तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दुई वर्षमा बुवा गुमाएका भीम ७८ वर्षीया आमालाई छाडेर गए

गायक भीम पौडेलको नाम नेपाली लाइभ दोहोरीको क्षेत्रमा निक्कै लोकप्रिय थियो। स्याङजाबाट गीत गाउन काठमाडौं आएका भीम केहि समयदेखि गाउँमै गएर बसेका थिए। केही समयबाट डिप्रेसनमा परेका उनको बिहिबार आफ्नै निवासमा मृत्यु भएको छ।

पछिल्लो समय गायन समेत छोडेर बसेका भीमले सानै कुरामा तनाव लिने गरेको कुरा उनको मृत्युपछि उनी निकटका साथीहरुले सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन्।

कामप्रति चासो दिन छोडेका भीमले एक महिनाअघि कृष्ण कँडेलको इन्द्रेणी कार्यक्रममा गएर एउटा गीत रेकर्ड गराएका थिए। भीमको मृत्युको खबरपछि स्याङजा पुगेका कँडेलले दोहोरी क्षेत्रले अर्को क्षमतावान गायक गुमाएको बताए।

भीमका भिनाजु राजन खत्रीले उनी २ महिनादेखि बिरामी परेको बताएका छन्। राजन भन्छन् ‘२ महिनादेखि राम्रोसँग नखाने, एकोहोरो हुने जस्ता उनको त्यो शैलीले परिवार निकै चिन्तित थिए। त्यही लक्षणका कारण उनले आज परिवारलाई चिन्तामै छोडेर गए।’

२०४१ सालमा स्याङजाको पुतली बजारमा जन्मिएका भीमले २ वर्षको उमेरमा बुवा गुमाएका थिए। उनकी आमा अहिले ७८ वर्षकी भइन्। उनका ५ जना दाजु र ४ जना दिदी छन्। उनी परिवारको कान्छो छोरा थिए।

सानैबाट गायनको सपना देख्ने भीमले करिअरको सुरुवात गीत रेकर्डिङबाट गरेका थिए। तर रेकर्डेड गीत उनका लागि खासै फलदायी भएन। लाइभ दोहोरीको क्रेज बढेसँगै उनी पनि लाइभ दोहोरीमा लागे। उनी एक समय लाइभ दोहोरीमा सबैभन्दा सुनिने र खोजिने कलाकारमा पर्थे।

तर केही समय अघिबाटै उनले दोहोरीमा चासो दिन छाडेका थिए। कुनैदिन कामको अफर कुरेर बस्ने भीम बिस्तारै पाएको काम पनि गर्न छोडे।

‘उनले गीत गाउन आएका अफर आफूलाई सन्चो छैन भन्दै टार्ने गर्थे’ उनीसँगै थुप्रै दोहोरीमा स्वर मिसाएका गायक रबिन लामिछानेले सुनाए।

भीम र रबिन निक्कै मिल्ने साथी हुन्। उनीहरुले थुप्रै गीत पनि सँगै गाएका छन्। भीमको अन्तिम संस्कारका लागि पोखरा पुगेका रबिनले आफूलाई पनि साथीले केहि कुरा शेयर नगरी गएको बताए।

उनले गला अवरुद्ध पार्दै भने, ‘उहाँ पहिला पनि आफ्ना व्यक्तिगत कुरा त्यति भन्नु हुन्नथियो। अहिले डिप्रेसन भएको थियो भन्ने कुरा बाहिर आइरहेको छ। तर दुई महिना अघिसम्म भेट्दा पनि उहाँको हाउभाउ हेरेर त्यस्तो लाग्दैनथ्यो। अब मनमा के थियो कहिल्यै भन्नु भएन।’

रबिन दुई महिनादेखि भीमसँग कन्ट्याक नभएको बताउँछन्। केही दिनअघि मात्रै बिरामी छन् भन्ने थाहा पाएर उनले फोन, म्यासेज गरेको तर कुनै रेस्पोन्स नआएको बताए।

काम विशेषले मुस्ताङ पुगेका रबिन भीमको मृत्युको खबर पाएसँगै पोखरा आएर उनको अन्त्येष्टिमा सरिक भएका छन्। भीमको आजै पोखराको राम घाटमा अन्तिम संस्कार गरिएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले भीमको निधनले नेपाली लोकदोहोरी क्षेत्रमा ठूलो क्षति पुगेको बताए।

बिजी भन्छन्, ‘उनी लामो समयदेखि लोकदोहोरीमा सक्रिय थिए। दोहोरी प्रतियोगिताबाट गायनमा प्रवेश गरेका भाइ हुन्। उनले प्रतिस्पर्धा गरेका थुप्रै प्रतियोगितामा म नै निर्णायक थिएँ। राम्रो प्रतिभा भएको मान्छे हो। भीम शालीन स्वभावको प्रतिभावान गायक हुन्। उनको निधन समग्र लोकदोहोरी क्षेत्रकै लागि अपूरणीय क्षति हो।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित