बुटवलमा मुलुककै पहिलो ढुवानीग्राम

बुटवलमा मुलुककै पहिलो र नमुना ढुवानीग्राम निर्माण भएको छ। बुटवल उपमहानगरको वडा नम्बर १२ ढवाहामा ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम निर्माण भएको हो । उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमुना आयोजनाका रूपमा यसलाई सञ्चालनमा ल्याउँदै छ। बुटवलको व्यस्त सहरी क्षेत्रमा हेभी लोडका सवारीसाधनलाई छिर्नु नपर्ने र ट्राफिक अवस्था व्यवस्थित गर्न अलग्गै ढुवानीग्राम बनाएको हो।

सार्वजनिक/निजी क्षेत्रको साझेदारी योजनाअनुसार रूपन्देही परिवहन प्रालिसँगको सहकार्यमा उपमहानगरले ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको थियो।

मुलुकको आर्थिक केन्द्रका रूपमा रहेको बुटवलको आर्थिक गतिविधिलाई अझ सहज, व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले नमुना ढुवानीग्राम निर्माण गरिएको  हो ।

बुटवल उपमहानगर स्वामित्वको वडा नम्बर १२ ढवाहस्थित भैरहवा टोलमा रहेको ३ बिघा क्षेत्रफलमा सार्वजनिक÷निजी साझेदारीको करिब ३७ करोड रुपैयाँ लागतमा ढुवानीग्राम निर्माण भएको हो ।

ढुवानीग्राममा रहने गार्डरुम, शौचालय, प्राथमिक उपचार कक्ष, सुरक्षा पोस्ट निर्माणका काम अन्तिम चरणमा पुगेका छन् भने बाँकी निर्माणकार्य लगभग पूरा भएको छ ।

बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको अवधारणा अहिले साकार हुने अवस्थामा पुगेपछि उपमहानगर र यहाँका ढुवानी व्यवसायी खुसी छन् । हेभी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाइएपछि अब व्यस्त सहरको ट्राफिक चाप कम हुनेछ।

ठूला र भारवहन ढुवानीका साधनको आउजाउले बुटवल बजार क्षेत्र अस्तव्यस्त बनिरहेको अवस्थामा बजारदेखि टाढा रहेको क्षेत्रमा व्यवस्थित ढुवानीग्राम निर्माण भएपछि सहरी सौन्दर्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

सार्वजनिक÷निजी साझेदारी मोडलमा मुलुकमै पहिलो नमुनाको रूपमा रहेको ढुवानीग्राम बुटवलको गौरवको योजना हो। सार्वजनिक÷निजी साझेदारीमा यस प्रकारको अलग्गै ढुवानीग्राम मुलुकमा अन्यत्र नरहेको उपमहानगरको दाबी छ।

ढुवानी व्यवसायीका अगुवा तथा समितिका पूर्वअध्यक्ष माधव नेपालले बुटवलको पहिचानको रूपमा नमुना अटो भिलेजपछि अब नमुना ढुवानीग्राम बन्ने दाबी गरे । लगानी सुरक्षा र प्रतिफलको सुनिश्चितता भएकाले नै आफूहरूले सार्वजनिक क्षेत्रसँग सहकार्य गरेको उपमहानगर प्रमुख सुवेदीले बताए । उपमहानगरले गुरुयोजनै बनाएर ढुवानीग्राम निर्माण सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय शिवप्रसाद रेग्मीले जानकारी दिए । निजी क्षेत्रसँगको सहकार्यमा बुटवलले अर्को नमुना कामको थालनी गर्न पाएको बताए।

के–के छन् ढुवानीग्राममा

ढुवानीग्राम राजमार्ग क्षेत्रबाट ३.६ किलोमिटर दूरीमा छ । उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँचमार्ग, ढल तथा नाली निर्माण गरेको छ । थप बाइपास सडक निर्माण गरेर दानव नदी करिडोरमा जोड्ने तयारी भइरहेको छ।

ग्राम नजिकै रहेको दानव नदीमा पुल निर्माण गर्ने र बाइपास सडकलाई विस्तार गर्नेबारे प्रमुख सुवेदीले प्राविधिकको टोली लिएर त्यस क्षेत्रको निरिक्षणसमेत गरे ।
निरीक्षणमा उपप्रमुख गुमादेवी आचार्य, वडाध्यक्ष दुर्गा सुवेदी, टंकप्रसाद पराजुली, इन्जिनियर रुक्मागंत अर्याल, अधिकृत लक्ष्मी ढकाल, ढुवानी व्यवसायीलगायतको सहभागिता थियो।

उक्त ढुवानीग्राममा साना ग्यारेजदेखि प्राथमिक उपचारकक्षसम्म निर्माण हुनेछन् । बिओटी मोडल (बिल्ड, अपरेट, ट्रान्सफर मोडल) मा ढुवानी ग्राम निर्माण भइरहेको छ।

यहाँ ४९ वटा सेड निर्माण भएका छन्। उपमहानगरको साझेदारी गरेको रूपन्देही परिवहन प्रालिले एमबी कन्स्ट्रक्सनलाई करिब १३ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो

ढुवानीग्राममा सामान अनलोड गर्ने अलग्गै सेड, स्टोर कक्ष, कार्यालय, विद्युत्, खानेपानी, स्नानागार, शौचालय, विश्रामकक्ष, ढल तथा नाली, प्राथमिक उपचार कक्ष, सुरक्षागार्ड कक्ष, सूचना कक्ष निर्माण भइरहेको सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी छ ।

उत्साही निजी क्षेत्र, व्यवस्थित बन्नेछ बजार क्षेत्र

बुटवल मुलुकको आर्थिक केन्द्र हो। बृहत् बुटवलको अवधारणासहित सार्वजनिक÷निजी साझेदारीको नमुना योजना साकार हुने चरणमा पुगेपछि साझेदार खुसी छन्।

रूपन्देही परिवहन प्रालिका अध्यक्ष कमल घिमिरेले ढुवानी व्यवसायी उत्साही भएको सुनाए। बुटवलको नमुना प्रयासले आफूहरू उत्साही भएको र गौरवको आयोजना निर्माण सकिने चरणमा पुगेको उनको भनाइ छ।

निजी क्षेत्रको विश्वास जितेर उपमहानगरले साझेदारीमा नमुना योजना सफल बनाएको उनले बताए। ढुवानीग्राम निर्माण सम्पन्न भएपछि बुटवलका चोक तथा गल्लीमा सञ्चालित ढुवानी व्यवसायी स्थानान्तरण हुनेछन्।

ढुवानीग्रामबाट साना सवारीले अन्यत्र सामान आसार्नेछन् । हेभी लोडका ठूला गाडी अब व्यस्त बजार क्षेत्रभित्र प्रवेश गर्नुपर्ने छैन । यसले विभिन्न क्षेत्रका लागि सामान ढुवानी व्यवसायीलाई ढुवानीका सामान खोज्न सहज हुनेछ ।

ढुवानी व्यवसायीसँग १५ वर्षे सम्झौता

उपमहनगरले सार्वजनिक/निजी साझेदारी मोडलमा निर्माण भइरहेको ढुवानीग्रामलाई दिगो रूपमा सञ्चालनका लागि मापदण्डसमेत बनाएको छ । ढुवानी व्यवसायीसँग १५ वर्षे सम्झौता भएको छ ।

उपमहानगर र रूपन्देही परिवहन प्रालिबीच सम्झौता भएको हो । सम्झौताअनुसार उक्त प्रालिले १५ वर्षपछि उपमहानगरलाई ढुवानीग्राम हस्तान्तरण गर्नेछ।

निर्माण सम्पन्नपछि ढुवानीग्राममा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले १ हजार ५५० वर्गफुट क्षेत्रफलमा निर्माण हुने प्रतिसेडको मासिक ३ हजार १ सय रुपैयाँ वहाल रकम बुझाउनेछन् ।

वहाल रकम प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले वृद्धि हुने सम्झौतामा उल्लेख गरिएको उपमहानगरमा वित्त व्यवस्थापन महाशाखा प्रमुख तथा वरिष्ठ अधिकृत विष्णुप्रसाद खनालले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार