
बुटवल । आफ्नै दाजुले भाईको अंश खान जीवित व्यक्तिको मृत्यु दर्ता भएको घटना रुपन्देहीको तिलोत्तमामा सार्वजनिक भएको छ । तिलोत्तमा नगरपालिका–४ का ईन्द्रकुमार कंडेलले भाइ बेदुरामको मृत्यु भएको भनी किर्ते सरजमिन गराई करोडौं मूल्यको जग्गा कुम्लाउने खेलमा लागेको पाइएको हो ।
तिलोत्तमा नगरपालिका–४ को पूर्ववर्ती वडा सरकारले वेदुराम कँडेललाई दाजु इन्द्रकुमारको सिफारिसमा मृत्यु प्रमाणित गरेको छ ।
ईन्द्रकुमारले १५ भदौ ०७८ मा भाईको मृत्यु भएको भन्दै मृत्यु दर्ता प्रमाणपत्रका लागि निवेदन पेश गरेका थिए ।
ईन्द्रकुमारले सैनामैना नगरपालिकाका पूर्णचन्द्र बस्याल, रीमा बस्याल, अजयकुमार न्यौपाने र धनीश्वरा न्यौपानेलाई साक्षी राखेर वडामा निवेदन दिएका थिए ।
चार जनाको सनाखत लिएर इन्द्रकुमार वडा कार्यालयमा भाइको मृत्यु दर्ताको प्रमाणपत्र लिन आएपछि आफुले मृत्यु दर्ताको प्रमाणपत्र दिएको वडाका वडा सचिव काशीराज ज्ञवालीले बताए ।
स्वर्गीय पिता बलिभद्र कँडेलको नामको जग्गामध्ये बलिभद्रका चार भाइ छोरा र श्रीमतीको नाममा अंश लगाइसकिएको थियो । त्यसमध्ये कान्छो छोरा वेदुरामबाहेकले अंश लिइसकेका थिए । वेदुराम भारतमा रोजगारीमा थिए ।
त्यही मौका छोपेर उनी हकदाबी गर्न आउनुपूर्व नै तिलोत्तमा–४ को तत्कालीन वडा सरकारले जीवित वेदुरामलाई मृत्यु भएको प्रमाणपत्र दिलाएको हो ।
अर्को गजबको कुरा जीवित वेदुरामलाई मृतक मात्रै बनाइएको छैन, तीन भाइ छोरासँगै रहेकी वृद्ध आमालाई दोस्रो विवाह गरी गएको भन्दै चरित्र हत्या समेत गरिएको छ ।
उता वेदुराम श्रीमतीसहित २ सन्तानका बुवा बनिसकेकालाई विवाह नै नगरेको झुटो विवरण पेस गरिएको छ । यसले के पुष्टि गर्छ भने नियोजित रूपमा वेदुराम उनकी आमा, श्रीमती र छोराछोरीहरूलाई अंशविहिन पारेर उनको हकदावी लाग्ने ३ कठा क्षेत्रफलको ३ करोड बढी मूल्यको जमिन गिरोहले कुम्ल्याउन सफल भएको देखिन्छ ।
अहिले बेदुराम जिल्ला प्रशासन कार्याल रुपन्देहीमा मृत्यु दर्ताको प्रमाणपत्र बदरका लागि निवेदन दिएका छन् । प्रशासनमा निवेदन परे संगै किर्ते कागजपत्र पेश गरेर मृत्यु दर्ता प्रमाणपत्र बनाउने बेदुरामका दाजु ईन्द्रकुमारलाई जिलला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा त्यस वडाका तत्कालिन वडाध्यक्ष दिवाकर ढकालले सैनामैना–१ का ५ जनालाई सरजिमिन गराउँदा वेदुरामको मृत्यु भएको भन्ने बुझिएपछि सोही आधारमा मृत्यु दर्ताको प्रमाणपत्र जारी गरिएको बताए ।
बलिभद्रको नाममा रहेको तिलोत्तमा ४ को कित्ता नम्बर ३८८ र २९४ कित्ता नम्बरबाट ३९८७ कित्ता नम्बरमा ७ धुर, ३८९३ कित्ता नं काे २ कट्टा १३ धुर कायम गरिएको देखिन्छ । त्यस्तै, कि नं ३८९३ बाट पुनः साढे ५ धुर जग्गा ४१४३ कित्ता नम्बरमा कित्ताकाट भई गएको मालपोत कार्यालयको विवरणमा देखिन्छ ।