

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) संचालनमा आउने भएपछि हवाई सेवाका लागि ‘डाइभर्ट डेस्टिनेसन’को विकल्प आएको छ।
अब भारतहुँदै भैरहवा आउने जहाज ८५० मिटर भिजिबिलिटीमै अवतरण हुन सक्नेछन्। भैरहवा र भारतका विभिन्न सहरमा दुईतर्फी उडान सञ्चालन गर्न सहज हुने छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा न्यारोबडी जहाजमार्फत नियमित व्यवसायिक उडान गर्दै आएका फ्लाई दुवई, मालिन्दो, सलाम, हिमालय एयरलाइन्स, नेपाल वायुसेवा निगम लगायतले अब मौसमी प्रतिकुल भए भारत, बंगलादेश जान नपर्ने भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न मौसमी प्रतिकूलता हुँदा लामो समय होल्डमा बसेर जहाज भारत र बंगलादेशतर्फ डाइभर्ट हुँदै आएका थिए। अब वायुसेवा कम्पनीहरुका लागि भैरहवा नै उचित विकल्प रहने विमानस्थल प्रमुख हंसराज पाण्डेले बताए।
‘अन्तर्राष्ट्रिय उडान गर्दा निश्चित विमानस्थल विकल्पमा भैरहवा पनि थियो। अब आइएलएस प्रविधि संचालनमा आउने भएपछि डाइभर्टका लागि थप सहज हुने देखिएको छ,’ प्रमुख पाण्डेले भने,’उडान दुरीको हिसाबले भैरहवा नै उपयुक्त देखिएको छ।’
विमानस्थलमा आरएनपी (रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स) प्रणाली जडान भएका जहाजका लागि सहजै उडान-अवतरण गर्न सक्छन्। अब आरएनपी प्रणाली जडान नभएका जहाजलाई आइएलएस प्रविधिले सहज बनाउने उनले बताए।