तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धबाबा सुरुङ मार्गको प्रतिवेदन स्विजरल्यान्डमा !

बुटवल–तानसेन सडकखण्डअन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको निर्माण ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पेस गरेको डिजाइनको प्रतिवेदनमाथि अहिले विदेशमा अध्ययन भइरहेको छ ।

चाइना कम्पनीले पेस गरेका अरू धेरै अध्ययन प्रतिवेदन नेपाल सरकारका इन्जिनियरहरूले अध्ययन गरेसँगै स्विजरल्यान्डबाट आएको प्राविधिक टोलीले लगेको छ । ठेक्का पाएको नौ महिनाभित्र डिजाइन पेस गर्ने सम्झौता थियो । सोहीअनुसार डिजाइन पेस गरेको नेपाली विज्ञतर्फ हर्ने काम सकिएसँगै अहिले स्विजरल्यान्डबाट आएको प्राविधिक टोलीले आफ्नै देशमा लगेर अध्ययन गर्न थालेको हो ।

सिद्धबाबा सुरुङमार्ग निर्माण परियोजनाका प्रमुख एवं इन्जिनियर होमबहादुर एसीले यो डिजाइनको प्रतिवेदन हामीले मात्र हेरेर नहुने भएकाले स्विजरल्यान्डबाट आएको टोलीले पनि लगेको बताए । “उनीहरू आएर केही दिन मन्त्रालय बसेर प्रतिवेदन लगेका छन्,” उनले भने, “छिट्टै फिर्ता गर्ने हामीलाई जानकारी दिएका छन् ।” उनीहरूले अध्ययन गरे पनि केही सच्याए आएमा त्यसअनुसार जाने गरी परियोजनाको काम आगडि बढ्नेछ ।

एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु गरेर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसका लागि ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले आफ्नो डिजाइन तोकिएको समयमै पेस गर्नुका साथै अन्य साइटका काम पनि धमाधम गरेको निर्माण व्यवसायीतर्फका इन्जिनियर क्षितिज खनालले बताए ।

अहिले निर्माण क्षेत्र दोभानमा कार्यालय स्थापना, बुटवलको गोलपार्कबाट ११ केभीको विद्युत् लैजाने काम, ल्याबका लागि पाल्पाबाट विद्युत् ल्याउने, परियोजनामा आगलागी नियन्त्रण गर्नका पानीट्याङ्की निर्माण गर्नेजस्ता काम भएका छन् । कम्पनीले विदेशले डिजाइन दिएपछि थप तीव्रता दिने योजना बनाएको उनले बताए । २०२८ सालदेखि सवारी साधनको आवागमन हुन थालेको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूला दुर्घटना हुनेगरेको छ । यसैले अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरुङ मार्गको टेन्डर खोलेको परियोजनाका प्रमुख एवं इन्जिनियर होमबहादुर एसीले बताए ।

यो परियोजनाको लागत १० अर्ब रुपैयाँ अनुमान लाग्ने गरिएको छ । स्विस सरकारको विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन (जियोलोजिकल सर्भे) गरिएको थियो । सुरुङ मार्ग ५ वर्षभित्र बन्ने गरी ठेक्का प्रदान गरिएको हो । ठेक्का लगाएको १० करिब महिना पूरा भएको छ ।

नेताहरूको पनि उस्तै चासो

रुपन्देही र पाल्पा जिल्लाको सिमानामा पर्ने सिद्धबाबा सडकमा वर्षैभरि पहिरोका त्रास भएपछि जनप्रतिनिधिलाई पनि टाउको दुखाइको विषय बनेको थियो । रुपन्देही, पाल्पा, गुल्मीका केन्द्रीय नेताहरूले सिद्धबाबा सडकको विषयलाई लिएर विभिन्न चासो र पहल गरेका छन् । पछिल्लो सुरुङ मार्ग निमार्णको पहलका लागि अहिलेका अर्थमन्त्री एवं रूपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेल मुख्य भूमिका रहेको मानिन्छ ।

यस्तै पाल्पाका नेता तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, गुल्मीका नेता तथा पूर्वमन्त्री प्रदीप ज्ञवाली, सांसद चन्द्र भण्डारीलगायतले सिद्धबाबाको पहिरो नियन्त्रण गर्नका लागि बेलाबेला पहल र चासो राखेका छन् । कतिपय नेताहरूले निर्वाचन घोषणापत्रमा नै सिद्धबाबाको पहिरो नियन्त्रण गर्ने उल्लेख छन् ।

यो सडकमा पहिरोबाट खासगरी ती नेताका क्षेत्रका बासिन्दा नै घाइते भएका छन् भने धेरै सङ्ख्यामा मृत्यु पनि भएको छ । यही कारण उनीहरू थप चासो बढेको हो ।

अर्कोतिर सिद्धबाबामा पर्ने सबै पीडा पाल्पा दोभानका स्थानीय बासिन्दालाई रहेको छ । किनकि त्यहाँ बासिन्दाको धेरै काम बुटवलबाट हुनेगर्छ । बुटवल आउँदा बाटोमा पर्ने सिद्धबाबा क्षेत्रमा हिउँदबर्खा नै पहिरो र ढुङ्गा खस्ने गर्छ । यस क्षेत्रमा ठूलो त्रास रहेको स्थानीय विष्णुप्रसाद पाण्डेयले बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा सडक खण्डमा पछिल्लो दशकमा ५० जनाभन्दा बढी यात्रुले अकालमा ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीका अनुसार हरेक वर्ष यही खण्डमा ३–४ जना यात्रुले ज्यान गुमाउनुपरेको छ । घाइते हुनेको सङ्ख्या पनि उल्लेख्य छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित