
रुपन्देहीमा नदीजन्य पदार्थको अबैध उत्खनन गरिएको छ । रुपन्देहीका सबैजसो ठूला साना खोलाहरुमा केही दिन यतादेखि मापदण्ड विपरित उत्खनन गरेर व्यक्तिहरुका क्रसरमा नदीजन्य पदार्थ थुपारिएको छ । नदीजन्य पदार्थ उत्खननका लागि स्थानीय तहहरुबाट ठेक्का सम्झौता गरेका ठेकदारहरुले ठेक्का सम्झौता बिपरित खोलाको क्षेत्र मिचेर उत्खनन गरिरहेका छन् ।
ठेक्का सम्झौता बिपरित नदीजन्य पदार्थ उत्खनन गरेर नियम विपरित ओसारपसार गर्नुका साथै डम्पिङ गरिएको छ । नदीजन्य पदार्थ निकाल्न भएको सम्झौता र मापदण्ड विपरित काम भैरहंदा पनि स्थानीय पालिकाहरुले देखेपनि नदेखे जस्तै गरेका छन् । राजनीतिक दलहरु पनि यो विषयमा मौन रहेका छन् । नदीजन्य पदार्थको अबैध काम गर्नेहरुलाई राजनीतिक संरक्षण रहेको देखिन्छ ।
केही दिन यतादेखि बिहानको ४ बजेदेति राति अबेलासम्म खोलाहरु अबैध ढंगले उत्खनन भैरेहका छन् । स्थानीयले अबैध रुपमा खोलाहरु उत्खनन गरिएको भन्दै बिरोध जनाएपनि कुनै सुनुवाई भएको छैन । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा दिनदाडै अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरी देखादेख व्यक्तिका क्रसरहरुमा डम्पिङ गरिदा पनि स्थानीय सरकारले अनुगमन चासो देखाएका छैनन् ।
उत्खनन्का लागि अनुमति लिएको भन्दा धेरै ठाउंमा र नदीजन्य पदार्थ उत्खनन गरेर व्यक्तिहरुले सञ्चालन गरेका क्रसरहरुमा लगिएको तिलोत्तमा ६ का एक स्थानीयले नाम नबताउने सर्तमा बताए । उनले नाम सार्वजनिक गर्दा भोलीका दिनमा ज्यानको असुरक्षा हुने भएकाले आफ्नो नाम सार्वजनिक नर्गन आग्रह गरेका छन् ।
नगरपालिकाको डम्पिङमा थुपार्नुपर्ने नदीजन्य पदार्थ क्रसरहरुमा ठुला ठूला पहाड जत्रै थुप्रा बनाएर राखिएको र यसमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र राजनीतिक दलका स्थानीय नेताहरुको मिलोमतो देखिएको स्थानीयको भनाइ छ । वातावरणलाई प्रभावित गर्ने गरी खोलाहरुमा उत्खनन भैरहंदा पनि जिम्मेवार स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी र प्रहरीसमेत चुपचाप छन् ।
स्थानीय पालिकाहरुले नियोजित रुपमा नै वर्षा शुरुहुने बेला र आर्थिक वर्ष सकिनै लाग्दा लाग्दा खोलाहरुबाट नदीजन्य पदार्थ निकासीका लागि ठेक्का लागाउने गर्दछन् । निकै छोटो समय राखेर ठेक्का लगाएका कारण खोलामा अबैध काम गर्ने वातावरण मिलेको देखिन्छ । नदीजन्य पदार्थको ठेक्का लगाउने पालिका, ठेकदार र क्रेसर सञ्चालकहरुको मिलोमतोमा नै उत्खननकार्य भैरहेको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, गैडहवा गाउंपालिका, शुद्धोधन, सियारी गाउंपालिका, सैनामैना नगरपालिका र देवदह नगरपालिकाहरुले तिनाउ, दानव, भलुही, दाउन्ने, केउली, चरङे खोलामा नदीजन्य पदार्थ निकासी गर्न ठेक्का लगाईएको छ ।
बुटवल तिलोत्तमासंग जोडिएको तिनाउ, दानव खोला, देवदहको दाउन्ने, चरङे खोला, दाउन्ने र केउली खोलाबाट नदीजन्य धमाधम उत्खनन गरिएको छ । त्यस्तै सैनामैनाको इङ्गुरिया खोलाबाट धमाधम अबैध रुपमा नदीजन्य पदार्थको उत्खनन गरी क्रेसरहरुमा थुपार्ने काम भैरहेका छ । चामुण्डा, न्यू श्रृष्टि, कश्यप नमुना रोडा, कामना, जयशिव शक्ति, तिलोत्तमा, जयमा बैष्णव, एसआर रोडा ढुंगा क्रसर लगायत विभिन्न क्रसर उद्योगमा नदीजन्य पदार्थ लगेर थुपारिएको छ ।
नदीजन्य पदार्थको उत्खनन् तथा व्यवस्थापनका लागि गरिएको वातावरणीय असर प्रभाव मूल्यांकन भन्दा बढी उत्खनन् गरिएको छ ।
पालिकाले नदीजन्य पदार्थको उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ पहिलो संशोधन २०७८ र दोस्रो संशोधन २०७९, चुरे संरक्षण कार्यविधि ऐन अन्तरगत गर्नु पर्दछ । तर ऐन कानुनकोसमेत धज्जी उडाएर नदीजन्य पदार्थ निकालिएको छ ।
नदीजन्य निर्माण सामाग्री संकलन गर्नुअघि वातावरणीय अध्ययन गरेर ठेक्का लगाउदा नदीजन्य निर्माण सामग्री उत्खनन, संकलन, बिक्रीको व्यवस्थाबारे स्थानीय तहहरुले मापदण्ड तय गरेका हुन्छन् तर ति मापदण्ड पालना गरिएको छैन ।
नदीजन्य पदार्थको उत्खनन गर्दा स्थानीय जनशक्तिबाट हात र हाते औजार प्रयोग गर्नु पर्ने यदी मेसिन प्रयोग गर्नुपर्ने भएमा ढुंगा, गिटी र बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ को दफा ४(४) वमोजिम सवारी साधनको नम्बर खेलेको कार्यादेश लिएर मात्र साधनलाई नदीमा प्रवेश गर्न दिने व्यवस्था गरिएको छ । तर सबारी साधनको नम्बर लेखेको टिप्पर तथा ट्रकहरुले स्थानीय तहका डम्पिङमा नलगी व्यक्तिहरुले सञ्चालन गरेको क्रसरमा लाने गरेको स्थानीयले बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, गोरकट्टा नाका र हरपुर नाकामा लगाइएको ठेक्का, देवदहको चरंगे भलुही खोला, घोडाहा खैरनीबाट नदीजन्य पदार्थ घाटगद्धी नगरी सोझै क्रसरहरुमा थुपारिएको स्थानीयको आरोप छ ।
रुपन्देही प्रहरी प्रमुख प्रदिप बहादुर क्षेत्रीले खोलामा कसरी उत्खनन भएको छ, भन्नेबार निगरानी गर्ने काम पालिकाहरुको हो भने । हामीले अबैध रुपमा मालसमान बोकेका सवारीलाई नियन्त्रणमा ल्याउने काम हो र सुरक्षा दिने हो त्यसमा प्रहरी दिनरात खटिएको प्रहरी प्रमुख क्षेत्रीको भनाइ छ । हामिल अनुगमनसमेत गरेको उनले बताए ।
स्थानीयले जनप्रतिनिधि, कर्मचारी, प्रहरी प्रशासनसमेतको मिलोमतोमा नदीजन्य पदार्थ उत्खनन् गरिएको आरोप लागेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेको अगुवाईमा प्रहरी प्रमुख र जिल्ला समन्वय समितिका संयोजक उमाकान्त चापागाईको नेतृत्वमा सोमबार अनुमन गरिएको छ । अनुगमनकोक्रममा तिलोत्तमा ६ मा रहेको काश्यप नमुना रोडालाई जिल्ला प्रशासनले अर्को निर्णय नहुंदासम्म विक्री वितरण गर्न नपाइने गरी शिलवन्दी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले मापदण्ड विपरित उत्खनन् गर्ने र स्थानीय तहको डम्पिङमा नलगेर क्रसरहरुमा लगेको भेटेमा आवश्यक अनुसार कारवाही अगाडी बढाउनु प्रतिक्रिया दिए ।
रुपन्देहीका अधिकांस खोलाहरुमा केही दिनदेखि नदीजन्य पदार्थ उत्खनन् गर्ने साधन र ओसार्ने सवारी साधानको खोलादेखि सडकसम्म लामै लस्कर लागेको देख्न सकिन्छ । खोलाहरुमा बजार लागेको जस्तो दृष्य देखिन्छ, भने सडकमा ट्रक, टिप्परहरुको लस्कर लागेको छ ।