

नेपाली राजनीतिमा प्राय चर्चामा आउने भनाइ हो, ‘राजनीतिमा स्थायी मित्र र शत्रु कोही पनि हुँदैन।’ फरक–फरक दलका मानिसमा यो लागू होला पनि। तर, दुई वर्षअघिसम्म आफूले नेता मानेकाहरूसँग यसपालिको चुनावमा भिड्दैछन् कम्युनिष्ट नेताहरू। राजनीतिले कोल्टे फेर्दा यसपालीको चुनाव निकै रोचक र घोचक हुने देखिएको छ लुम्बिनी प्रदेशमा।
४ मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता भयो। लुम्बिनीमा सत्ता गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारले तामझामका साथ मनोनयन दर्ता गरे। आइतबार मनोनयन दर्ता गर्नेहरूमध्ये यहाँका चार निर्वाचन क्षेत्रमा भने रोचक प्रतिस्पर्धा देखिने भएको छ।
रुपन्देही–मा घनश्याम भुसाल र छविलाल विश्वकर्माबीच प्रतिस्पर्धा हुँदैछ। विश्वकर्मा एमालेका उम्मेदवार हुन् भने भुसाललाई सत्ता गठबन्धनले साथ दिने भएको छ। देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ यस निर्वाचन क्षेत्र अन्तरगत रहेको छ।
नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित एमाले नेता विश्वकर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीको समेत समर्थन पाउने छन्। माक्र्सवादी अध्ययताको परिचय बनाएका भुसाल भने एमालेले टिकट नदिएपछि पार्टी परित्यागको घोषणा गर्दै बाम स्वतन्त्र उम्मेदवार बनेका हुन्।
भुसाल ०७४ सालको निर्वाचनमा रुपन्देही–३ बाट राप्रपाका दिपक बोहोरालाई हराउँदै निर्वाचित भएका थिए। विश्वकर्मा सोही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद हुन्।
२०७४ को निर्वाचनम रुपन्देही–१ बाटै विश्वकर्माले कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए। २०७० को निर्वाचनमा भने अब्दुल रज्जाकले तीनै विश्वकर्मालाई पराजित गरेका थिए।
माओवादी केन्द्रको समेत सहयोगमा उम्मेदवार बनेका विश्वकर्माले ३४ हजार ७५२ मत ल्याएर निर्वाचित हुँदा रज्जाकले २६ हजार ८८५ मत ल्याएका थिए।
रुपन्देही–१ मा एमाले बलियो अवस्थामा छ। सोही क्षेत्रबाट नेकपा विभाजनपछि तत्कालिन माओवादी केन्द्रमा नगई दधिराम न्यौपाने एमालेमै छन्। त्यसमाथि राप्रपाको समेत साथ भएकाले विश्वकर्मा भुसालको तुलनामा बलियो रहेको आँकलन छ। भुसालले भने आफ्ना व्यक्तिगत सीमित मतसहित अन्य दलको भरमा जितको अपेक्षा छन्।
यस क्षेत्रमा सत्तारुढ प्रमुख दल कांग्रेस नै भुसाललाई सहयोग गर्ने भरपर्दो दल हो। कांग्रेससँगै दोस्रोमा रहेको माओवादी केन्द्र तथा एकीकृत समाजवादी पार्टीको मतले जित हासिल गर्न सकिने उनी निकटस्थको दाबी छ।
यद्यपि यस क्षेत्रमा तत्कालीन नेकपा विभाजनपछि माओवादीको जनमत खस्कँदो रहेको तथा एकीकृत समाजवादीको समेत राम्रो मत नभएका कारण भुसालका लागि भर पर्नुपर्ने अन्तिम दल नै कांग्रेस हो।
अब लागौं रुपन्देही–२ तर्फ। यहाँ एमालेबाट विष्णु पौडेल र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरुङबीच प्रतिस्पर्धा हुँदैछ। त्यसो त पौडेल रुपन्देही बाट पटक–पटक विजयी सांसद हुन्। ०५६ सालको संसदीय चुनावमा पौडेलले पहिलोपटक कांग्रेसका सूर्यप्रसाद प्रधानलाई पराजित गरेका थिए।
०६४ र ०७० सालको निर्वाचन जितेका पौडेल २०७४ को चुनावमा २२ हजार ६३ मतान्तरले विजयी भएका थिए। उनले ४४ हजार ०९ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए। पटक–पटक मन्त्री र उपप्रधानमन्त्रीसम्म भएका पौडेल केन्द्रीय राजनीतिमा पनि प्रभाव पार्ने नेता हुन्।
राजु गुरुङ समाजबादीबाट उम्मेदवार बने पनि उनको जित्ने आश भनेको नेपाली कांग्रेस र माओवादीको मत हो। माओवादी रुपन्देही–२ मा कमजोर छ भने कांग्रेसको प्रभाव केही राम्रो छ। तर, गुरुङको छवि निर्वाचन क्षेत्रमा भने राम्रो छैन। उनी एमाले रहँदा पटक–पटक कारबाहीमा परेका व्यक्ति हुन्। त्यति मात्र हैन, विमानस्थल निर्माणका क्रममा पनि उनी विवादित बनेका थिए।
रुपन्देही–२ मा पर्ने २३ वडाहरूमध्ये यो स्थानीय चुनावमा एमालेले ३ वटा वडामा जितेको छ भने कांग्रेसले ११ वडा जितेको छ। माओवादीले २ र स्वतन्त्रले एउटा वडा जितेका छन्। स्थानीय तहको मतलाई हेर्दा गठबन्धन दल बलियो देखिएको छ।
यता, दाङ क्षेत्र नं. १ मा एमालेबाट उम्मेदवारी मनोनयन गरेकी शान्ता चौधरी आफ्नै पूर्व नेता मेटमणि चौधरीसँग प्रतिस्पर्धा गर्दैछिन्। सत्ता गठबन्धनको भागमा दाङ क्षेत्र नं. १ समाजवादीको भागमा परेपछि त्यहाँ मेटमणि चौधरी उम्मेदवार बनेका छन्। चौधरी ०७४ सालको निर्वाचनमा सो क्षेत्रबाट विजयी सांसद हुन्।
दुवै जना पार्टी आन्दोलनमा मात्रै नभएर अन्य थारु समुदायका लागि भएका संघर्षमा पनि सहकार्य गरेका सहयात्री हुन्। त्यसैले पनि दाङ क्षेत्र नं. १ मा यसपटक यी दुईको चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ। एमालेको तर्फबाट पहिलो संविधानसभामा समानुपातिक सभासद् बनेकी शान्ता दोस्रो निर्वाचनमा भने पराजित भएकी थिइन्।
मेटमणिले ३७ हजार ९०८ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सुशीला चौधरीले २४ हजार ७४ मत पाएकी थिइन् दाङ–१ मा। यस क्षेत्रमा लमही नगरपालिका, गढवा, राप्ती र राजपुर गाउँपालिका तथा घोराही उपमहानगरपालिकाका ४ वटा वडा पर्छन्।
यसैगरी, गुल्मी–२ मा एमाले सचिव गोकर्णराज विष्ट र एकीकृत समाजजादीकी सचिव रामकुमारी झाँक्रीबीच प्रतिस्पर्धा हुँदैछ। अनेरास्ववियूको विद्यार्थी राजनीतिबाट कहलिएकी झाँक्री ०७४ सालको निर्वाचनमा उनै विष्टको चुनावी अभियानमा थिइन्। एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादीकी सचिव झाँक्री यो निर्वाचनमा बलियो नभएको जानकार बताउँछन्।
उनको पार्टी उनको निर्वाचन क्षेत्रमा मात्र नभएर जिल्लामै नील भएको एमाले नेताको दाबी छ। स्थानीय तहको वडाध्यक्षमा आएको मतलाई आधार मान्दा एमाले बलियो देखिए पनि यो निर्वाचन क्षेत्रमा पर्ने पाँचवटै स्थानीय तहको प्रमुख वा अध्यक्षमा भने एमाले पराजित छ।
त्यस्तै ४३ वडामध्ये १७ वटामा मात्र एमालेका वडाध्यक्ष विजयी भएका छन्। बाँकी २६ मध्ये २५ मा कांग्रेस र एउटामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन्। तर, वडाध्यक्षमा आएको मतलाई आधार मान्ने हो भने एमाले १ हजार ७ सय २ मतले अघि छ।
२०७४ कै स्थानीय चुनावलाई आधार मान्ने हो भने कांग्रेस एमालेभन्दा ५ हजार १ सय ४१ मतले पछि छ। एमालेको ३१ हजार ५२३ मत छ भने नेपाली कांग्रेसको २९ हजार ८२१ मत छ। त्यस्तै माओवादीको १ हजार ८४१ मत हुँदा झाँक्रीको पार्टी एकीकृत समाजवादीको जम्मा ६५८ मत मात्र रहेको छ।
त्यसैगरी पाल्पा–२ मा यस पटक एमालेका ठाकुर गैरेले आफ्ना पूर्व नेता सहकर्मी सोमप्रसाद पाण्डेसँग प्रतिस्पर्धा गर्दैछन्। एकीकृत समाजवादीका प्रदेश अध्यक्ष समेत रहेका पाण्डे यो क्षेत्रबाट निर्वाचन लड्दै विजयी भइरहेका छन्।
पाण्डे एमाले छाड्नुले नै गैरे यस पटक एमालेबाट टिकट पाए। गैरेका समकालीन नेताहरू सांसद बनिसक्दा पाण्डेकै कारण उनी माथि उठ्न सकेका थिएनन्। तर, यसपटक गैरेले उनै पाण्डेलाइ पाखा लगाएपछि मात्र प्रतिनिधि सभाको ढोका खुल्नेछ।
२०५१ देखि २०७४ सालसम्मका सबै निर्वाचनमा प्रतिस्पर्धा गरेका पाण्डेले २०६४ सालको बाहेक चारवटै निर्वाचन जिते। ०७४ सालको निर्वाचनमा ३४ हजार ८९९ मत ल्याएर पाण्डे विजयी हुँदा कांग्रेसका हरिप्रसाद नेपालले २४ हजार ५५५ मत प्राप्त गरेका थिए।
गैरे एमाले पाल्पा इन्चार्ज पनि हुन्। गैरे पछिल्लो १ वर्षदेखि संगठन विस्तार र पार्टी काममा जिल्लामा नै सक्रिय छन्। परिणामत स्थानीय तहको निर्वाचनमा गैरेको अग्निपरीक्षा सफल भएको मानिन्छ।
पाल्पाका १० स्थानीय तहमध्ये एमालेले स्थानीय तह निर्वाचनमा ६ पालिकामा एकल जित निकालेको छ।
तिनाउ न्युज डटकम नेपाली भाषाको समाचार पोर्टल हो ।
यो वेवसाइटमा समाचार, विचार, मनोरञ्जन, खेलकुद, प्रवास, विश्वका खबर, सुचना प्राविधि लगायत श्रमजिवी वर्गको पक्षमा बढिभन्दा बढि आवाज उठाउने कोशिस र विश्लेषणहरु सम्बन्धी नै हाम्रो जोड रहनेछ ।
अध्यक्ष- गीता खनाल पराजुली
सम्पादक- रुकमागत खनाल
तिनाउ मल्टिमिडिया प्रा.(लि.) द्वारा सञ्चालित: www.Tinaunews.com – प्रधान कार्यालय : बुटवल- १० रुपन्देही, नेपाल
सूचना तथा प्रसारण विभाग दर्ता नं- ३८३६/ ०७९/०८०
सूचिकरण प्रमाणपत्र नं – ३८२४
कम्पनी दर्ताः ३०२०२२/०७९/०८०
विज्ञापनका लागि
फोन नं: (☏) +977-9765311999, 9857032827
इमेल : 📧 tinaunews2022@gmail.com
© 2023 Tinau News All right reserved Site By : Himal Creation