
बिहीबार रातिदेखि परेको पानीको कारण दाउन्ने सडक खण्ड पूर्ण अवरुद्ध भएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक अवरुद्ध बनेको हो ।
बर्दघाट बजार देखी करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ८ मिटर सडक भस्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको अस्थायी ट्राफिक प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी नायव निरीक्षक तिर्थराज भुसालले जानकारी दिए ।
खोर्सानी खोलामा आएको बाढीको कारण पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको तरकारी बोकेको लु३ च ८४९३ नम्बरको बलेरो जिप समेत बगाएको छ ।
जिप बगाए पनि कुनै पनि मानवीय क्षति भने नभएको भुसालले जानकारी दिए । शुक्रबार राती करिब २ बजेबाट अवरुद्ध सडक बिहान सम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
भस्किएको सडक मर्मत गरी सवारी सञ्चालनको कोसिस गरिए पनि सडक पुनः दबिएपछि एकतर्फी सामान्य सञ्चालनमा भएको प्रयास पनि रोकिएको छ । दाउन्ने सडक खण्ड केहिदिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ । गए राती देखी नै सडक अवरुद्ध हुँदा यो सडक हुँदै सञ्चालन हुने सवारीहरू रोकिएका छन् । अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकिएका छन् । सोही स्थानमा गत शुक्रबार समेत सडक भासिए पछि पूर्ण रूपमा अवरुद्ध बनेको सडक करिब ११ घण्टापछि सवारी सञ्चालनमा आएको थियो