युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

प्रदेशसभा सांसद र पदाधिकारीको गाडीमा अचाक्ली खर्च, वर्षमै ५ लाखमाथिको बिल

सामान्य अवस्थामा चार पाङ्ग्रे सवारी साधनको एक वर्षको मर्मत खर्च कति आउला ? तपाईं/हामीलाई लाग्छ– ५०/६० हजार रुपैयाँसम्म ।

तर, लुम्बिनी प्रदेशसभाका पदाधिकारी, संसदीय समितिका सभापति, दलका नेता र प्रमुख सचेतक चढ्ने एउटै गाडी मर्मत/सम्भारमा हरेक वर्ष ५ लाख रुपैयाँभन्दा बढीसम्म खर्च हुने गरेको देखिएको छ ।

कर्मचारी, जनप्रतिनिधि र मर्मत केन्द्रसँगको मिलेमतोमा हरेक वर्ष राज्यको ढुकुटीबाट सवारी मर्मतमा अचाक्ली खर्च हुँदै आएको पाइएको हो ।

यसले प्रदेशको खर्चमा भार पर्नुका साथै प्रदेशप्रति नागरिकमा अविश्वास बढाउँदै लगेको छ । केन्द्र सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने भन्दै केन्द्रदेखि प्रदेशसभासम्म सांसदका सचिवालय सुविधा खारेज गरेको छ ।

कसको सवारी मर्मतमा कति खर्च?

एकैजना पदाधिकारीको सवारी मर्मत खर्च ५ लाख भन्दा माथि छ ।

लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्तीमगरले दुईवटा सवारी प्रयोग गर्ने गरेका छन् ।

घर्ती मगरले बा १ झ ९७२९ नम्बरको गाडी मर्मतमा ४ लाख ६९ हजार रुपैयाँ र अर्को प्रदेश ०३–०१–००२ झ ५२४४ नम्बरको गाडी मर्मतमा ८० हजार १८३ रुपैयाँ खर्च भएको बिल प्रदेशसभामा बुझाएका छन् ।

सभामुखको सचिवालयमा प्रयोग भइरहेको बा २ झ २२८४ नम्बरको गाडी मर्मतमा ६९ हजार ४५२ रुपैयाँ खर्च भएको छ ।

भौतिक पूर्वाधार तथा विकास समितिका सभापति रामजीप्रसाद घिमिरे चढ्ने बीएए १३०६ नम्बरको गाडी मर्मतमा ५ लाख ३७ हजार ६३२ रुपैयाँ खर्च भएको छ ।

प्रदेशसभा सार्वजनिक लेखा समितिकी सभापति माया पुन चढ्ने गाडीको मर्मत खर्च पनि ५ लाखभन्दा बढी छ । पुनले प्रयोग गरेको बीएए १३०३ नम्बरको गाडी मर्मतमा ५ लाख १ हजार ६९२ खर्च उठेको छ ।

अझै प्रदेशसभाका पदाधिकारीले प्रयोग नगरी फिर्ता गरेको बीएए १३०१ नम्बरको गाडीको मर्मत खर्च ६ लाख १६ हजार ३३६ रुपैयाँ रहेको देखिन्छ । यो गाडी पूर्व सभामुख पूर्णबहादुर घर्ती मगरले फिर्ता गरेका थिए ।

कृषि वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठक चढ्ने बीएए १३०० नम्बरको गाडी मर्मतमा ४ लाख २६ हजार २४४ रुपैयाँ, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री जोखबहादुर महरा चढ्ने लु १ झ ६७९ नम्बरको गाडी मर्मतमा १ लाख ६ हजार ५६ रुपैयाँ खर्च भएको छ ।

कांग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी चढ्ने गरेको लु १ झ ६८६ नम्बरको गाडी मर्मतमा २ लाख १९ हजार ६४९ रुपैयाँ, विशेषाधिकार समितिका सभापति गिरिधारीलाल न्यौपाने चढ्ने बीएए १२९७ नम्बरको गाडी मर्मतमा १ लाख ५९ हजार ७६८ रुपैयाँ खर्च भएको छ ।

यस्तै, प्रदेश मामिला तथा कानून समितिकी सभापति दिलकुमारी बुढा चढ्ने बीएए १२९८ नम्बरको गाडी मर्मतमा ३ लाख १० हजार ४०४ रुपैयाँ खर्च उठेको छ ।

सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली चढ्ने लु १ झ ४५७ नम्बरको गाडी मर्मतमा ३ लाख ६० हजार ३६३ रुपैयाँ, अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ चढ्ने बीएए १३०२ नम्बरको गाडी मर्मतमा १ लाख ६९ हजार ६८५ रुपैयाँ खर्च भएको छ ।

यस्तै, माओवादी प्रमुख सचेतक इन्द्रजीत थारू चढ्ने बीएए १२९६ नम्बरको गाडी मर्मतमा ३ लाख १ हजार ४५५, प्रमुख सचेतक जमुना ढकाल चढ्ने बीएए १३०५ नम्बरको गाडी मर्मतमा ३ लाख २४ हजार १९६, एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी चढ्ने बीएए १२९९ नम्बरको गाडी मर्मतमा १ लाख १४ हजार ७५० खर्च भएको छ ।

यसैगरी, उपसभामुख मेनका खाँण चढ्ने लु १ झ ७५३ नम्बरको गाडी मर्मतमा ४८ हजार ४४१ रुपैयाँ, प्रदेशसभा सचिवालयको प्रयोजनमा रहेको बा १ झ ६७५७ नम्बरको गाडी मर्मतमा १ लाख ५१ हजार ९८३, सचिवालयकै बीएए १३०७ नम्बरको गाडीमा २ लाख १३ हजार ६९१ तथा बीएए १३०८ नम्बरको गाडीमा २ लाख ८६ हजार ५८४ रुपैयाँ खर्च भएको छ ।

गाडी मर्मतमै हरेक वर्ष आधा करोड बढी खर्च !

प्रदेशसभा सचिवालयसँग २० वटा ४ पाङ्ग्रे सवारी साधन छन् । यी सवारी मर्मतमा आधा करोडभन्दा बढी खर्च उठ्दै आएको छ । प्रदेशसभा सचिवालयका अनुसार ती २० वटा सवारी साधनको मर्मतमा मात्रै आर्थिक वर्ष २०८१/८२ मा ५२ लाख ८३ हजार ८६९ रुपैयाँ खर्च भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । यो गत वर्षभन्दा १३ लाख रुपैयाँले बढी हो ।

आर्थिक वर्ष २०८०/०८१ मा गाडी मर्मतका नाममा ३९ लाख ३३ हजार ७७१ रुपैयाँ खर्च गरेको थियो । प्रदेशसभाले सभामुख, उपसभामुख, संसदीय समितिका सभापति, संसदीय दलका नेता, प्रमुख सचेतकहरूलाई सवारी सुविधा प्रदान गर्छ । प्रदेशसभाका गाडी बुटवल र दाङको भालुवाङका दुईवटा ग्यारेजमा मर्मत गर्ने गरिन्छ ।

प्रदेशसभाको पहिलो कार्यकालमा खरिद गरिएका यी गाडीहरू बजार मूल्यभन्दा बढी भएको तत्कालीन सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीको समितिले ठहर गरेको थियो ।

गाडी पुराना हुँदै जाँदा मर्मत खर्च बढी !

लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभकुमार पुन मगरले गाडी पुराना हुँदै जाँदा खर्च बढी उठ्ने गरेको दाबी गरे ।

‘माननीयज्यूहरू प्रदेशका धेरै दुर्गम ठाउँमा पुग्नुपर्ने हुन्छ,’ पुनले भने, ‘गाडी पुराना हुँदै गएपछि छिटोछिटो बिग्रिँदा मर्मत खर्च बढी उठेको होला । अन्य कारणले बढी खर्च भएको भन्ने होइन ।’

प्रदेश मामिला तथा कानून समितिकी सभापति दिलकुमारी बुढाले गाडी पुराना भएर यात्रामा आफूले हैरानी भोग्दै आएको बताइन् ।

‘म रुकुमपूर्वकी हुँ । म धेरै अफरोड हिँड्नुपर्छ’ बुढाले भनिन्, ‘पहाडतर्फ जाँदा गाडी बिग्रिएर कति दुःख पाउने गरेकी छु । एकपटक लामो बाटो हिँड्यो भने गाडी बिग्रिन्छ, जसले गर्दा समयमा कार्यक्रममा नपुगेका घटना कति छन् ।’

गाडी मर्मतमा धेरै खर्च गरेको भन्ने कुरा सही नभएको सभापति बुढाको दाबी छ ।

प्रदेशसभा र सरकारको बढ्दो खर्चका गतिविधिले नागरिकमा प्रदेश संरचनाप्रति वितृष्णा बढ्दै गएको पारदर्शी सरोकार समूह रुपन्देहीका पूर्व अध्यक्ष अधिवक्ता महेन्द्रप्रसाद पाण्डे बताउँछन् ।

सांसदहरूले जनताप्रतिको दायित्व बुझ्नुपर्ने र सरकारले कस्नु आवश्यक रहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित