
विकाश पराजुली
बुटवल ।
बुटवल–१२ तामनगरकी उमा कुँवरलाई दुई वर्ष अघिसम्म दिन बिताउन निकै गाह्रो थियो । घरमा यत्तिकै बस्नुपर्दा साथी र पाहुनासँग गफिने बाहेक उनीसँग अर्को विकल्प थिएन । हिजोआज उनको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हराएको छ । उनी अहिले हरेक दिन दुना, टपरी बनाउनमा व्यस्त हुन्छिन् ।
अचेल उनलाई उद्योगमा महिलाहरुसँग गफिँदै टपरी बन्दाबुन्दै समय बितेको पत्तै हुँदैन । बुटवल तामनगरमा दुई वर्षदेखि लघु उद्यम दुना टपरी उद्योग स्थापना गरेकी उमाले अहिले सफल उद्यमी महिलाको परिचय बनाएकी छिन् । उद्योग सञ्चालनमा आएको छोटो समयमै दुनाटपरीको माग बढ्न थालेपछि उनको टिमलाई भ्याइनभ्याइ छ । उनी सफल स्वरोजगार महिलाको रुपमा स्थापित हुनुमा बुटवल उपमहानगरपालिकाको सहयोग पनि उत्तिकै छ ।
बुटवल उपमहानगरपालिकाले दुई वर्षअघि दुना टपरी बनाउने तालिम दिएको थियो । घरमा बसेका गृहणीहरुलाई स्वरोजगार र उद्यम बनाउने उद्देश्य सहित आयोजना गरिएको यो तालिममा उमा सहित २२ जनाले सहभागिता जनाएका थिए ।
यही तालिमबाट सिकेको सिपलाई उमा र उनका अन्य ६ जना साथीहरु आर्यआर्जनसँग जोड्ने निर्णयमा पुगे । बुटवल उपमहानगरपालिकाले प्रोत्साहन स्वरुप दुना टपरी बनाउने दुईवटा साना (खुट्टाले चलाउने) मेसिन उमाको समूहलाई दियो । ‘खेती किसानीको काम नहुँदा दिनभर घरमै बस्नुपथ्र्यो । २/४ रुपैयाँ पनि अरुसँग माग्नुपर्ने अवस्था थियो । तर अहिले स्वरोजगार भएपछि केही मन लागेको किन्न अरुसँग पैसा माग्न परेको छैन । म यसैमा खुसी छु’, उनले भनिन् ।
उमाको समूह दुना टपरीको बजार र मार्केटिङ आफैले गर्छ । जंगलमा पुगेर पात ल्याउने देखि तयारी वस्तुको बिक्रीका लागि बजार सम्म उनीहरु पुग्ने गर्दछन् । ‘काम गर्ने इच्छा भए १० दिनको यो तालिमले धेरै परिवर्तन ल्याउने रहेछ । अझै उपमहानगरपालिकाले महिलाहरुलाई उद्यमसँग जोड्ने कार्यक्रम ल्याएमा धेरै स्वरोजगार बन्न सक्छन्’, उनले भनिन् ।
बुटवल, सालझण्डीको पुजा पसलमा अहिले उमाको समूहले तयार गरेका दुना र टपरी पुग्छन् । दुना २ देखि ४ रुपैयाँ पर्छ भने टपरीलाई ५ रुपैयाँ देखि १५ रुपैयाँ सम्म पर्छ । उमा भन्छिन्–‘तालिम लिएर स्वरोजगार भएपछि अरुमा निर्भर हुनु परेको छैन् । केही व्यक्तिलाई चिन्ने मौका पनि पाएका छौ ।’
बुटवलकी लक्ष्मी भट्टराई मेडिकल पर्सन हुन् । दिनभर आफू व्यस्त भएपनि घर नजिकका छिमेकी महिला दिदी बहिनीहरु घरमा यसै बसेर दिन कटाउँथे । लक्ष्मीले एक दिन केही महिला दिदी बहिनीहरुलाई कन्भिन्स गरिन्–‘केही सिप सिकेर आयआर्जनसँग जोडियौ । स्वरोजगार बनौ । केही सिप सिकौ ।’
उनले भनेपछि छिमेकका दिदीबहिनी राजी भए । त्यहीबेला बुटवल उपमहानगरपालिकाले अचार बनाउने तालिम दिने थाहा पाए । उनीहरु पनि तालिममा सामेल भए । गत वर्ष १० दिने अचार बनाउन तालिम लिएपछि लक्ष्मी भट्टराई, लक्ष्मी पाण्डे, कमला पाण्डे सहितका साथीहरुले अचार बनाउने र त्यसलाई बिक्री गर्ने गरी उद्यम सुरु गरे ।
हातेमालो महिला उद्यमीको रुपमा अहिले उनीहरुले बुटवलका आफ्नै साथीहरुलाई अचार बिक्री गर्दै स्वरोजगार भएका छन् । ‘दिनभर दिदी बहिनी खाली हुने । २/४ रुपैयाँ पैसा पनि श्रीमानसँग माग्नुपर्ने देखेपछि यसरी बस्नुहुन्न भनेर कन्भिन्स गरेर तालिम ल्याउनका लागि प्रोत्साह गरे र तालिम लियौं । अहिले हामी केही पैसा कमाउन सक्ने भएका छौ’– लक्ष्मी भट्टराईले भनिन् ।
लक्ष्मी सहितको ८ जनाको समूहले अहिले अचार बनाएर बिक्री गर्दै आएको छ । आँप, अमला, कागती, लस्सी, मिक्स, असुन, मेथी, करेला, खुर्सानीको अचार उनीहरु बनाउँदै आएका छन् । ‘हामीले सानो भ्वलुममा अचार बनाइरहेका छौ । तर गुणस्तरमा सम्झौता गरेका छैनौ । हामीसँग तालिम लिएका कतिपय महिलाले घरै बनाएर छुट्टै पनि बिक्री गरेका छन्’ – उनले भनिन् ।
‘केही गरौ भन्ने हुटहुटी भयो भने २/४ पैसा माग्न श्रीमानसँग हात थाप्नु पर्दैन । आफैले पनि केही गर्न सकिन्छ । तर जाँगर, काम प्रतिको लगनशिलता र इच्छा शक्ति भने हुनुपर्छ’–उनले भनिन् ।
उनले पुनः सावुन र सरफ बनाउने तालिम सिकेको भन्दै छिट्टै सावुन र सरफ बनाउने बिक्री गर्ने बताइन् । दुई लाखबाट सुरु गरेको उनको अचार व्यवसायमा अहिले राम्रो सफलता मिलेको लक्ष्मीले बताइन् ।
बुटवल–१३ शान्तीचोककी निर्मला गौतम बटुवा धुप बनाउँछिन् र बिक्री गर्छिन् । गत बर्ष उपमहानगरपालिकाले तालिम दिएपछि धुप बनाउन सिकेकी उनले अहिले आफै पनि धुप बनाउने तालिम दिन्छिन् ।
‘खाली समयमा सिप सिकौ भनेर बटुवा धुप बनाउने तालिम सिके । अहिले धुप बनाउँछु । सिकाउँछु पनि’ उनले भनिन् । पहाडिया कागजमा बनाउने बटुवा धुप उनले आफ्नै पसल र घरघरमा लगेर बिक्री गर्छिन् ।
‘मेरो पसल पनि छ । पसलमा खाली हुँदा धुप बनाउँछु । घरमा आफूलाई बाल्न पनि भएको छ । यसलाई आयआर्जनसँग जोडेकी छु । केही पैसा कमाउन सकिएको छ’, उनले भनिन् ।
बुटवलकी सृष्टि सुनार सुनचाँदी पसलमा कालिगढका रूपमा काम गर्छिन् । उनले पनि हातबाट गरगहना बनाउने तालिम उपमहानगरपालिबाट लिएपछि स्वरोजगार बनेकी छिन् । ‘मैले सोचेकै थिइनँ कि म गहना बनाउन सक्दछु । तर तालिमपछि मेरो सोच नै फेरिएको छ । अहिले म नियमित काम गर्छु, साना–साना गहना बनाउँछु र महिनामा केही रकम कमाउँछु’–उनले भनिन् ।
यी त केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन । बुटवल उपमहानगरपालिकाले सीपमूलक तथा रोजगारमूलक तालिम दिएपछि सयौको संख्यामा अहिले स्वारोजगार बनेका छन् । कतिपयले आफै लगानी लगाएर उद्यमी समेत बन्न सफल भएका छन् ।
‘महिलालाई आर्यआर्जनसँग जोड्ने गरी कार्यक्रम बनायौ । त्यही अनुसार तालिम आयोजना गर्यौं । धेरै जना तालिमबाट लाभान्वित हुनुभयो । आगामी वर्ष पनि महिलाहरुलाई सिप सिकेर स्वरोजगार बनाउने तालिम हामीले दिनछौ’–बुटवल उपमहानगरपालिककी उपप्रमुख सावित्रादेवी अर्यालले भनिन् ।
अहिले उपमहानगरपालिकामा महिलाहरु आफैले तालिमको माग गर्ने गरेको उनले बताइन् । ‘सिप सिकेमा आर्थिक रुपमा सवल भइन्छ भन्ने चेतना महिलामा विकास भएको छ । त्यसैले हामीलाई यस्तो सिप चाहियो भनेर उहाँहरुले आफूहरुलाई आवश्यकता पर्ने तालिम माग गर्नुहुन्छ । हामीले पनि महिलाहरुलाई उद्यममा जोड्ने गरी तय भएका कार्यक्रम अनुसार तालिम आगामी दिन पनि दिदै जानेछौ’– उनले भनिन् ।
के–के भए तालिम, कति भयो खर्च ?
बुटवल उपमहानगरपालिकाले ३ वर्षको अवधिमा ८९९ जनालाई दर्जन भन्दा बढी तालिम दिएको छ । यी तालिम सञ्चालन गर्न उपमहानगरपालिकाले १ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ ।
मेयर युवा रोजगार प्रवद्र्धन कार्यक्रम अन्तर्गत विभिन्न ६ वटा तालिम १४२ जनाले लिएका छन् । ३० लाख रुपैयाँको उक्त कार्यक्रमबाट बारिष्टा ४०, बेसिक कम्प्युटर, मोबाईल मर्मत, एसी फ्रिज मर्मत, टायल मार्वल बनाउने २०/२० जना र जुत्ता बनाउने तालिम २२ जनालाई प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
नगरप्रमुख गृहणी स्वरोजगार कार्यक्रम अन्तर्गत १५३ जना महिलाले तालिम लिएका छन् । १३ लाख ५० हजार बजेटबाट सहभागीहरुलाई बटुवा धुप बनाउने, गुन्द्रुकको अचार बनाउनुका साथै विभिन्न जातीका भेषभुषा बनाउने तालिम प्रदान गरिएको थियो ।
त्यसैगरी उपप्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम अन्तर्गत ३० लाख ५० हजार बजेटबाट २५३ जनाले तालिम लिएका छन् । यी मध्ये १ सय ५० भन्दा बढि स्वरोजगार बनेका छन् । बारिष्टा २०, जुत्ता चप्पल १३८, फेशन डिजाईन २५, बच्चाको बलाङ्केट बनाउने २५, बुटिक बनाउने २० र सिलाई कटाई २५ गरी २५३ जनालाई तालिम प्रदान गरिएको थियो ।
यसैगरी उद्यम विकास कार्यक्रम अन्तर्गत १४३ जनाले जुत्ता चप्पल, सिलाई कटाई, व्युटीपार्लर, परालको जुत्ता बनाउने, दुना टपरी, आलु चिप्स बनाउने र गुन्द्रुक मस्यौरा बनाउने तालिम लिएका छन् ।
इन्स्योर परियोजनाबाट १३८ जनाले तालिम लिएका छन् । एक करोड खर्च भएको उक्त तालिममा सहभागीहरुले इलेक्ट्रिक, प्लम्बिङ, मेकानिकल, कम्प्युटर हार्डवेयर लगायतका तालिम लिएका थिए ।
त्यस्तै अपांगता भएका व्यक्तिहरुका लागि नगरपालिकाले चुरा पोते बनाउने, ब्रेनलिपी र अचार बनाउने तालिम ७० जनालाई प्रदान गरेको छ ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सिप सिकाउने र रोजगार बनाउने नीति अनुरुप नै विभिन्न तालिम आयोजना हुने गरेको बताए । उनले धेरैले सिप सिकेर आत्मनिर्भर बनेको भन्दै सवै तालिमहरु प्रभावकारी रहेको बताए ।