अर्घाखाँची सिमेन्टले एनएमबि क्यापिटल लिमिटेडलाई तोक्यो शेयरको निष्काशन तथा बिक्री प्रबन्धक गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते लुम्बिनी प्रादेशिक अस्पताल: ६ अर्ब लागतमा अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु आजको मौसमः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बर्षा र हावाहुरी प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान टुंग्यायो स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम रुपन्देहीको तिलोत्तमामा भयानक बस दुर्घटना (तस्विरहरु) आजको मौसमः तीन प्रदेशमा मेघगर्जन सहित बर्षा हुने सिँचाइ सुविधाले हराभरा बन्दै गेखुङ फाँटका खेत                
समाचार :

विमला वलीको दुखेसो : सरकार परिवर्तनको बेला तानातान, चुनावको बेला बेवास्ता

उपनिर्वाचनमार्फत दाङ जिल्लाको क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला कुमारी वली खत्री बेलाबखत निकै चर्चामा आइन् । पति उत्तर कुमार वलीको निधनपछि भएको उपनिर्वाचनमा तत्कालीन नेकपाले विमलालाई उम्मेदवार बनाएर जिताएको थियो । उनी लुम्बिनी प्रदेशसभा सदस्य हुँदै गठबन्धनको सरकार बन्दा स्वास्थ्य राज्यमन्त्री समेत भइन् ।

नेकपा खारेजीपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएसँगै वली दुई दलको तानातानमा परेकी थिइन् । उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो दलको सांसदका रुपमा दाबी गरेका थिए । सोही क्रममा उनी केही दिन तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको अघोषित नजरबन्दमा समेत रहिन् । मुख्यमन्त्री निवासमा आफूलाई थुनेर राखिएको भन्दै उनले तत्कालीन मुख्यमन्त्री पोखरेलमाथि अपहरणको आरोपसमेत लगाएकी थिइन् । त्यसपछि उनले आफू नेकपा माओवादी केन्द्रमा रहेको स्पष्टोक्ति दिएकी थिइन् ।

पाँच दलीय गठबन्धनले लुम्बिनी प्रदेश सरकार गठन गर्दा बहुमत जुटाउन उनको साथ निकै महत्त्वपूर्ण थियो । तर आसन्न निर्वाचनका लागि भने उनी कुनै पनि दलको रोजाइमा परिनन् । उनले आफूलाई एमाले र माओवादीले प्रयोग गरेको गुनासो गरिन् । आफूले उपनिर्वाचन जितेर आएको क्षेत्रमा बजेट काट्ने काम भएको गुनासोसमेत गरिन् । यसरी बजेट काट्नेमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमात्र नभएर वर्तमान सरकारले पनि भेदभाव गरेको उनको गुनासो छ ।

उनले भनिन्, ‘मेरो क्षेत्रमा परेका योजनाहरु काटेर अयन्त्र पठाउने काम भयो । म सांसद भएँ, राज्यमन्त्री पनि भएँ तर मेरो क्षेत्रमा बजेट काट्ने काम दुवै मुख्यमन्त्रीको पालामा भएको छ ।’ उनले आफू राज्यमन्त्री हुँदा मन्त्रालयको बजेट प्रयोग गर्न नपाएको पनि बताइन् । उनले आफ्ना क्षेत्रबाट जनताको मागको आधारमा पठाएका योजनाहरु काट्दा निकै दुःख लागेको बताइन् ।उनले माओवादी पार्टी दलित, महिला तथा पिछडिएको वर्गको पक्षमा काम गर्ने भन्ने ठानेर आफू लागे पनि त्यो नभएको महसुस गरेपछि अब पार्टीमा सक्रिय नहुने मनसाय बनाएको पनि प्रस्ट पारिन् । आफूलाई समानुपातिकतर्फ समेट्ने आश्वासन दिइएकामा त्यो पनि पूरा नभएको उनको गुनासो छ । ‘कम्तीमा सिफारिस गरेको भए के बिग्रिने थियो ? म प्रत्यक्ष जितेको मान्छे, पार्टीका लागि मेरो श्रीमानले पनि योगदान गर्नुभएको थियो, अहिले पार्टीले सोधखोज समेत गर्दैन ।’

उम्मेदवार छनौट गर्ने बेलामा एक पटक जिल्लाको बैठकमा बोलाउने काम भएको उल्लेख गर्दै उनले त्यस बाहेक पार्टीको बैठक, भेला तथा अन्य रणनीतिक छलफलमा आफूलाई बेवास्ता गरिएको उनको गुनासो छ । उनको क्षेत्रमा अहिले सत्तारुढ गठबन्धनबाट माओवादीका धनबहादुर मास्के राना प्रदेशसभातर्फ उम्मेदवार बनेका छन् । तर उम्मेदवार रानाले समेत अहिलेसम्म आफूलाई ‘चुनावमा सँगै जाउँ, पार्टीको काममा जाउँ’ भनेर सम्पर्कसमेत नगरेको उनले बताइन् ।

सबै पार्टीले सोझो मान्छेलाई प्रयोगमात्रै गर्दै आएको निष्कर्ष निकाल्दै आफूले अब पार्टीमा सक्रिय नहुने निर्णय लिएको प्रस्ट पारिन् । अब आफू घर व्यवहारमै केन्द्रित हुने उनको भनाइ छ । दाङको तुलसीपुर घर भएकी वली अहिले घोराहीमा भाडामा बसेर छोरालाई पढाउँदै छिन् । उनले दाङका वाइसीएल नेता एकराज बस्नेतबाट आफूले पाउनुपर्ने रकम हालै पाएको पनि बताइन् ।

जेठ ३१ गते तत्कालीन स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री रहेकै बेला उनी दाङको तुलसीपुरस्थित बस्नेतको घरमा पुगेपछि विवाद सतहमा आएको थियो । बस्नेतको परिवारले उनीमाथि दुर्व्यवहारको आरोप लगाउँदै प्रहरीमा उजुरीसमेत गरेको थियो ।

यस सम्बन्धमा प्रदेश सरकारले आन्तरिक मामिला मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्य छानबिन टोली समेत गठन गरेको थियो । उक्त समितिले विमलाले पाउनु पर्ने रकम बस्नेतले तिर्नुपर्ने निष्कर्ष निकालेको थियो ।छानबिन समितिले प्रतिवेदन नबुझाउँदै लुम्बिनी प्रदेशको स्वास्थ्य राज्यमन्त्री पदबाट वलीले राजीनामा दिएकी थिइन् ।

साभार: रातोपाटी

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार