

बुटवल । गुल्मीको रेसुङ्गा विमानस्थलबाट हवाइ सेवा सुरु भएपछि यात्रुको चाप बढेको छ ।
नेपाल एयरलाइन्सको १८ सिटे जहाजले हप्तामा एक दिन काठमाडौं–गुल्मी उडान गरिरहेको छ । तर सिट क्षमताको चार गुनासम्म टिकटको माग भएको रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सका स्टेसन प्रमुख सुमन थापाले बताए ।
अहिले सेड्युल अनुसार हप्तामा एउटा मात्र फ्लाइट भएको र थप फ्लाइट गर्न माग गर्दै चारैतिरबाट फोन आइरहेको उनले बताए । उनलेमाग बमोजिम टिकट पुर्याउन नसकेको र अहिलेको प्यासेन्जरको फ्लो अनुसार हप्तामा चार वटा पनि उडान हुन सक्ने देखिएको उनको भनाई छ ।
यात्रुको चाप बढ्न थालेपछि उडान थपेर हप्तामा दुई दिन गरिने तयारी गरिएको छ । अहिलेसम्म रेसुंगा विमानस्थलबाट शुक्रबार मात्र उडान हुंदै आएकोमा अब बुधबार पनि उडान गर्ने निर्णय भएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए ।
काठमाडौंबाट रेसुङ्गा विमानस्थलका लागि बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान हुने र बिहान ७ बजेर ४५ मिनेटमा रेसुङ्गा विमानस्थलबाट काठमाडौं फर्किने समय तालिका रहेको छ ।
गत बैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले रेसुंगा विमानस्थलबाट नियमित उडान सुरु गरेको थियो ।