


आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइएको छ । उष्ण गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । बुटवलको योगिकुटी, बसपार्क, ट्राफिकचोक, पुरानो बसपार्क लगाएतका क्षेत्रमा विभिन्न सामाजिक संघसंस्थाहरुले जौ को सातु र सर्वत पानी सडकमा हिड्ने नागरिकलाई खुवाएका थिए ।
बुटवलको योगिकुटीमा सिद्धेश्वरी मन्दिर तपाह, बरपिपल महिला समुह तिलोत्तमा २ ले पनि सडकमा हिड्नेहरुलाई जौ र सर्वत खुवाएका थिए । बरपिपल महिला समुहकी अध्यक्ष कमला पोखरेल आचार्यले अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुने विश्वासका साथ अक्षय तृतीयामा जौ र सर्वत सडकमा हिड्नेहरुलाई खुवाएको बताईन ।
पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमकाअनुसार वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । त्यसैले यस दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।