रेबिज प्राणघातक रोगको रुपमा चिनिन्छ। एक पटक रेबिजको लक्षण देखिएपछि यो रोगबाट मृत्यु निश्चित छ। मृत्यु निश्चित भए पनि खोपद्वारा यो रोगको पूर्ण रुपमा रोकथाम गर्न सकिन्छ। विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा विश्व भरमा कुकुरको टोकाईबाट हुने रेबिजको मृत्युलाई शून्यमा झर्ने लक्ष्य लिएको छ। यो भनि रहँदा केही वर्ष अगाडिको समाचार याद आयो सिराहाको भगवान गाउँपालिका वडा नम्बर ०३ मा १३ वर्षीय किशोरको कुकुरले टोकेको केही दिनपछि ज्यान गयो। उनले रबिजको खोप लगाएका थिए तर पनि ज्यान बचेन आखिर मृत्युको मुखमा पुग्नु पर्यो? के हो रेबिज? कसरी बच्ने?
रेबिजको परिचय
रबिज लिसा भाइरस नामक भाइरसको कारणले हुने स्नायु प्रणालीमा असर गर्ने रोग हो। यो रोग संक्रमित कुकुर, बिरालो, बाँदर, चमेरो र अन्य जंगली जनावरको टोकाईबाट हुने गर्छ। नेपालमा रेबिज संक्रमणको मुख्य कारण कुकुरको टोकाईलाई मानिन्छ। संक्रमित जनावरको र्याजलमा भाइरस हुने गर्छ र त्यो भाइरस जनावरको टोकाईबाट शरीरमा प्रवेश गर्छ। सामान्यतया संक्रमित जनावरले टोकेको ३ देखी ८ हप्ता सम्ममा यो रोगको लक्षण देखिने गर्छ। यो रोगको लक्षण २ खालका हुन्छन्। ८० प्रतिशतमा पानीदेखि डराउने, अत्याधिक र्याेल काड्ने, डराउने, आतिने हुन्छ भने २० प्रतिशत रोगीमा क्रमश प्यारालाइसिस् हुने, अचेत वा अर्धचेत हुने लक्षण देखिन्छ। एक पटक लक्षण देखिएपछि यो रोगबाट बच्न गाह्रो वा असम्भव जस्तै छ। हालसम्म रेबिज लागेर बचेको व्यक्ति १ जना मात्र हुनुहुन्छ (अमेरिकी नागरिक जियान्ना गी सी )। यो रोग मानिसबाट मानिसमा भने सरेको पाइएको छैन । नेपालमा चमेराबाट रेबिज सरेको प्रमाण पनि हालसम्म छैन।
नेपालमा रेबिजको अवस्था
नेपालमा बर्षेनी लगभग १०० जनाभन्दा बढी मानिसलाई यो रोग लाग्ने गरेको तथ्यांक छ। आर्थिक वर्ष २०७७/७८ मा नेपालमा ५९ हजार ४१४ जना बिरामी जनावरको टोकाइका कारण स्वास्थ्य सेवा लिन आएको पाइन्छ। जसमध्ये ५४ हजार ९९६ जना कुकुरको टोकाइका थिए। रेबिजको कारणले हुने मृत्युको संख्या गत बर्ष भन्दा यो बर्ष ४ गुणाले बढेको स्वास्थ्य सेवा विभागको प्रतिवेदनले बताएको छ। (श्रोत : स्वास्थ्य सेवा बिभाग को बार्षिक प्रतिबेदन २०७७ /७८)।आर्थिक वर्ष २०७५ /७६ मा १८ जनाको यो रोगको कारण मृत्यु भएको तथ्यांक थियो। तर यो यकिन तथ्यांक भने होइन। कति मानिस रोग लागे पनि स्वास्थ्य संस्था नजाने र स्वास्थ्य संस्थामा गए पनि उपचार नहुने अवस्थाका कारण घरमै फिर्ता हुने र घरको मृत्युको तथ्यांक स्वास्थ्य सेवाको गणनामा आउन नसक्ने हुँदा मृत्युको गणना यकिन हुन नसकेको पाइन्छ। तथ्यांक हेर्दा थोरै भए पनि पूर्ण रुपमा रोकथाम गर्न सकिने रोगबाट यति मृत्यु हुनु भनेको धेरै नै मान्नु पर्छ ।
बच्ने उपाय
रेबिजबाट बच्ने प्रमुख उपाय जनावरले टोकेपछि गर्नुपर्ने घाउको उचित सफाइ र खोप नै हो। जनावरले टोकी हालेमा, टोकेर हुने घाउलाई १५ मिनेटसम्म साबुन पानीले धुनु /पखाल्नु पर्छ। यसरी धुँदा जनावरको र्या ल राम्रोसँग पखालिन्छ र भाइरसको मात्र पनि धेरै हुन पाउँदैन। अर्को उपाय भनेको खोप हो। रेबिजबाट बच्नको लागि २ खालको खोपको व्यवस्था छ। एउटा जनावरको टोकाईहुनु भन्दा पहिले लगाउने खोप। यो खोप जनावरको सम्पर्कमा आउनु पर्ने व्यक्तिले (जस्तै चिडियाखानामा कम गर्ने ,वन्यजन्तु सम्बन्धी काम गर्ने, भेटेरिनरी डाक्टर आदि) लगाउने गर्छन्। अर्को भनेको जनावरले टोकी सकेपछि लगाउने खोप। यो खोप जनावरले टोकी सकेपछि सक्दो छिटो लगाउनु पर्छ। यदि घाउ धेरै ठूलो छ , धेरै गहिरो छ, घाँटी भन्दा माथि टोकेको छ, औंलाको टुप्पोमा टोकेको छ भने रेबिजविरुद्धको खोप संगै घाउ नजिकै ईम्युनोग्लोबुलिन नामक विशेष खोप पनि लगाउनु पर्छ। तर रेबिजविरुद्धको खोप सुरु गरेको ७ दिन कटीसकेको अवस्थामा ईम्युनोग्लोबुलिन लगाईदैन। यसरी लगाइने खोपको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरेर स्वास्थ्यकर्मीको सल्लाह बमोजिम खोप लगाउनु पर्छ।
के खोपले काम नगर्ने हुन्छ?
यदि लक्षण देखिइसकेको अवस्था भए खोपले काम गर्दैन। घाउ ठूलो र गहिरो छ भने र ईम्युनोग्लोबुलिन लगाउन सकिएन भने खोपले मात्र सुरक्षा दिन नसक्ने हुन्छ। खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण पर्ने हुन्छ यदि सोहि तापक्रममा भण्डारण गर्न नसके खोपको क्षमता घट्छ। खोपलाई घोलेको ६ घण्टा भित्रमा लगाइसक्नु पर्छ र खोपको गुणस्तर राम्रो हुनु पर्छ।
रेबिज मानव स्वास्थ्य संगसंगै पशु स्वास्थ्यसंग पनि जोडिएको विषय हो । रेविजको रोकथामको लागि केन्द्रदेखि स्थानीय तहसम्म मानव र पशु स्वास्थ्यमा दुवैमा काम गर्ने सरकारी, गैर सरकारी निकाय एवं जनशक्ति बीचको समन्वय र साझेदारी हुन जरुरी छ। योसँगै सबै माझ खोप को सर्वसुलभ पहुँच, ब्यबारिसे कुकुरहरुको उचित व्यवथापन र खोप, घर पालुवा जनावरलाई खोप सेवा र आम जनमानसमा रेबिज सम्बन्धी पर्याप्त मात्रामा जनचेतना भए मात्र यसको सहि रोकथाम गर्न सकिन्छ। सहि रोकथामबाट नै २०३० सम्ममा कुकुरको टोकाईबाट हुने रेबिजबाटको मृत्युलाई शून्यमा झर्ने लक्ष्य प्राप्ती सम्भव छ।
-(लेखक पुष्पराज भट्टराई जनस्वास्थ्यकर्मी हुन्)