तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

खाजा पसलबाट सुरू गरेका थिए, अहिले बनाए साढे २ अर्बको पाँचतारे होटल

कैलालीको टिकापुरमा सामान्य खाजा पसलबाट व्यवसायिक यात्रा सुरुवात गरेका चिन्तामणी न्यौपाने ‘लक्ष्मण’ साढे दुई दशकमा पाँचतारे होटलको मालिक बनेका छन् । यो बीचमा उनी आफूमात्रै व्यवसायी बनेनन् धेरैलाई व्यवसायमा जोडे र रोजगारी पनि उसैगरी दिलाए ।

२०५४ माघ २३ गते टीकापुरमा खाजा पसल सुरु गरेका न्यौपानेले आफ्नो व्यवसायलाई निरन्तरता मात्रै दिएनन् र क्रमशः अन्य साथीहरुलाई पनि संलग्न गराउँदै संस्थागत बनाउँदै गए । अहिले उनले सिद्धार्थ बिजनेस ग्रप अफ हस्पिटालिटी प्रालि बनाएका छन् र आफू त्यसको नेतृत्व गर्दै अध्यक्ष बनेका छन् ।

उनकै अगुवाईमा करिब साढे २ अर्ब लगानीमा रूपन्देहीको भैरहवामा पाँचतारे होटल निर्माण भएको छ । होटल सिद्धार्थ भिलासा औपचारिक रूपमा सञ्चालन आएको छ । भैरहवा अञ्चलपुर प्रहरी चेकपोस्टदेखि दुई सय मिटर पश्चिमतिर मायादेवी गाउँपालिका वडा नम्बर ८ मा रहेको यो होटल चार विघा क्षेत्रफलमा फैलिएको छ । होटलमा डिलक्स, एक्जुकेटिभ स्विट, स्विट र प्रेसिडेन्ट स्विट गरी चार स्तरमा वर्गीकरण गरिएका ८५ वटा कोठा छन् ।

सुरूमा दुई वर्षमै निर्माण सक्ने र एक अर्ब रूपैयाँ बढी लागत अनुमान थियो । कोरोना महामारीका कारण योजनाअनुसार काम भएन । ढिलाइ, निर्माण सामग्रीको मूल्यवृद्धि तथा पूर्वाधार पनि थपिँदै जाँदा लागत बढेको न्यौपानेले बताए ।

भैरहवाको डिलक्स पाँचतारे होटल ग्रुपकै ‘ड्रिम प्रोजेक्ट’ का रूपमा रहेको उनको भनाइ छ । ‘यो मेरो सपना थियो, लामो यात्रामा सामान्य खाजा पसलदेखि सुरु भएको आतिथ्य सेवा पाँचतारेसम्म पुगेको छ, यो भन्दा खुसीको क्षण एक व्यवसायीलाई के हुनसक्छ ?’– न्यौपानेले भने ।
भैरहवाको पाँचतारे होटलमा समूहको आफ्नै लगानी छ । होटलमा डिलक्स एक्जुकेटिभ स्वीट,प्रेसिडेन्टियल स्वीट, स्वीट र ७२ वटा डिलक्ससहित चार स्तरका ८५ कोठा पहिलो चरणमा बनेका छन् ।

होटलमा क्यासिनो, नेपालकै ठूला सभा हल,३ वटा सेमिनार हल, लबी लाउञ्ज,अल डे डाइनिङ,रुफ टप रेष्टुरेन्ट,स्वीमिङ पुल,फिटनेस, जिम हल,स्पा,सहितको हेल्थ क्लब,लङ टेनिस कोर्टसहितका पूर्वाधार रहेका ग्रुपका सीईओ कृष्ण न्यौपानेले जानकारी दिए ।

क्यासिनोकै लागि मात्र १७ हजार वर्गफिट क्षेत्रफल प्रयोग गरिएको र सभा हल १२ सय जना क्षमताको रहेका उनले बताए । हाल पांचतारे होटल सफ्ट लञ्च भएको आगामी असोजमा ग्राण्ड ओपेनिङ सहित पूर्णरुपमा सञ्चालनमा आउने न्यौपानेले बताए । बुद्ध जन्मस्थल लुम्बिनी, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र भारतीय पर्यटकलाई मध्यनजर गरेर पांच तारे होटेलमा लगानी गरिएको न्यौपानेले बताए ।

होटेलभित्रका सबै संरचनाहरुमा बुद्धको जीवनीसंग सम्बन्धित र बुद्धत्व झल्किने नामाकरण गरिएको उनले बताए । सिद्धार्थ ग्रुपले छिटै चितवनको सौराहामा सिद्धार्थ भिलासाको दोस्रो शाखा सञ्चालनमा ल्याउने उनले बताए । त्यसपछि सिद्धार्थ बैभव र सिद्धार्थ बाटिका गरी तीन स्तरका लक्जरी होटेलहरु सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।

रेष्टुरेन्टतर्फ सिद्धार्थ कटेजलाई ब्राण्डिङ र विस्तार गर्ने र कर्मचारी समेतको लगानीको एस क्याफेहरु सञ्चालन गर्ने न्यौपानेले बताए । ‘ट्रेडिङतर्फ सिद्धार्थ हस्पिटालिटी मार्ट र आइटीतर्फ सर्व टेक्नोलोजी, कृषि उत्पादनतर्फ बायोटिका, इन्स्टिच्युटतर्फ सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटी ब्रान्ड नाममा सेवा प्रवाह तथा वस्तु उत्पादन गर्दै आएका छौं’ न्यौपानेले भने ।

सञ्चालक योगराज कंडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र बृद्धि गर्न भारतसंगको हवाई रुट प्राप्तिमा सरकारले भारत सरकारसंग निरन्तर पहल गर्नुपर्ने माग गरे ।

ग्रुपले आईटी, कृषि क्षेत्र र हस्पिटालिटी शिक्षा क्षेत्रमा समेत लगानी गरेर व्यवसायलाई विस्तार गरिरहेको बताए । सिद्धार्थ भिलासामा ३ सय जनासहित ग्रपले हालसम्म १६ सय जनालाई रोजगारी दिएको छ ।

समूहले हस्पिटालिटी क्षेत्रको २५ वर्षे व्यवसायिक यात्रामा पाँचतारे होटल भने पहिलोपटक सञ्चालन गरेको हो । बाह्य पर्यटक लक्षित तीनतारे र चारतारे होटल भने यसअघिदेखि नै सञ्चालन गरिरहेको छ । कटेज तथा रेस्टुरेन्ट व्यवसायबाट यात्रा विस्तार गरेको समूहले बुटवलमा सिद्धार्थ कटेज तथा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ ।

समूहले हस्पिटालिटीसँगै विभिन्न सेवा तथा उत्पादनको क्षेत्रमा पनि लगानी गरिरहेको छ । ग्रुपले कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको छ । आफ्नै लगानी र व्यवस्थापनमा कर्णालीको चिसापानी, नेपालगन्जको धम्बोजी र कारकाँदो, रुपन्देहीको बुटवल र भैरहवा, सुर्खेत, चितवनको चुम्लिङटार, काठमाण्डौंको सुन्धारा, तिनकुने, पुरानो बानेश्वर, बौद्ध, ललितपुरको धोविघाटमा होटल तथा रेष्टुरेन्ट संचालन छन् ।

त्यसैगरी विभिन्न ६ ठाउँमा एसक्याफे, महेन्द्रनगर, लमही, चन्द्रौटा, नुवाकोट, बिर्तामोडमा व्यवस्थापन साझेदारी होटल संचालनमा चलेका छन् । यस्तै जुम्लाको ताम्रा, इलामको कन्याम चियाबगान, काभ्रेको धुलिखेल, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना रहेको संचालकहरुको भनाइ छ ।

नेपाल प्रेसबाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित