तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दसैं बिदामा लुम्बिनी भ्रमणको योजना छ? यी हुन् घुम्नलायक शान्त ठाउँ

लुम्बिनी– बडादसैं तथा तिहारको बिदामा कतै घुम्न जाने सोच बनाउनुभएको छ? यदि छ भने पर्यटकीय स्थल लुम्बिनी उत्तम विकल्प हो।
शान्त र हराभरा लुम्बिनी पुग्नका लागि चारैतिरबाट यातायातको सहज सुविधा छ भने काठमाडौं र पोखराबाट आउन चाहनेका लागि हवाई यात्राको सुविधासमेत छ। लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पर्यटक आउने पर्यटकीय गन्तव्य लुम्बिनीमा सपरिवारसहित दसैं तथा तिहारको बिदा घुमेर बिताउन सकिन्छ।

वर्षभरि कामको तनावमा समय व्यतित गरेकाहरुलाई फ्रेस हुने गतिलो गन्तव्य हो लुम्बिनी। जहाँ शान्तिको अनुभूति गर्न सकिन्छ। वर्ष दिनको तनाव छिनमै कम गर्न सकिन्छ लुम्बिनीमा। प्रत्येक वर्ष झन्डै १४ लाखको हाराहारीमा लुम्बिनी आउने पर्यटक अर्को पटक पनि लुम्बिनी आउन ललायित हुँदै फर्कन्छन्। लुम्बिनी आउने पर्यटक घुम्नुका साथै चराचुरुंगीको आवाजसँग रमाउन पाउँछन् भने कतिपय शान्त वातावरणमा अध्ययनसमेत गर्न सक्छन्।

शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी चालीसको दशकताका खासै चर्चामा थिएन। पचासको दशकबाट चर्चामा आउन थालेको लुम्बिनी बौद्धमार्गी मात्र होइन, अहिले शान्तिकामी स्वदेशी तथा विदेशी पर्यटकहरुको मनमा बसेको छ।

शान्त वातावरणमा रमाउन चाहने पर्यटकका लागि यो निकै उपयुक्त स्थल हो। परिवार वा साथीभाइको साथ लुम्बिनी घुम्न आएमा यहाँ दिन बितेको थाहै हुँदैन। यहाँ बर्सेनि लाखौंको संख्यामा तीर्थालु, पर्यटक तथा अध्येताहरु आउँछन्। विश्वभरका बौद्ध धर्मावलम्बीहरुका लागि लुम्बिनी महत्वपूर्ण तीर्थस्थल हो।

इपू ५४४ तिर यहाँको सुन्दर बगैंचामा मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको थियो। उनी जन्मिनेबित्तिकै सात पाइला हिँडेको किंवदन्ती छ। लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत छ। लुम्बिनीको मुख्य आकर्षण केन्द्रविन्दु भनेको मायादेवी मन्दिर हो। बुद्धको जन्म श्यसहितको प्राचीन मायादेवी मूर्ति मायादेवी मन्दिरभित्र अवस्थित छ। मायादेवी मन्दिरभित्र रहेको मार्करस्टोन हेर्नका लागि पनि आम मानिसको घुइँचो लाग्ने गरेको छ।

मायादेवी मन्दिर परिसरमा अशोक स्तम्भ र पवित्र पोखरी रहेको छ। अशोकले स्थापना गरेको अशोक स्तम्भमा कुँदिएका शिलालेखले गौतम बुद्धको जन्म लुम्बिनीमा भएको प्रमाण दिन्छ। त्यस्तै मन्दिर परिसरमा बाहिर उत्तर दिशातर्फ शान्तिदीप छ, जुन २४ घन्टा नै बलिरहन्छ। अद्भुत मानिएको यो दीप पानी पर्दासमेत निभ्दैन। दीपसँगै रहेको नहरमा लुम्बिनीमा आउने पर्यटकहरु डुंगा चढेर पनि रमाउने गर्छन्।

लुम्बिनी गुरुयोजना अन्तर्गत लुम्बिनीलाई सौन्दर्य दिनका लागि करिब एक किलोमिटर दुरीसम्म बनाइएको नहरमा डुंगा चल्ने गर्दछ। यहाँ आउने पर्यटकलाई लुम्बिनी घुमेर मात्र पुग्दैन। पर्यटकहरु बुद्धसँग सम्बन्धित लुम्बिनी वरिपरिका क्षेत्र घुम्न पनि उत्तिकै महत्वपूर्ण ठान्छन्।

कसरी पुग्ने लुम्बिनी? 
बुद्ध जन्मस्थल लुम्बिनी प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीको सदरमुकाम भैरहवाबाट २२ किलोमिटर पश्चिममा पर्दछ। भैरहवा बुद्धचोकबाट सार्वजनिक बस तथा ट्याक्सी गरेर लुम्बिनी पुग्न सकिन्छ। काठमाडौं तथा पोखराबाट स्तरीय बस चढेर लुम्बिनी पुग्न सकिन्छ। लुम्बिनी पुग्ने पर्यटकले पेडल रिक्सा तथा अन्य सवारी साधन चढेर घुम्न पाउँछन्।

तिलौराकोट
पहिलो दिन लुम्बिनी घुमेपछि दोस्रो दिन बुद्धले आफ्नो जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तु जिल्लाको तिलौराकोट घुम्न सकिन्छ। जहाँ बुद्धले ज्ञान प्राप्त गरी कपिलवस्तु आउँदा पहिलोपटक आफ्ना बुबा शुद्धोधनलाई भेटेका थिए।

लुम्बिनीबाट तिलौराकोट जानका लागि सार्वजनिक यातायातको व्यवस्था छ। कपिलवस्तु पुगेपछि बुद्धसँग सम्बन्धित स्थल गोटिहवा, सग्रहवा, निग्लिहवा, अरौराकोट र सिसहनिया पनि घुम्न सकिन्छ। बुद्धसँग सम्बन्धित ती क्षेत्रमा घुम्नका लागि आम पर्यटकहरु पनि ती ठाँउमा पुग्ने गर्दछन्।

देवदह
तेस्रो दिन रुपन्देहीको देवदह र नवलपरासीको रामग्राम घुम्न सकिन्छ। यो बुद्धको आमा मायादेवीको माइतीको रुपमा चिनिन्छ। बुद्धत्व प्राप्तिको सात वर्षपछि गौतम बुद्ध देवदह आएका थिए। देवदह वरिपरि अन्य पुरातात्विक स्थलहरु रहेका छन्।

रामग्राम
नवलपरासीको रामग्राममा रहेको सात मिटर अग्लो स्तूपमा बुद्धको अस्तु रहेको छ। झराही खोलाको किनारमा अवस्थित रामग्राम स्तुप इँटाद्वारा निर्माण गरिएको छ। यो स्थल नवलपरासीको सदरमुकाम परासीदेखि ४ किलोमिटर दक्षिणपूर्वमा पर्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित