१ अर्बको लगानीमा करेन्ट चाउँचाउँको नयाँ उद्योग कपिलबस्तुमा सञ्चालन हुँदै

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा करेन्ट र लाली लगायतका विभिन्न ब्रान्डमा चाउचाउको उत्पादन गर्दै आएको यशोदा फुड्स प्रा.लि.ले कपिलवस्तुको चनौटामा अर्को उद्योग सञ्चालनमा ल्याउने भएको छ ।
करेन्ट ब्रान्डका चाउचाउको माग अत्यधिक हुन थालेपछि यशोदा फुड्सले यही ब्रान्ड उत्पादन गर्न अर्को उद्योगको स्थापना गर्न लागेको हो । यशोदा फुड्सले तिलोत्तमामा उद्योग सञ्चालन गर्न थालेको ६ वर्ष पनि पूरा नहुंदै कपिलवस्तुमा अर्को युनिट थप्ने भएको हो ।
करेन्ट चाउचाउ र यसको हट एन्ड स्पाइसी गरी दुबै ब्रान्डको माग बजारबाट धेरै आइरहेको र त्यसैले अर्को उद्योग ल्याउनु परेको उद्योगका सञ्चालक चुन्नुप्रसाद पौडेलले बताए ।
उनले यशोदा फुड्सले करेन्ट ब्रान्डमा गुन्द्रुक र सिन्कीको स्वाद तथा सुगन्धमा पनि चाउचाउ उत्पादन गरिरहेको र बजारमा यसको माग पनि अत्यधिक भएको दाबी गरे । उनले करेन्ट ब्रान्डका चाउचाउको माग भारतीय बजारमा पनि राम्रो भएकाले नियमित रूपमा निर्यात भइरहेको बताए । सञ्चालक पौडेलले चनौटामा ४ बिघा जमिन खरिद गरेर यशोदा फुड्सले २०७९ माघ देखि पूर्वाधार निर्माणको काम गरिरहेको जानकारी दिए ।
पौडेलले आगामी सन २०२४ देखि नयां उद्योगबाट उत्पादन सुरु हुने बताए । यसका लागि चीनबाट चाउचाउका मेसिन आयात गर्ने काम भइरहेको छ । तिलोत्तमामा भएको उद्योगमा चाउचाउका साथ विभिन्न प्रकारका स्न्याक्सको उत्पादन गरिन्छ । तर चनौटामा भने चाउचाउको मात्र उत्पादन गरिनेछ । उद्योगले वार्षिक साढे १२ हजार टन चाउचाउ उत्पादन गर्नेछ । सञ्चालक पौडेलले उद्योगको स्थिर पुंजी ८४ करोड भएको र चालु पुंजीसहित १ सय करोडभन्दा बढी लगानी हुने देखिएको बताए ।
उनले कपिलवस्तुको नयां प्लान्टमा ३ सय जनाभन्दा बढीले रोजगारी पाउने बताए । कपिलवस्तुको चनौटामा उत्पादन सुरु भएपछि यशोदा फुड्सले कोशी प्रदेशमा चाउचाउकै अर्को युनिट थप्ने लक्ष्य राखेको छ ।

यो पनि

चाउचाउ विदेशमा पनि लोकप्रिय बन्दै, एक वर्षमै १ करोड अमेरिकी डलरको निर्यात

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार