
कुदान पुरातात्विक बौद्ध सम्पदा हो । गौतम बुद्धले बुद्धत्तो (निर्वाण) प्राप्त गरिसकेपछि पहिलोपटक आफ्ना पिता राजा शुद्धोधनसँग भेट भएको स्थान हो । कपिलवस्तुको तौलिहवा खुनुवा सडकखण्डमा पर्ने कुदान तौलिहवादेखि करिब २.३ किमि दक्षिणतर्फ पर्छ ।
कुदान तीन प्रमुख कारणले महत्वपूर्ण बनेको छ । पहिलो राजा शुद्धोधनले आफ्ना छोरा सिद्धार्थलाई विश्वले नै पुज्ने महामानव बुद्धको रुपमा देखेको स्थल हो ।
दोस्रो राजमुकुटका भागिदार छोरालाई बृद्ध राजा शुद्धोदनले काषाय वस्त्र अथवा गेरुवा कपडा दिएर चित्त बुझाउनु पर्ने स्थल पनि हो । त्यतिमात्र होइन, यहाँ त आफ्नो अंश माग्न आएका राहुललाई आफ्नो चेला सारिपुत्रमार्फत् झन् प्रवजित गराएर युवराज हुने सम्भावनाबाट समेत च्युत गराएर धर्मको मार्गमा डोर्याएको स्थल हो यो ।
भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि कपिलवस्तु फर्कंदा पिता राजा शुद्धोधनले पहिलो पटक गौतम बुद्धलाई कुदानमा नै भेट गरेका थिए । बुद्धधर्म ग्रन्ध अनुसार कुदानलाई निग्रोधाराम नामले चिनिन्छ । बुद्ध धर्मावलम्बीहरुका लागि यो अति नै पवित्र स्थल हो ।
यसै कारण हरेक वर्ष विभिन्न देशका बौद्ध धर्मावलम्बीहरु यस क्षेत्रमा वर्षाबासका लागि ध्यान गर्न आउने गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए ।
हरेक वर्ष वर्षायाममा बौद्धमार्गीहरु यहाँ ३ महिनाका लागि वर्षाबासका लागि आउने गरेका छन् । साउन महिनाको पूर्णिमाबाट वर्षाबास सुरु हुन्छ । वर्षाबासका समयमा बौद्धमार्गीहरु आफूले ९ महिनामा गरेका गल्ती, कमी–कमजोरीलाई पश्चाताप गर्ने, सर्वसाधारणको घरमा गई भिक्षा मागेर खाने, बौद्ध ध्यान बस्ने, बौद्ध पूजा पाठ गर्ने, जीवजन्तुलाई नकुल्चने जस्ता कर्महरु गर्छन् । ३ महिनासम्म वर्षाबास बसेका बौद्धमार्गीहरुलाई उनका उपासकहरुले वर्षाबासपछि दैनिक उपभोग्य हरेक सामाग्रीहरु दान गर्ने गर्छन् ।
प्राचीन कपिलवस्तु राज्य अन्तरतको पुरातात्विक स्थल पनि हो कुदान । करिब ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । चिनियाँ यात्री फायहन र ह्बेयसानका अनुसार बुद्धले ज्ञान प्राप्त गरेपछि कुदानमा राजा शुद्धोधनलाई दर्शन दिई यशोधरा, प्रजापति र राहुललगायत करिब ५ सयलाई बौद्ध संघमा सामेल गराइएको पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ । त्यस्तै देबदत्त र सिद्धार्थबीच हाँसको विषयलाई लिएर बिबाद हुँदा यसै स्थानमा न्याय दिइएको बौद्धकालीन इतिहासमा उल्लेख गरिएको छ ।
यति ठूलो धार्मिक महत्व भए पनि यहाँ रहेको ठूलो भग्नाअवेशष उचित संरक्षणको अभावमा छ । भग्नावशेषहरुमा भएका पुराना तथा कलात्मक बस्तुहरु घामपानीका कारण हराउने गरेको गुनासाहरु आइरहन्छन् । तर कोषाध्यक्ष भट्टराई विकास कोषले संरक्षणमा विशेष ध्यान दिएको बताउँछन् । कुदान क्षेत्रमा ऐतिहासिक पोखरी पनि छ । यसको संरक्षण पनि गर्न जरुरी रहेको स्थानीय बताउँछन् । यसको राम्रो संरक्षण गर्ने हो भने प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ । लुम्बिनीसँगै यी क्षेत्रको पनि विकास गर्न जरुरी रहेको स्थानीय बताउँछन् ।