रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

भौतिक विकास र मानवीय विकास परिपूरक हुन्

राष्ट्रिय जनगणना २०७८ अनुसार गत दश वर्षको अवधिमा सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा १३.८९ प्रतिशत जनसंख्या थप भएको छ । यो प्रदेशभित्र रुपन्देही जिल्लामै सबैभन्दा बढी देखिन्छ । किनकि सबैभन्दा धेरै वार्षिक वृद्धिदर हुने जिल्लामा भक्तपुर पछि रूपन्देही जिल्ला आउँछ ।

आखिरी यस्तो किन ? एकातिर रुपन्देहीको विकास पटक्कै भएन भनेर यहाँका केही राजनीतिकर्मी र बुद्घिजीवीहरुले भनिरहेका छन् । बुटवलका मेयर खेलराज पाण्डेले त चुनावताका बुटवललाई बस्नयोग्य शहर बनाउने भनेर चुनावी नारा पनि बनाए । के साँच्चै बुटवल बस्नयोग्य नभएकै हो त ? अथवा चुनावमा खपत गर्ने नारा बनाएका हुन् ?

बुटवललाई र समग्रमा रुपन्देहीलाई बाहिरी दुनियाँले असाध्यै विकसित भन्छ । निर्माणका सन्दर्भमा दुःख भए होला । कतिपय काममा ढिला ढाला पनि भए होला । तर, यहाँका भौतिक संरचनाको विकास हेर्दा राजधानी बाहिर नेपालको कुनै पनि ठाउँसँग तुलना गर्न सकिंदैन । यद्यपि यहाँ बसोबास गर्नेले खासै केही भएजस्तो देख्दैन, तर बाहिरबाट आउने जो कोही रुपन्देहीमा बस्नुलाई गौरबकै विषय सम्झन्छ । हो हरेक ठाउँ समस्यारहित हुँदैन । एकपछि अर्को समस्या आइनै रहन्छन् । अरु सवै हुँदा पनि प्राकृतिक प्रकोपले मानिसलाई अस्तब्यस्त पार्न सक्छ । जस्तो कि चुरेको पहिरो, तिनाउ दानव नदीको किनार क्षेत्र आदि आदि । सहरको आसपासमा प्रायः सुकुम्बासी बस्ती हुने गर्छ । उनीहरुका समस्या थपिदै गएका हुन्छन् । बस्ती वढ्दै जाँदा खानेपानी, सञ्चार, विद्युतीकरण, रोजगारीजस्ता समस्याहरु आउँछन् र तिनको समाधान गर्दै जानुपर्छ । यसको अर्थ कुनै पनि ठाउँले पूर्णता पाउँदैन ।

अर्कोतर्फ गरिबले विकासको अनुभूति पाएनन् भनेर पनि प्रश्न उठ्ने गरेको छ । गरिवले अनुभूति नगरेको भए किन यहाँ बसोवासका लागि आकर्षण छ त ? के धनी मात्रको बसोवास भएको हो ? यो पनि हैन । धनी, गरीव, सुकुम्बासी सबैका लागि आकर्षण हुनुको कारण जीविकोपार्जनका सम्भावनाले नै हो । ठूला आयोजनाहरुले समग्रतामा रोजगारी सृजना गर्दछ । जस्तो कि गौतमबुद्घ एयरपोर्ट । यसले धनीलाई व्यावसाय गर्ने ढोका खोलेको छ । अर्थात् लगानीको वातावरण मनग्गे बनाएको छ । देशका जुनसुकै भागबाट विभिन्न व्यक्तिहरु आएर तारे होटलमात्र खोल्दै छैनन्, आवास गृह समेत् बनाउँदैछन् । उद्योग स्थापना गर्दैछन् । व्यापार र सेवामूलक व्यवसायको पनि आकर्षण बढेको छ । विभिन्न मुलुकबाट पर्यटकहरु सोझै सिद्घार्थनगरमा आउने भएका छन् । बुटवलमा एकै पटक दुईवटा केवलकार बन्दैछन् ।
भन्नेले भन्न सक्छ केवलकार धनीमानीका लागि मात्र हो । तर, यसले विभिन्न अवसर सृजना गर्ने भएकोले यो गरिबका लागि पनि हो । आधारभूत वर्गका लागि पनि हो ।

रोजगारीको कुरा गर्दा अहिले रुपन्देहीमा ६ वटा तारे होटल सञ्चालनमा छन् । ५ वटा निर्माणधीन छन् भने साना ठूला गर्दा ३ शय होटल छन् । अझैँ थपिने सम्भावना पनि छ । सामान्यतः एउटा तारे होटलले १२५ भन्दा धेरै व्यक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्दछ । अप्रत्यक्षको कुरा गर्दा किसानले खाद्यान्न, तरकारी, दूध दही, मासु, अण्डा बिक्री गर्ने अवसर पाएको छ । होटलमा खपत हुने सावुन, टुथपेष्ट, ब्रस, हर्पिक, कपडा, जुत्ता, विद्युतीय सामग्रीलगायत अनेक वस्तु खपत भएका छन् । तिनको उद्योग र व्यापार दुवै चल्दा शयौं जनाले रोजगारी पाएका हुन्छन् । अहिले बुटवलमा होटललाई मात्र सामान उपलब्ध गराउने कैयौं पसल चलेका छन् ।

बुटवलमा बनेको सभागृहलाई कसै कसैले राजधानीसँग जोडेर अब त्यसको के काम भनेर पनि तर्क गर्दै छन् । पहिलो कुरा त राजधानीको अवधारणा नआउँदै यसको आवश्यकता महसूस गरिएको हो । दोश्रो यो सभाहलका कारण ठूला कार्यक्रम गर्न बुटवल आउनै पर्ने बाध्यता सृजना भएको छ । तेश्रो अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र पनि बन्ने भएकोले हरेक महिना त्यस प्रकारका मेला प्रदर्शनी हुने छन् । जसबाट मनग्गे रोजगारी सृजना हुनेछ । सिद्घबाबामा बन्ने सुरुङ्ग मार्गले यात्रुको सुरक्षा मात्र गर्ने छैन, त्यसलाई अवलोकन गर्ने स्थानसमेत बनाउने छ । बेलवास–बेथरी अथवा बेलवास–नुवाकोट सडक पनि त्यस्तै सम्भावनायुक्त भएका सडक हुन् । बुटवलको सेमलारमा स्थापना हुने कृषि बजारको स्थापनाले देशका विभिन्न भागबाट कृषि उपज ल्याएर अन्तर्राष्ट्रिय बजारमा पु¥याउने अवस्था ल्याउँदा धेरै ठूलो रोजगारी सृजना गर्नेवाला छ ।

तिनाउ– दानवमा बनेका पूलहरुलाई एकपटक हेरौं । यसले के प्रभाव पा¥यो ? पहिलो बुटवल भनेको गोलपार्कदेखि चौराहासम्म मात्र हैन भन्ने कुरालाई साँचो अर्थमा स्थापित ग¥यो । जग्गा भोगचलन गरेर निर्वाहमुखी खेती गरेर बसेका किसानको जीवनस्तर एकाएक बढ्यो । कनेक्टिभिटीले स्वतः जग्गाको मूल्य बढ्यो । कुनै बेला फर्साटिकर, अमवा, लुम्बिनी कति टाढा हुन्थे, अहिले नजिक भएका छन् । बाहिरी क्षेत्रबाट आउनेले महँगो मूल्यमा जग्गा खरिद गर्दा स–साना उद्योग वा व्यावसाय गर्न आवश्यक लगानीको श्रोत स्थानीय नागरिक आफैंले जुटाउन सक्ने अवस्था सृजना भयो । पूँजीको अभावमा उद्यमशील हुन नसकेकाहरुले उद्यमशील बन्ने अवसर पाए । कुरा यति मात्र हैन सामान्य आर्थिक अवस्थाको व्यक्तिले पनि छोराछोरीलाई डाक्टर इञ्जिनियर पढाउन सक्ने भए । अरु प्राविधिक र गुणस्तरीय शिक्षा प्रदान गर्ने अवस्था पनि सृजना भयो । शिक्षा, स्वास्थ्य सबै कुरामा यही नियम लागू हुन्छ । यी सबै कुराले व्यापक रोजगारी सृजना गर्छन् र गरिबहरुले रोजगारी पाउने अवस्था सृजना हुन्छ ।

मोतीपुर औद्योगिक क्षेत्र बन्दा हजारौको रोजगारी सृजना हुनेछ । कुरा यति हो कि जनताका आवाजलाई सम्बोधन गरेर यथाशीघ्र बनाउनु जरुरी छ । जब देशी विदेशी ठूला उद्योग आउने छन् तिनले शयौंको संख्यामा रोजगारी सृजना गर्नेछन् । छिमेकी मुलुक चीनले यसरी नै रोजगारी सृजना गरेको हो । व्यापार वाणिज्य, उद्योगधन्दा, बिजुली, बाटोघाटो, खेतीपाती आदिमा चीनले भयानक परिवर्तन ल्याउन सक्यो । यसको अर्थ यो मात्र पर्याप्त हुँदैन तर, यो महत्वपूर्ण पक्ष अवश्य हो ।
कल्पना गर्नुस् यी र यस्ता भौतिक संरचना नबनेको भए बसाइसराइको अवस्था यो तहसम्म हुने थिएन । यो तहसम्मको जनसंख्या वृद्घि नभएको भए त्यति विधि अवसर सृजना हुने थिएनन् । त्यसैले कतिपयले भनेजस्तै ठूला आयोजनाहरुले गरिबलाई के ग¥यो भनेर नकारात्मक प्रश्न जसरी उठाएका छन्, तिनमा तथ्यले साथ दिँदैन ।

ठूला आयोजनाहरु बन्न ढिला हुँदो रहेछ । सडक चौडा गर्ने काममा एक दशक लाग्यो । सभाहल बन्न आधा दशक लाग्यो । कृषि उपजको तयारी विगत पाँच वर्षदेखि भएको छ, तर सुरु हुननै सकेको छैन । आयोजनाका लागि भन्न र बजेटमा लेख्न सहज हुन्छ तर श्रोतको सुनिश्चितता सबैभन्दा महत्वपूर्ण विषय रहेछ । यी सबै काम नेपथ्यमा भइरहेका हुन्छन् र पनि आम नागरिकले बुझ्न सकेको हुँदैन ।
के हो मानवीय विकास ?
शिक्षा, स्वास्थ्य, सरसफाइमा हुने विकास मानव विकास हो । अर्थात् औसत आयु, साक्षरता तथा प्रतिव्यक्ति आयमा आधारित सूचकांकहरुको प्रयोगद्वारा निकालिने मानव विकास सूचकांकले मानिसको जीवनको गुणस्तरलाई देखाउँछ ।

यस अर्थमा ती क्षेत्रमा लगानी गर्नु भनेको मानव विकासमा लगानी गर्नु हो । यी मध्ये पनि मानव विकासका लागि सबैभन्दा महत्वपूर्ण भनेको शिक्षा क्षेत्र हो । यसको दीर्घकालिन प्रभाव हुन्छ । यस बीचमा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई फराकिलो बनाइएको छ । यसले आफ्ना फ्याकल्टीहरु बढाएको छ । बुटवलमै बीटीटीएम, बीए एलएल बी, बुद्घिजम र दीगो विकास, एग्रो फरेष्ट्री आदिको अध्ययन हुनु, शिक्षण अस्पतालको प्रक्रिया अगाडि बढ्नु, सरकारी विद्यालयहरु स्रोत साधन सम्पन्न हुँदै जानु, प्राविधिक विषयको अध्ययन हुने व्यवस्था हुनु, लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नति हुने प्रक्रियामा हुनु (ठेक्का प्रक्रियामा अनियमितता नभएको भए यतिबेला सुरु हुने थियो), खानेपानी, सरसफाइजस्ता काम पालिकास्तरमा अगाडि बढ्नु मानवीय विकासका सूचक हुन् । शायद यसैले त होला मानवीय सूचकांको हिसाबले रुपन्देही जिल्ला अब्वल नै मानिन्छ ।

मानव विकास सूचकांकअनुसार नेपाल अहिले विश्वमा मध्यम मानव विकासको स्तरमा छ र २०२२ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने सम्भावना देखिएको थियो । जसका लागि प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचक र आर्थिक जोखिम सूचकमा तोकिएको मापदण्ड पार गरेको हुनुपर्छ ।

नेपालले औसत आयु र साक्षरतामा राम्रो सुधार गरेको तथ्यहरुले प्रमाणिकरण गरेकै छन् । लैंगिक विकास सूचकांक र लैंगिक असमानता सूचकांकमा नेपाल दक्षिण एसियाका केही देशभन्दा अगाडि छ । बरु नेपालको समस्या ग्रामीण र शहरी क्षेत्र तथा प्रदेशहरुबीचको मानव विकासको स्तरमा असमानता हुनु हो । जसका लागि अबका दिनमा उत्पादन, उत्पादकत्व बढाउन ध्यान दिने, उद्यमशिलता क्षमता र उत्पादनसँग सम्बन्धसहित संस्थागत क्षमता सुदृढिकरणमा जोड दिन जरुरी छ । प्रति व्यक्ति आम्दानी बढाउन र आयातलाई प्रतिस्थापन गर्न उपर्युक्त कार्यले सहयोग पुग्नेछ । शिक्षामा मध्यमस्तरको प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन सक्दा उत्पादनमा वृद्घि हुन सक्छ । भौतिक पूर्वाधारले उत्पादनका साधन छिटो र सरलतासाथ उपलब्ध हुन जान्छन् । उत्पादन क्षमतामा वृद्धि हुन जान्छ र प्रति व्यक्ति आम्दानी बढाउन पनि यो अत्यावश्यक छ । त्यसैले साधनको रुपमा भौतिक पूर्वाधारमा लगानी गर्दा साध्य प्राप्त हुने तथ्यलाई नजरअन्दाज गर्न मिल्दैन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार