमल पौडेल सहकारीमा नियमविपरीत किर्ते गरेर धेरै पहिलेदेखि ठूलो आर्थिक अपचलन गरेको बताउँछन् । सहकारीका अध्यक्ष तिवारी जग्गा कारोबारीसहित टायल मार्वललगायतका व्यापारमा संलग्न व्यक्ति हुन् । उनले आफ्नो व्यक्तिगत कारोबारका लागि सर्वसाधारणको बचत नियमविपरीत किर्ते कागजपत्र खडा गरेर प्रयोग गरेको पनि खुलेको छ । उनले आफूलाई चाहिएको बेलामा सहकारीको रकम प्रयोग गर्ने गरेको पाइएको छ । त्यसका लागि उनले सहकारीका व्यवस्थापक वसन्त पराजुलीलाई प्रयोग गर्ने गरेका थिए । इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका पराजुलीले तिवारीकै निर्देशनमा आफूले सबै काम गरेको प्रहरीमा बयान दिएका छन् ।

तिवारीले सहकारीमा किर्ते कागजात र नियमविपरीत निर्णय गरेर रकम अपचलन गरेको आरोप लागेको छ । २०७७ सालमा अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारीका नाममा सहकारीबाट धितोबिना आफैँ स्वीकृत गरी १ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह गरेको भेटिएको छ । सहकारी स्रोतका अनुसार तिवारीको उक्त निर्णय २०८० सालमा मात्र सहकारीका सञ्चालकले जानकारी पाएका थिए । त्यसपछि धितो माग गर्दा तिवारीले जग्गा धितो त उपलब्ध गराए । तर, त्यसका लागि उनले सँधियारचाहिँ सहकारीकै कर्मचारी राखेर नक्कली चार किल्ला बनाए ।

सहकारीका कर्मचारीका अनुसार तिवारीले घडेरी बिक्री र घर बनाउने व्यक्तिलाई पसलका सामान बिक्री गर्थे । अनि आफ्नो पैसाचाहिँ सहकारीबाट व्यक्तिलाई ऋणी बनाएर आफूले असुलउपर गरेको पनि भेटिएको छ । ‘अध्यक्षले लेखाका सामान्य मूल्य मान्यताविपरीत आफ्नो व्यक्तिगत सम्पूर्ण कारोबार सहकारीको रकमबाट गरेको भेटिएको छ,’ लेखा परीक्षणमा संलग्न एक सदस्य भन्छन् ।

त्यसैगरी, सहकारीका सदस्य बचतकर्ता वीरेन्द्र श्रेष्ठ र अध्यक्ष तिवारीको लेनदेनमा तिवारीले श्रेष्ठबाट आफ्नो पैसा असुलउपर गर्न श्रेष्ठलाई सहकारीको ऋणी बनाएर आफ्नो ५० लाख असुलेको पनि भेटिएको छ । अहिले श्रेष्ठले सहकारीमा तिर्नुपर्ने रकम झण्डै १ करोड ४० लाख पुगेको छ । त्यसो त सहकारीबाट ऋण नै नलिएको व्यक्तिको नाममा समेत तिवारीले ऋण प्रवाह गरेका छन् । जस्तो; सहकारीका सदस्य प्रेमबहादुर धुरेलका नाममा प्रवाह गरिएको २ करोड ऋण । सहकारीमा समस्या देखिएपछि अध्यक्ष तिवारीले गत वैशाखमा संस्थाका व्यवस्थापक पराजुलीका नाममा उक्त रकम आफूले लगेको भनेर कागज गराएका छन् ।

कतिसम्म भने अध्यक्ष तिवारीले सहकारीमा बैंकिङ कारोबार नगर्न र नगदमा कारोबार गर्न निर्देशन दिएका थिए । उनको निर्देशन अनुसार व्यवस्थापक पराजुलीले बैंकमार्फत कारोबार नगरी नगद कारोबार गर्ने गरेका थिए । २०८० पछि ६० देखि ८० प्रतिशत नगदमा कारोबार भएको लेखा परीक्षणका क्रममा भेटिएको छ ।

व्यवस्थापक पराजुली बैंकमा नगद जम्मा गर्न आफैँ जाने गरेका थिए । तर, उनले बैंंकमा नगद जम्मा गर्दैनथे । तर, बैंकमा जम्मा गरेको भनेर भौचर लिएर आउँथे । बैंकमा टेलिफोन गरेर सोध्दा ब्यालेन्स नहुने तर कार्यालयमा बैंकका भौचर भेटिएको विषय सोध्दा अध्यक्ष तिवारी र व्यवस्थापक पराजुलीले आफूहरूलाई हप्काउने गरेको सहकारीकी कर्मचारी मञ्जु पौडेल बताउँछिन् ।

‘कर्मचारी भएपछि धेरै बोल्ने होइन, अह्राएको/खटाएको काम मात्र गर्ने हो भनेर थर्काउँथे,’ उनी भन्छिन्, ‘किन नगद कारोबार गरेको भनेर सोध्दा अध्यक्षको निर्देशन हो, धेरै नबोल काम गर्ने भए गर, नभए छोडेर जाऊ भनेर पराजुलीले थर्काउँथे ।’ अध्यक्ष तिवारीले कुनै पनि सदस्यको रकम नडब्ने र त्यसको जिम्मा आफू भएको र त्यस्तो अवस्थामा आफ्नो जायजेथा बिक्री गरेर भए पनि सर्वसाधारणको रकम फिर्ता गर्ने भनेर खुला चुनौती दिन्थे । ‘ठूलो स्वरले छाती पिटेर सबै रकमको जिम्मा म हुन्छु भनेर ठूलो स्वरमा कराउँथे,’ पौडेल भन्छिन् । तिवारीको त्यही बोलीका कारण नै धेरै मानिसले विश्वासमा परेर सहकारीमा पैसा जम्मा गरेका थिए ।

नतिर्ने नियत

सहकारीमा समस्या नआउने र सबै सदस्यको पैसाको ग्यारेन्टी आफू भएको भन्दै खुला चुनौती दिने तिवारीकै कारण सहकारीबाट सर्वसाधारणले आफ्नो पैसा फिर्ता पाउन नसकेका बचतकर्ताले आरोप लगाइरहेका छन् । असारको दोस्रो हप्तामा सहकारीमा ठूलो समस्या आउनुअघि बचतकर्ताको पैसा फिर्ता गर्ने सहमति बनेको थियो । त्यसका लागि अपुग १० करोड रुपैयाँ रकम तिवारीको जग्गा धितो राखेर तत्कालका लागि कमल पौडेलले १० करोड उपलब्ध गराउने र रकम माग गर्ने शेयर सदस्यलाई रकम दिने सहमति भएपछि समस्या समाधानको चरणमा पुगेको थियो ।

त्यतिबेला रकम फिर्ता गर्ने सदस्यको संख्या करिब ४ सय मात्र थियो । तर, सहमति गरेपछि तिवारी र सचिव रामबहादुर थापा उक्त बैठकले गरेको निर्णयको माइन्यूट च्यातेर फरार भए । त्यसपछि उक्त सहकारीको समस्या झन्‌ जटिल बन्यो । फरार रहेका तिवारीका परिवार अहिले तिवारीका नाममा देखिएको ऋण रकम तिर्न तयार रहेको अन्य रकम नतिर्ने अडान लिएर बसेका छन् । अन्तिमपटक गत मंगलबार राति सहकारीका सञ्चालक, फरार रहेका अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिव रामबहादुर थापाकी श्रीमती गिता पन्थीबीच सहकारीका सदस्यको रकम फिर्ता गर्ने मोटामोटी सहमति बनेको थियो । तर, अन्तिम समयमा तिवारीकै कारण बनिसकेको सहमति नै बिग्रियो ।

बचतकर्ताको रकम फिर्ताका लागि सहकारीका उपाध्यक्ष बलाराम न्यौपानेले १ करोड, कोषाध्यक्ष सुरेन्द्र वज्राचार्यले १ करोड, सहकोषाध्यक्ष केशरी पाण्डेले १ करोड, बाँकी सञ्चालकबाट करिब १ करोड र घनश्याम तिवारीकी श्रीमती शारदा तिवारीले ७ करोडको व्यवस्थापन गर्ने सहमति बनेको थियो । त्यति पैसा व्यवस्थापन हुँदा सहकारीका सदस्यको बचत रकम फिर्ता गर्न सक्ने अवस्था थियो । तर, अन्तिममा शारदाले उनका जेठाजु हरि तिवारीलाई टेलिफोनबाट जानकारी गराउँदा कुनै सहमति नगर्न भनेपछि बनिसकेको सहमति बिग्रिएको केही सञ्चालक र बचतकर्ताको भनाइ छ । हरि तिवारीले ‘पैसा दिने कुनै सहमति नगर्नु, कानुनी प्रक्रिया अनुसार सबै कुरा अघि बढ्छ’ भनेपछि शारदा सहमतिबाट पछि हटेको आरोप छ ।

इमोसनल ब्लाकमेलिङ

अध्यक्ष तिवारीको परिवार नै ‘इमोसनल ब्लाकमेल’मा लागेको भन्दै बचतकर्ता थप आक्रोशित बन्न थालेका छन् । बचतकर्ताका अनुसार घनश्याम तिवारीलाई खाँदै नखाएको पैसा तिर्न जबर्जस्ती गरेर मर्न बाध्य बनाइँदै छ भन्दै परिवारका सदस्यले आरोप लगाउन थालेका छन् । बुधबार राति तिवारीकी दिदी माया भट्टराईले सार्वजनिक गरेको भिडियोमा आफ्नो भाइलाई खाँदै नखाएको पैसामा जबर्जस्ती गरेर मर्ने अवस्थामा पुर्‍याएको दाबी गरेकी छिन् ।

लामो समय सहकारीको क्षेत्रमा काम गरेर अवकाशप्राप्त सहकारीका जानकार चन्द्रकान्त भट्टराई सहकारीको हरेक कामको जिम्मेवार अध्यक्ष हुने बताउँछन् । ‘अध्यक्ष र सञ्चालक भनेको सर्वाधिकार हो । यदि अन्य सञ्चालकलाई जानकारी नै नदिएर काम गरेको रहेछ भने त्यसको जिम्मेवार त अध्यक्ष हुन्छ नै,’ उनी भन्छन्, ‘मलाई थाहा थिएन, मैले खाएको होइन भनेर उम्किन मिल्दैन । अध्यक्षको हस्ताक्षरबिना ऋण लगानी वा कुनै पनि निर्णय हुँदैन । त्यस कारण म जिम्मेवार छैन भन्ने कुरा नमिल्ने विषय हो ।’

सहकारीका अध्यक्ष तिवारी कानुनी प्रक्रियामा जाँदा केही दिन थुनामा बसेपछि धरौटी रकम बुझाएर छुट्न सक्ने र त्यसपछि बाहिर बसेर मुद्दा लड्न सकिन बुझाइमा देखिन्छ । साथै, त्यसो गर्दा थोरै पैसामा उम्किने बुझाइमा पनि देखिन्छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहकारीका सञ्चालकहरूको यही बुझाइ नै गलत रहेको बताउँछन् । ‘मुद्दामा गएपछि वर्षौं लड्काउन सकिन्छ भन्ने उनीहरूलाई लाग्छ । तर, मुद्दा नटुंगिँदासम्म थुनामा बस्नुपर्छ भन्ने उनीहरूले बुझ्दैनन् । त्यति सजिलो छैन । सानोतिनो केसमा मात्र अदालतले धरौटीमा छोड्न सक्छ,’ त्रिपाठी भन्छन्, ‘अहिलेको ट्रेन्ड हेर्दा धेरै मानिस थुनामा पुगेका छन् । १० करोडभन्दा माथि रहेछ भने त १० वर्ष सजाय गर्छ ।’

अदालतमा मुद्दा प्रवेश गरिसकेपछि अदालतले सम्पत्ति रोक्का राख्ने र बचतकर्ताले बचत फिर्ता पाउने प्रक्रिया केही लम्बिने त्रिपाठी बताउँछन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी एवं अपराध अनुसन्धान क्षेत्रका विज्ञ हेमन्त मल्ल ठकुरी मुद्दामा जान खोज्नु पैसा नतिर्ने नियत र त्यसमा राजनीतिले संरक्षण गरेको बताउँछन् । ‘धेरैजसो सहकारीमा राजनीतिज्ञ जोडिएका छन् या राजनीतिज्ञसँग नजिक भएका मानिस छन् । त्यसैले उनीहरू आफूलाई केही हुँदैन भन्ने गलत बुझाइमा भएको देखिन्छ,’ मल्ल भन्छन्, ‘मुद्दा चलेपछि कालो सूचीमा पर्ने सम्भावना हुन्छ । कालो सूचीमा परेपछि व्यक्तिका सम्पूर्ण कारोबार रोकिन्छन् । प्रहरी रिपोर्ट जहाँ पनि चाहिने विषय हो । मुद्दा चल्दाबित्तिकै प्रहरीमा नेगेटिभ रिपोर्ट हुन्छ ।’ याे समाचार शिलापत्रमा छ ।

मल्ल आर्थिक अपचलन र ठगीको विषय अन्य देशले गम्भीर अपराधका रूपमा लिने भएकाले व्यक्तिको रिपोर्ट नै गलत हुने भएकाले अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको विषयसँग जोडिने बताउँछन् । ‘हाम्रो प्रणाली नभएकाले हल्का रूपमा लिएका छन् । तर, अन्य देशले यस्ता विषयलाई धेरै गम्भीर रूपमा लिन्छन् । यस्ता विषय दूतावासको नोटिसमा हुन्छन्,’ मल्ल भन्छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित