रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल

स्व. खड्गबहादुर अर्याल हालको मालिका गाँउपालिका ६ अर्जै मूख्य टोला निवासी स्व. पिता बलबहादुर अर्याल र स्व. ममतामयी माता तुलसा अर्यालको पवित्र कोखबाट बि.स. १९९५ साल जेष्ठ २६ गते जन्मभएको थियो ।

उहाँ परिवारको माइलो छोरा हुनुहुन्थ्यो। मध्यम स्तरिय परिवारमा जन्मेको हुनाले खान लाउन त्यति दुख थिएन । शुक्ल पक्षको चन्द्रमा जस्तै क्रमशः वृद्धि र विकास हुँदै गइरहेको अवस्थामा एकाएक दैबको कुदृष्टि पर्यो ।

सात बर्षको उमेरमा बुवा गुमाएपनि आमा तुलसाले उहाँलाई बुबाको अभाव महसुस हुन दिनु भएन । बाल्य अवस्थाकै वेला गाउँमा विफर रोगको महामारी फैलियो, त्यसबेला बि. स. २०११÷२०१२ तिर बिफरको खोपको व्यबस्था थिएन ।

यस रोगले गाउँमा धेरै मान्छे स्वर्गे भए । उहाँकै भाइ कान्छा समेतलाई बिफरले लग्यो । उहाँ पनि बिफरबाट सख्त विरामी पर्नुभयो । करिब करिब मृत्युको नजिक पुगेर उहाँ फर्किनु भयो । उहाँको अनुहारमा बिफरका डोभहरु मृत्यु पर्यन्त देख्न सकिन्थ्यो ।

विफर रोगबाट मुक्त भएपछि उहाँ स्वस्थ्य र सबल बन्दै हुर्किनु भयो । जेठो दाजु थम्मन बहादुर, आफू र आमा तीन जनाको परिवारले कृषि र पशुपालन व्यावसाय सञ्चालन गर्दै समाजमा अगाडि वढ्नु भयो। आमाबाट नैतिक आचरण, आत्मानुशासन, माया ममता असल आनीबानी र सेवा भाषाको शिक्षा प्राप्त गर्नु भयो ।

अर्यालहरुको पुरानो बस्ती थियो अर्जै । सम्भवतः यो अर्यालहरुको उत्पत्ति भएको क्षेत्र नै अर्जै थियो । अर्जै पोखरावारीका अर्यालहरु नै पछि गएर मरभूङ, अर्खवाङ, ह्वाङदी, मौरीभीर, दर्लिङ, आपचौर हुंदै देशभरी फैलिन पुगेका हुन ।

अर्जैको पोखरावारीमा रहेका अर्यालहरुलाई मुख्य खलक पनि भन्ने गरिन्छ । धेरै लामो समयसम्म यिनै अर्यालहरुले त्यस क्षेत्रमा तालुकदारी, भट्ट सेवा गरेका थिए । अर्यालहरुको यहि महत्वलाई बुझेर पृथ्वीनारायण शाहले गोरखामै शासन गर्दा ‘६ थर घर’को व्यवस्था मिलाएका थिए । यिनै ६ थर भित्र अर्याल पनि समावेश थिए अर्थात ६ थर घर भित्र अर्याल, थापा, पाण्डे, पन्त, खनाल, बस्नेत रहेका थिए, पछि रानाहरुलाई पनि समावेश गरिएको ईतिहासले पुष्टि गर्छ ।

स्व. खड्ग बहादुर अर्याल यिनै मुख्य खलकका सन्तान हुनुहुन्छ । सबैको स्नेहमा उहाँ त्यहि समाजमा हर्के बढी सामान्य पढाई समेत गाउँघरमै पढ्नु भयो । उहाँलाई नेपाली सेना र तत्कालिन ब्रिटिस अर्थात भारतीय सेनामा भर्ती हुने ईच्छा भएन अर्थात अवसर पाउनु भएन । उहाँले बाल्यकालदेखि नै ईस्मा क्षेत्र अन्तरगत अर्जै, अम्मरपुर, छाप, अर्खवाङ्ग तथा दर्लिङ्ग क्षेत्रको विकास तथा समाजसेवामा आफ्नो अग्रसरता बढाउदै लैजानु भयो ।
शिक्षा
त्यसबेला गाउँमा विद्यालयको नाम निसाना नै थिएन । गुरुकुल शिक्षा पद्धति जस्तो टोलमा एकजना पढे लेखेको मान्छे बोलाएर गाउँका केटाहरु जम्मा गरि पढाउने प्रचलन थियो रे । चौररटोलमा १ जना धुर्कोटबाट पण्डित बोलाएर सामान्य साँवा अक्षर र अंक सम्बन्धि ज्ञान दिने व्यवस्था रहेछ । त्यहि ठाउंमा गइ केहि महिना उहाँले पढ्नु भएको थियो रे । उहाँमा चिठ्ठी तमसुक लेख्ने र रामायण महाभारत जस्ता पुस्तक पढ्न सक्ने क्षमता विद्यमान थियो ।

वैवाहिक जिवन तथा पारिवारीक सम्बन्ध

हालको इस्मा गाउँपालिका इस्मा रजस्थल वडाको सिरार बस्ने चन्द्र बहादुर घर्तीकी छोरी नन्दकला जि.सी. संग हाम्रै फुपाजु भिम बहादुर बस्नेतले मागि बिबाह गरिदिनु भएको थियो । बि.सं. २०२० सालमा उहाँलाई पुत्रलाभ भयो ।

एउटै मात्र छोरा यम बहादुर अर्याल जन्मेपछि अन्य कुनै सन्तानको चाहनाले हो वा अरु कुनै कारणले हो उहाँले दोस्रो विवाह पनि गर्नुभयो तर एकवर्ष पनि घरमा नबसी दोस्री दुलही पोइला जानु भयो ।

दशैंमा छोरा यम बहादुरको साथमा पनाती/पनातीनीका साथमा स्व. खड्ग बहादुर अर्याल

स्व. खड्ग बहादुर अर्यालले आफ्नो सामाजिक, राजनैतिक यात्रालाई अगाडी बढाउने क्रममा ईस्मा पौदी क्षेत्र तर्फ सामाजिक तथा राजनैतिक सेवामा संलग्न एक असल सामाजिक, राजनितीक तथा विकासवादी स्व. रविलाल थापासंग सम्बन्ध विस्तार गर्दै लैजानु भयो । स्व. रविलाल थापाले ईस्मा क्षेत्रमा अर्यालहरुको महिमा, गरिमा र प्रभाव राम्ररी बुझ्नु भएको थियो ।

स्व. खड्ग बहादुरको नेतृत्व, उहाँको शासनकला, नेतृत्वकला र उहाँको अन्य सबै भूमिकाबाट प्रभावित स्व। रविलाल थापाले त्यो क्षेत्रमा आफ्नो दरिलो सम्बन्ध कायम गराउन चाहानु हुन्थ्यो । त्यसै क्रममा स्व. रविलाल थापाले आफ्नी कान्छी छोरी विष्णु (सेनी) को विवाह स्व. खड्ग बहादुरका एकमात्र छोरा यम बहादुर अर्यालसंग गराउन चाहान्थे ।

छोरा यम बहादुर, नाती नरेश अर्यालका साथमा स्व. खड्ग बहादुर अर्याल

एक पटकको राजनैतिक भेटघाटको क्रममा स्व. रविलाल थापाले आफ्नो मन भित्रको बर्षौ अघिदेखिको ईच्छा स्व. खड्ग बहादुरको छोरा यम बहादुर र आफ्नी छोरी विष्णुको विवाह गर्ने प्रस्ताव प्रकट गर्नु भयो र उक्त प्रस्तावलाई स्व. खड्ग बहादुरले सहजै स्वीकार गर्नु भयो ।वि‍.सं. २०३७ साल मंसिर २५ गते अर्जैका अर्याल र पौदीका थापाबिच मैत्रीपूर्ण वैवाहिक सम्बन्ध सम्पन्न भयो ।

यम बहादुर र विष्णुको विवाह त्यस बेला त्यस भेगकै नमूना लायक भव्य विवाह दोहोरो पञ्चेबाँजा, दर्जनौ बन्दुकको आवाज, दर्जनौ घोडा तथा सयौ जन्तीको उपस्थितीमा रात्रीकालीन विवाह सम्पन्न भयको थियो ।

स्व. रविलाल र स्व. खड्ग बहादुर सम्धीको नातामा परिणत भएपछी ईस्मा क्षेत्र र पौदी क्षेत्रबिच सुमधुर सम्बन्ध हुन पुग्यो । यो सम्बन्ध स्थापना गर्दा जिल्ला पञ्चायत सदस्यका कार्यवाहक सभापती भएका स्व. रविलाल उप प्रधान पञ्च र प्रधान पञ्च भएका स्व. खड्ग बहादुर दुबैको सामाजिक र राजनैतिक हैसियतमा पनि बृद्धि भयो ।

दुई नातीनीहरु सिर्जना र समिक्षाका साथमा स्व. खड्ग बहादुर अर्याल

स्व. खड्ग बहादुरको सहयोगले स्व. रविलाल थापा २÷२ पटकसम्म जिल्ला पञ्चायत सभापतिमा निर्वाचित हुन ठूलो सहयोग प्राप्त भयो किनकी स्व. खड्ग बहादुरको गुल्मीको ईस्मा क्षेत्र तथा पश्चिमी क्षेत्रमा राम्रो प्रभाव थियो ।

परिवारमा मात्र नभई समग्र जिल्लावासीमा सदैब सुखी र खुसीका साथ जिवनयापन गर्नु पर्छ भन्ने मान्यता राख्ने उहाँले एकमात्र बुहारी स्व. विष्णुकला अर्याललाई उनी मेरी बुहारी नभई छोरी हुन भनी अति नै माया गर्ने हुनुहुन्थ्यो ।

विवशता भनौ वा दैबको खेल उहाँको आफ्नो धर्म पत्नी श्रीमती नन्दकलाको मिति २०७१ बैशाख ६ गते र बुहारी विष्णुकलाको २०७७ चैत्र २१ गते देबसाहन भएको थियो । याम बहादुर अर्याल र स्व. विष्णुकला अर्यालको कोखबाट २ छोरा (नरेश अर्याल र जीवन अर्याल) र २ छोरी (समिक्षा र सिर्जाना अर्याल) को जन्म भयो ।

सामाजिक सेवा
खै कुन प्रेरणाको स्रोतले हो उहाँ १६ बर्षको कलिलो उमेर देखिनै सामाजिक सेवामा निष्काम कर्म योगको भावले खटिरहनु भयो । उहाँका अभिन्न मित्र चन्द्रकान्त अर्याल संगै अर्जैको विकास र श्रीबृद्धिका लागि रात दिन खटिरहनु भयो ।

बि.स. १०१३ सालमा श्री चन्द्र प्रा।वि। का संस्थापक सदस्य रही अर्जैमा शिक्षाको दिप प्रज्वलन गर्नुभयो। त्यतिबेला अर्जै, अमरपुर र घमिर एउटा गाउँ पञ्चायत थियो। उहाँ वडा सदस्य बनेर काम गर्नु भयो ।

स्थानीय संस्था बदलिँदा अर्जै अमरपुर एउटा गाउँ पञ्चायत र घमिर छुट्टै बन्यो । अर्जै अमरपुर एउटा गाउँ पञ्चायत बन्दा ओम प्रसाद गौतम प्रधान पञ्च र उहाँ (खड्ग बहादुर) उप प्रधान पञ्च भइ गाउँले जनताको सेवामा दत्त चित्त लगाएर खट्नु भयो ।

उतिबेला गाउँमा सबै मानिस कृषि पेशा र पशुपालन मात्र गर्थे। शिक्षाको अभाव थियो । गाउँमा जग्गाको साँध सिमानामा अत्यन्तै झगडा भइरहन्थ्यो । ति झगडा मिलाउन धेरै समय खर्च गर्नु पथ्र्यो । बि.स. २०२४ सालतिर अर्जैमा विरेन्द्र हाइ स्कुल नाम राखेर माध्यामिक विद्यालय स्व. चन्द्रकान्त अर्याल र उहाँको नेतृत्वमा स्थापना गर्ने कार्य भयो ।

स्थानिय जनतामा चेतनाको अभाव तथा आर्थिक स्रोत गाउँबाट जुटाउन कठिन भएको कारण चार÷पाँच बर्ष संचालन पछि स्थगित गर्न विवश हुनुपर्यो । त्यसबेला शिक्षकलाई तलब खुवाउन नसक्दा शिक्षकले घर घेरा हाली आफू घर छोडी कयौ रात काउने भेडिखोरको जंगलमा बिताएको कुरा बेला बखत सुनाउनु हुन्थ्यो । गाउँमा स्थापना भएका भवानी खड्गको मन्दिर, कालिकाको मन्दिर, देवी भगवतीको मन्दिरमा बर्खे दशैं, चैते दशैंमा दिइने बलिको लागि कोष थिएन, जनताबाट मोहर रुपैयाँ उठाएर बलिको व्यबस्था गर्न खट्नु पथ्र्यो ।

पछि अर्जैमा रहेको त्यस्तै खड्ग भवानी मन्दिरमा खड्ग भवानी स्थायी कोष स्थापना गरि दशैँ संचालन गर्ने कार्य गर्नुभयो । पछि अर्जै र अमरपुर दुइ गा.वि.स.मा बिभाजित भए।

बि.स. २०३६ सालको जनमत संग्रह पछिको निर्वाचनमा अर्जै गाउँ पञ्चायत प्रधान पञ्च बन्नु भयो । उहाँकै कार्यकालमा पुनः अर्जै मा.वि. स्थापना गर्न चन्द्रकान्त अर्याल, खड्गबहादुर अर्याल र तुलसीराम अर्यालले नेतृत्व गर्नुभयो । त्यो बेला राज्यबाट विकास निर्माणको लागि गाउँमा पैसा कम आउथ्यो ।

जिल्ला पञ्चायतबाट करिब २० हजार रुपैया भवन बनाउन प्राप्त भएको थियो । पञ्चायत कालको सुनौला पक्ष जनश्रमदान थियो । गाउँका मानिसलाई जनश्रमदानमा संलग्न गराएर ७२ हात लामो बिद्यालय बनाउने कार्य भयो ।

उक्त बिद्यालय बि.स. २०४२ सालतिर स्वीकृत भयो । बि.स. २०४१ सालतिर अर्जैमा जग्गाको नाप नक्सा गर्ने कार्य भयो । त्यसबेला गाउँमा जग्गाको जग्गा कर लिने र रसिद दिने काम गाउँका मुखियाको हुन्थ्यो ।

उक्त नापी कार्यमा जनताका जग्गाहरू नाप्ने कार्यमा उल्लेख्य योगदान रह्यो। नहली अर्जै खानेपानी सम्पन्न गर्न, गाउँका सामुदायिक बनको संरक्षण गर्न, गाउँमा हुने झैझगडाको मेलमिलाप गराउने कार्य आदिमा उहाँको सदैव उल्लेख्य भूमिका रह्यो ।

उहाँले आफ्नो सामाजिक तथा राजनैतिक यात्रालाई अगाडि बढाउने क्रममा स्व। चन्द्राकान्त अर्याल, स्व। चम्फ बहादुर अर्याल, स्व। राम बहादुर गौतम, स्व. जगत प्रसाद पाण्डे, स्व. ओम प्रसाद गौतम, स्व. हरिलाल ज्ञवाली, स्व।ज्योतिस चन्द्रकान्त अर्याल जैसी, स्व. भक्तिराम पराजुलीसंगको मित्रतालाई सदैब सम्झिने गर्नु हुन्थ्यो ।


कुलपूजा ब्यवस्थापन
अर्जै मुख्य टोलमा रहेका दाजुभाई र एक्ले आँपका दाजुभाइ मध्ये धेरै दाजुभाईहरु कुल पूजाको लागि मालिका ३ ह्वाङ्दीको महभीरमा जाने प्रचलन थियो ।

देवाली वर्ष पालेका बोकाहरू र्डोयाएर महभीर पुर्याउन र काटेपछि ती बोकाहरू बोकेर ल्याउने कार्य अत्यन्तै कठिन थियो । उक्त कठिनाइलाई हृदयङ्गम गरि अर्जैमा रहेका सबै विदुखोले अर्याललाई एकताबद्ध गरि कुलको मन्दिर अर्जैमा स्थापना गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो ।

बाम राजनीतीमा संलग्नताः बि.स. २०४६ को अन्दोलनपूर्व उहाँ पञ्चायती ब्यबस्थाका कट्टर पक्षपाति हुनुहुन्थियो । २०४२÷४३ को स्थानीय निर्वाचनमा भूमिगत बहुदलवादीहरुले पञ्चहरुलाई गरम पञ्च र नरम पञ्च विभाजन गरि पञ्चायत व्यवस्थामा हस्तक्षेप गरे । गरम पञ्च हटाऊ र नरम पञ्च जिताउ भन्ने अभियानमा उहाँ गरम पञ्चमा पर्नु भयो ।

पञ्च र भूमिगत बहुदलबादिले नरम पञ्चलाइ जिताए । बि. स. २०४६ सालको राजनैतिक आन्दोलनले देशमा बहुदलीय शासन व्यवस्था स्थापना भयो । तत्पश्चात उहाँ नेकपा एमालेमा संलग्न भई राजनैतिक जिम्मेबारी लिनु भयो । पुरानो राजनैतिक अनुभव जनातासंगकों प्रत्यक्ष संलग्नताले अर्जैको भूमिमा कम्युनिष्ट आन्दोलन झांगिया े।

बि.सं. २०५४ सालको निर्वाचनमा उहाँले अब युवा पुस्ता राजनीतिमा अगाडी सर्नु पर्छ भनि गा.बि.स। अध्यक्षमा लिल बहादुर अधिकारी र उपाध्यक्षमा लिल बहादुर बिष्टलाई उम्मेदवार बनाएर आफु अगाडि बढ्नुभयो ।

उक्त निर्वाचनमा नेकपा एमालेले बिजय प्राप्त गरेपछि बि.स. २०७९ सालको स्थानीय निर्वाचनपूर्व सम्म अर्जै सबै चुनाबमा एमाले प्रथम बन्न सफल भयो । उहाँ अर्जै गा.बि.स.को नेकपा एमालेको अध्यक्ष पनि बन्नु भयो । पछी उहाँ सल्लाहकार समितिको संयोजक भएर रहनु भयो। उहाँको वरद नेत्तृत्वमा अर्जैका एमाले कार्यकर्ताहरुले सितल छहारी प्राप्त गरे ।

बदलिदो राजनीतिक व्यवस्था संगसंगै हरेक सामाजिक, राजनैतिक तथा विकास निर्माणका कार्यहरुमा सदैब निस्वार्थ रुपले काम गर्दै आईरहनु भयो । तत्कालिन माओवादीको आन्दोलनको समयमा समेत उहाँ निरन्तर रुपमा सामाजिक तथा राजनीतिक कार्यमा क्रियाशिल नै हुनु भयो । सोही समयमा समाजलाई कुभलो चाहाने समाजको सामाजिक विकास विरोधीहरुले उहाँ विरुद्ध उक्त पार्टीमा २१ वटा मुद्धा दिएका थिए ।

तत्कालिन माओवादी पार्टीका पनि व्यक्तिगत रुपमा प्रतिशोध राख्ने केही कार्यकर्ताहरुले उहाँलाई विभिन्न किसिमका डर, धम्कि दिई अपहरण गर्दा समेत उहाँ निडर रुपले सामाजिक कार्यमा लागि नै रहनु भयो । उहाँले गरेका सम्पूर्ण राजनीतिक, सामाजिक तथा विकास निर्माणका कामहरुमा कुनै पनि कमि कमजोरीहरु देखाउन नसकेपछि उहाँलाई पार्टीबाट सम्मानजनक रुपमा रिहाई गरेका थिए ।
सामाजिक अभियन्ता
मानवताको पक्षमा बहस पैरवी गर्ने, अन्याय अत्याचारको बिरोध गर्ने, समाजमा रहेका रूढिवादी अन्धविश्वासहरुलाइ हटाउन क्रियाशील रहने व्याक्तिलाइ सामाजिक अभियन्ता भनिन्छ । उहाँ एक सामाजिक अभियन्ता हुनुहुन्थ्यो ।

हाम्रो समाजमा मानिस मरेपछि मलाम गएका सबै व्यक्तिहरुलाई तेर्हौँ दिनको दिन लिफामा पैसा राखेर दिने प्रचलन थियो । यसले मृतकको परिवारमा आर्थिक भार थपिदिन्थ्यो । मलाम जानु सहयोग हो यसमा पैसा बितरण गर्नु राम्रो होइन भनि यो प्रचलन रोक्नु भयो । त्यस्तै छैँटी (बच्चा जन्मेको छैटौ दिन) कर्ममा पनि भजनरकीर्तनको रमिता हेर्न आउनेहरुलाई पनि पैसा बाड्ने प्रचलनलाई पनि रोक्नु भयो ।

अर्जै पोखरावारीमा दशैंको पूर्णिमामा लाग्ने मेला पूर्णिमाको राति लाग्ने गथ्र्यो। रातमा मेला लाग्दा हुल हुने, चेलीबेटीका गहना लुटिने आदि हुन्थ्यो। त्यो गतिबिधि रोक्न पूर्णिमाको मेलालाई दिनमा लाग्ने बनाउन अहम भुमिका निर्वाह गर्नु भयो।

हाम्रो समाजमा छोरा र छोरी बिचको बिभेद अझै पनि केहि रुपमा देख्न पाइन्छ गाउँमा छोरा जन्मे छैंटि गर्ने, उत्सब तथा रमाइलो गर्ने चलन छ तर उहाले आफुलाई नातिनी सिर्जना र समिक्षा जन्मेको वेला छैटी कर्म गरि उत्सव मनाउनु भएको थियो र नारी पुरूष समान हुन भन्ने सन्देश प्रवाह गर्नु भएको थियो। उहाँ शारिरिक रुपमा बलियो र हट्टाकट्टा हुनुहुन्थ्यो । गाउँमा कसैले घर बनाउन लाग्दा दलिन बोक्ने काममा उहाँ सदैव सरिक हुनुहुन्थ्यो ।

उहाँको बैशको बेला गाउँमा बनेका घरमा उहाँले दलिन नबोकेका घर छैनन होला । उहाँ अत्यन्त सहयोगी, उदार, प्रष्ट वक्ता, छिटो निर्णय लिन सक्ने क्षमता भएका, दुर दृष्टि भएका, संयमी, सन्तोषी र हकि स्वभाव भएका व्यक्ति हुनुहुन्थ्यो। उहाँ आफ्ना सन्तान प्रति हुरुक्क हुनुहुन्थ्यो । आफ्नो पारिवारिक अभिभारा अत्यन्तै जिम्मेवार बनेर निर्वाह गर्नु भयो।

अनौठो र आश्चर्य लाग्ने कुरा के छ भने, जीबनपर्यन्त गीताले निर्देशन गरेको कुरा जस्तोः काम गर्नु तिम्रो अधिकार हो फलको आशा नराख भन्ने भनाइलाई आत्मसाथ गरेर निष्काम कर्मयोगको भावले समाजलाई दिएको योगदान सदा सदाको लागि स्मरणीय छ। यस्ता महापुरुषको जन्म कहिलेकाहीँ मात्र हुन्छ ।

उहाँको महाप्रस्थानले हाम्रो समाजलाई अपुरणीय क्षति भएको छ ।
हार्दिक श्रद्धा सुमन, अल बिदा

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार