


बुटवल । पश्चिम नेपालकै आर्थिक केन्द्रको रुपमा रहेको बुटवलमा रहेको ‘नेपाली जुत्ता घर’मा उपभोक्ताको चाप बढ्दै गएको छ । देशका प्रतिष्ठित कम्पनीहरुका उत्पादन एकै ठाउँमा पाउने डेल्टा मार्टमा रहेको ‘नेपाली जुत्ता घर’मा सेवाग्राहीको चहलपहलले बजारको आर्थिक चलायमानका लागि टेवा पुग्ने सञ्चालकहरुले अपेक्षा व्यक्त गरेका छन् । नयाँ वर्ष २०८० को पहिलो दिन शुभारम्भ गरिएको जुत्ताघरले हालसम्म उत्साहजनक व्यापार गर्न सफल रहेको सञ्चालकहरु दाबी गर्छन् ।
आर्थिक केन्द्रको रुपमा रहेको बुटवललाई उपभोक्ताका लागि आधुनिक र फरक शैलीमा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको जुत्ताघरमा उपभोक्ताले चाप बढ्दै गएपछि थप नयाँ योजनाहरु समेत ल्याउने सोँचमा रहेको नेपाली जुत्ताघरका सञ्चालक चोला पाठकले बताए । बुटवलको मिलनचोक स्थित मार्टको पहिलो तल्लामा नेपालका ९ प्रतिष्ठित फुट वेयर कम्पनीका उत्पादनहरु राखिएका छन् ।
नेपालका प्रमुख जुत्ता उद्योगहरु एकआसपमा प्रतिस्पर्धा नगरी सहकार्यको थालनीमा अगाडि बढाउँदै उनीहरुले सामूहिक बजार व्यवस्थापनको रणनीति अनुसार जुत्ता घर सञ्चालनमा ल्याएका हुन् । पहिलो अभ्यासका रुपमा नेपाली उत्पादनलाई उपभोक्ता बीच सहज ढंगले पुर्याउन ९ यस्ता उद्योगले बुटवलमा एकै छानामुनि नेपाली जुत्ता घर संचालनमा ल्याएका हुन् ।
ग्राहकको आकर्षण र उत्साहजनक व्यापारले अब विदेशी जुत्ता चप्पल, छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गर्न सकिने आशा पल्हाएको उनले बताए । नेपालका उद्योगहरुले नै गुणस्तरीय उत्पादन गर्न सफल रहेको बताउँदै उनले ती उत्पादनहरुको नक्कल गरेर विदेश बजारबाट आयातित वस्तुबाट ग्राहक ठगिने गरेकोप्रति दुःख व्यक्त गरे ।
जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर लगाएतका जुत्ता चप्पलहरु उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट मार्फत ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध रहेको जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए ।
जुत्ता घरभित्र हाल पवित्र शुज इण्डष्ट्रिज प्रालिको शुल्यान्ड, रन शु इण्डष्ट्रिज प्रालिको रन शुज, बेस फुटवेयर इण्डष्ट्रिज प्रालिको बि एफ डियर हिल, लालिगुरास फुटवेयरको कस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुज इण्डष्ट्रिज प्रालिको बल्याक हर्स, स्मार्ट शुज इण्डष्ट्रिजको स्मार्ट तथा एक्सन शुज इण्डष्ट्रिजको टुरिष्ट तथा शिखर शुज ईण्डष्ट्रिजको शिखरब्राण्डका उत्पादनहरु उपलब्ध रहेका छन् ।
सोमबार जुत्ताघरमा आफ्नो छोराका लागि जुत्ता खरिद गर्न आएकी बुटवलकी सरिता पराजुलीले घरमा रहेकी छोरीलाई समेत जुत्ता किनेर फर्किन लागेको प्रतिक्रिया दिइन । सबै कम्पनीका जुत्ताहरु एउटै छानामुनि पाउँदा बजार–बजार धाउनु पर्ने झन्झट कम भएको उनले उल्लेख गरिन् । आफूले चाहेको र रोजेको कम्पनीका जुत्ता चप्पल किन्न पाउँदा ग्राहकलाई समेत सहज हुने उल्लेख गरिन् ।
यसैगरी बुटवल नयाँ गाउँबाट जुत्ता घर घुम्न आएका सरोज बेलबासेले जुत्ता पारखीका लागि अब बजार चहार्नु पर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरे ।