
बुटवल । नागरिकता सम्बन्धी नयां ऐन अनुसार जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहेको छ ।
यो प्रावधानअनुसार लुम्बिनी प्रदेशका १२ जिल्ला मध्ये सबैभन्दा बढी रुपन्देही जिल्लामा नागरिकता वितरण भएको छ ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार रुपन्देहीमा हालसम्म एक हजार ८२५ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएका छन ।
रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगांवावाट नागरिकता दिने काम भइरहेको छ ।
लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा भने अहिलेसम्म जन्मसिद्धका सन्तानका आधारमा नागरिकता कसैले पनि लिएका छैनन । उक्त ऐन अनुसार असार १० गतेबाट नागरिकता वितरण थालिएको हो ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये रुकुम पूर्व, प्युठान र रोल्पा जिल्लामा जन्मसिद्धका सन्तानका आधारमा कसैले पनि नागरिकता लिएका छैनन । रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरले नयां प्रावधान अनुसार कसैलाई पनि नागरिकता प्रदान नगरिएको बताए ।
उनले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिन २ जना आए पनि प्रक्रिया नपुगेका कारण उनीहरुलाई प्रक्रिया पु¥याएर आउन आग्रह गरिएको बताए ।
यस्तै प्युठान जिल्लामा अहिलेसम्म कसैले पनि नयां प्रावधान अनुसार नागरिकता लिन नआएको प्रशासकीय अधिकृत मेघराज सैनीले बताए । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले पनि जिल्लामा अहिलेसम्म नयां प्रावधानमा टेकेर नागरिकता लिन कोही नआएको बताए ।
बर्दिया जिल्लामा एक हजार २०८ जनाले जन्मसिद्ध नेपाली नागरिकका सन्तानका आधारमा नागरिकता लिएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले जानकारी दिए ।
बांके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माका अनुसार अहिलेसम्म एक हजार ११४ जनाले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिएका छन् ।
नवलपरासीमा एक हजार ५५, कपिलबस्तुबाट ७७३, दाङ बाट ३६ पाल्पाबाट ३ गुल्मीबाट ४ र अर्घाखांचीमा १ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएको बताइएको छ ।