व्यावसायिक बाख्रापालन गर्ने किसान प्रेमसागर पौडेलले सार्वजनिक कार्यक्रममै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरलाई ‘मैले खुकुरी बोकेको छैन, चप्पल खोलेर भर्खर हान्न सक्छु’ भनेर थर्काएका छन्।
आइतबार लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालय अन्तर्गतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजनामा आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम थियो।
कार्यक्रमका प्रमुख अतिथि थिए, कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिर। कार्यक्रमको सुरुमा निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेश सिह कुँवरले ४ करोड ९८ लाख, ६१ हजार रूपैयाँ बराबरको कार्यक्रम र बजेट प्रस्तुत गरे।
देशमा अति भयो। मैले खुकुरी बोकेको छैन। चप्पल खोलेर भर्खर हान्न सक्छु। तपाईंले रोक्न सक्नुहुन्छ?
त्यसपछि केही समस्या राख्न किसानलाई समय दिइयो। बोल्न अगाडि पुगे बाख्रापालक कृषक, महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष प्रेमसागर पौडेल।
पौडेलले सैनामैनामा व्यावसायिक बाख्रापालन गर्छन्। मन्त्रीका अगाडि समस्या राख्न भन्दै पुगेका पौडेलले कसैले पनि किसानको हितमा नीति र कार्यक्रम ल्याउन नसकेको भन्दै गुनासो गरे।
एउटा किसानले १८ घण्टा काम गर्दा १ रूपैयाँ पनि पाउन नसकेको भन्दै उनले राज्यका नीति निर्माताबाट पनि किसानमाथि शोषण भएको बताए।
त्यत्तिकैमा उनले आक्रोशित हुँदै मन्त्रीतर्फ फर्केर भने, ‘देशमा अति भयो। मैले खुकुरी बोकेको छैन। चप्पल खोलेर भर्खर हान्न सक्छु,’ मन्त्रीलाई ईंकित गर्दै उनले थपे, ‘तपाईंले रोक्न सक्नुहुन्छ?’
यसो भनिरहँदा मन्त्री अहिरले मोबाइलमा ध्यान दिएका थिए। उनी नाजवाफ थिए। उनको आक्रोस त्यतिमै रोकिएन।
‘वर्गीय समाजमा राज्य सत्ता बलियो हुन्छ। सबैभन्दा शोषण राजनीतिज्ञले गर्छ। पीडित किसान हुन्छ। सबैभन्दा ठूलो शोषकको प्रतिनिधि मन्त्री हो। हतियार नबोके पनि यो युद्ध हो, मन्त्रीज्यू। तपाईं जुन पार्टीको हुनुहोस्। जति पटक मन्त्री फेरिंदै खानुस्। हामीलाई कुनै गर्व लाग्दैन,’ पौडेलले थपे।
उनले किसानमाथि पटक–पटक धोका भएको भन्दै जायजेथा बिक्री सकेर व्यवसायमा लाग्दा प्रतिफल शून्य भएको बताए।
कार्यक्रममा आक्रोशित मुद्रामा प्रस्तुत भएका पौडेलले मन्त्री अहिरलाई ‘तपाईंलाई म पालिदिन्छु’ भन्न समेत भ्याए।
उनले भने, ‘मन्त्रीज्यू, यो तरिकाले मन्त्री नहुनु। जिउ पाल्न अरू तरिकाले सकिन्छ। मैले ५ सय बाख्रा पालेको छु। आउनु म तपाईंलाई पालिदिन्छु। तर नीति निर्णय गर्ने ठाउँमा बसेर अरुमाथि अन्याय गर्नु भएन।’
पौडेलले मन्त्री गाडीमा किन चढेको होला भनेर आफैंलाई लाज लागेको पनि बताए। उनले राष्ट्रको स्वाधीनता, आत्मनिर्भरता सबै सिद्धाउने पछिल्लो पुस्ता नेता भएको समेत बताए। साथै आफू जस्ता किसानलाई बारम्बार झुक्काएकै कारण मञ्च अगाडि राखेर गीत सुनाउन ल्याएका मन्त्रीलाई झ्याँक्नुपर्ने अवस्था आएको बताए।
‘सरकारी कार्यक्रममा अक्सर मलाई बोलाउँदैनन्। झुक्किएर बोलाउँछन्। किनकि कवाबमा हड्डी हुन्छ। सबैले गीत गाउन ल्याएको मन्त्रीलाई अघि राखेर झ्याँक्नुपर्ने कारण त उहाँले बनाएको हो नि। सबैलाई यसैगरी भनेको छु,’ उनले भने।