‘स्कुल गट ट्यालेन्ट रुपन्देही’को उपाधि अंकितलाई, अध्यता भण्डारी फस्ट रनर अप हाटबजार व्यवसायी संघद्वारा ३१ औं नियमित वृहत रक्तदान कार्यक्रम सम्पन्न ५ वर्षसम्म पनि किन चल्न सकेनन् दाताले दिएका करोडौंका गाडी? “जेनजी आन्दोलन”को पहिलो मागनै रोजगार थियो, अबको ध्यान त्यता केन्द्रित गर्छु : विष्णु पौडेल चौथो न्यू होराइजन कप अन्तर मावि जिल्ला स्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई स्पेल–बी च्याम्पियनसिपको उपाधि बुटवलको कान्ति माविलाई प्यारामाउन्ट बोर्डिङ हाई स्कुलमा खेल सप्ताह जारी गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान सम्पन्न सार्वजनिक विदाको दिन पनि राजश्व कार्यालय बुटवल खुल्ला लुम्बिनी मात्र हैन, यस्तो छन् लुकेका ठाउँ, गौतम बुद्धले नेपालभित्र समय बिताएको ठाउँ (Video)                
समाचार :

पढेर नभइ परेर सफल व्यवसायी बनेका गौरव गौतम

बुटवल : बुटवलबाट करिब २० किलोमिटरको दूरीमा पर्छ छपिया। माछापालनमा देशभर चर्चा कमाएको छपिया पछिल्लो समय मत्स्य पर्यटकीय स्थलको रूपमा परिचित छ।

त्यही छपियामा रहेको छ, गौरव गौतमको ‘फिस भिलेज रिसोर्ट’। मत्स्य पर्यटकहरूलाई लक्षित गरेर सुरु गरिएको रिसोर्ट माछाका पारखीहरूका लागि एक उत्कृष्ट गन्तव्य त हो नै, माछाको बारेमा बुझ्न चाहनेहरूका लागि सिकाइको थलो समेत बनेको छ।

गौरव गौतम त्यहाँका पुराना कृषक हुन्। जति बेला गौरवले छपियामा माछाका पोखरी खन्न सुरु गर्दै थिए, त्यो बेला माछा पालन सुरुवात हुने क्रममा थियो।

‘जब मैले बुवा तुल्सीराम गौतमलाई माछा पोखरी खन्छु भनेको थिए, त्यो बेला यहाँ माछा पालन गर्ने क्रम सुरु हुँदै थियो,’ उनले भने।

२०२८ सालमा जन्मिएका गौरवको बाल्यकाल छपियामै बित्यो। पुर्ख्यौली रूपमै उनका बुवा, हजुरबुवाले कृषि कर्म गरे। गौरवको बाल्यकाल पनि छपियामा गाई चराउने, घाँस काट्ने, हलो जोत्ने जस्ता काम गरेरै बित्यो।

छपियामै रहेको पब्लिक माध्यमिक विद्यालयमा पढेका उनले किताब कमै पढे भने बाहिरी दुनियाँ बढी। पढ्नमा रुची भएन उनलाई।

जसोतसो कक्षा १० सम्म पुगे तर उनी उत्तीर्ण हुन सकेनन्। यो कुरा २०४७ सालको हो। एसएलसीमा उत्तीर्ण नभएपछि गौरवले पुनः पढ्ने जाँगर चलाएनन्।

त्यसपछि उनले बुवा तुल्सीराम गौतमलाई भनेर पोखरी खन्न सुरु गरे। बुवाले पढ्नकै लागि कर गरे पनि गौरवले पढेनन्। उनले माछा पालन गरेर जीवन चलाउने सोच बनाए।

बुवाकै सहयोगमा सुरुमा २ वटा पोखरी खने। पहिलो वर्ष लगानी पनि उठेन। तर हार खाएनन्। दोस्रो वर्ष भने राम्रो भयो। त्यसपछि गौरव थप हौसिए। माछा पालन मात्र होइन, भुरा पनि क्रमशः बिक्री गर्न थाले।

माछा र भुराको व्यापार थालेपछि गौरव यतिमै सीमित बनेनन्। उनलाई लाग्यो, ‘यहीं नै फिस रिसोर्ट खोलेर माछाको स्वाद चखाउन पाए!’

त्यसपछि सुरु भयो, सियारी गाउँपालिका–४ शिवपुरमा सुविधा सम्पन्न छपिया फिस भिलेज रिसोर्ट।

५ वर्षअघिदेखि सञ्चालनमा आएको फिस भिलेज रिसोर्टमा माछा किन्न, हेर्न र माछासँग खेल्न आन्तरिक एवं बाह्य पर्यटक त्यहाँ पुगेका छन्।

पर्यटकलाई पोखरीमा घुमाउने, बल्छी हान्ने, माछाका परिकार खुवाउने परिकल्पनासहित खोलिएको रिसोर्टमा अहिले बसोवासको व्यवस्था पनि छ।

देशमा आर्थिक मन्दीको असर गौरवको रिसोर्टमा पनि परेको छ। पहिलेको तुलनामा ९० प्रतिशत व्यापार घटेको गौरव बताउँछन्।

‘लकडाउनमा दैनिक ४ हजारसम्म मानिस आए। तर अहिले निकै कम ग्राहक आउँछन्। छपियामा अरू धेरै रिसोर्ट सञ्चालनमा आउँदा केही ग्राहक बाँडिए। तर त्यो भन्दा पनि ठूलो देशमा आर्थिक मन्दी भयो। त्यसको असर रिसोर्टमा पर्यो,’ उनले भने।

माछा हेर्ने, माछासँग खेल्ने, बल्छी हान्ने र माछा किन्ने पर्यटक त यहाँ आउँछन् नै। यति मात्र होइन रिसोर्टमा माछाको सेकुवा, स्टिम बोयल, माछा तावा, माछाको मम, माछा चिल्ली, फिसबल, फिस फिङ्गर, माछाको छोइलालगायत डेढ दर्जन परिकारको स्वाद लिन पनि पर्यटक आउने गर्छन्।

छरि माछा पालनमा विशेष जोड

गौरवले ७ बिघा जमिनमा १३ वटा पोखरी निर्माण गरेर माछा पालन गरिरहेका छन्। रिसोर्ट पनि छ। अहिले रिसोर्ट भन्दा बढी उनको ध्यान माछा पालनमा छ। १३ पोखरीमा ५ लाख छरि माछा पालन गरिरहेका छन्।

विवाह, पार्टीलाई लक्षित गर्दै छरि माछा पालन गरिरहेको गौरव बताउँछन्। त्यस बाहेक कमन, ग्रास, माकुर जातका माछा पनि उनले पालेका छन्।

उनले पालेको माछा किन्नका लागि ग्राहक गौरव सामु आफैं पुग्छन्। रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासीमा उनका माछा बिक्री हुने गर्छ।

वार्षिक १ करोडको कारोबार गर्ने लक्ष्यसहित माछा पालनमा लागेका गौरव रिसोर्टको खर्च माछा पालनले नै पूर्ति गरिरहेको बताउँछन् ।

‘सुरुमा रिसोर्टमा २० भन्दा बढि कर्मचारी थिए। व्यापार राम्रो थियो। अहिले ९ जना मात्र कर्मचारी छन्। उनीहरू रिसोर्ट चलाउँछन्। म माछा बिक्रीमै लागेको छु,’ उनले बताए।

पढेर भन्दा पनि परेर व्यावसायिक सफलता प्राप्त गरेका गौरव गौतमलाई यो कृषि कर्ममा परिवारको राम्रो साथ छ। श्रीमती, २ छोरी र १ छोराको हौसलाले नै आफूलाई यस कर्ममा लागिरहन उत्साहित गराएको उनी बताउँछन्।

‘जब एसएलसीमा फेल भएँ, तब मेरो भाग्य बन्नमा पनि फेल भएको रहेछ भन्ने लाग्यो’, उनी भन्छन्, ‘एसएलसी पास भएको भए कतै गइन्थ्यो। सरकारी जागिर पो खाइन्थ्यो कि, भ्रष्टाचार गरिन्थ्यो कि। तर फेल भएपछि पोखरी खनें।’

‘आज एसएलसीमा सफल नभए पनि माछा पालनमा सफल भएको छु। खुसी छु,’ उनले थपे।

धेरैलाई लोभ्याउने पोखरी माथिको कटेज

छपिया फिस भिलेज रिसोर्टमा कटेजसमेत पोखरीमाथि बनाइएका छन्। देख्दा नै आकर्षक। यहाँ पोखरा, नारायणगढ, पाल्पा, बुटवल, भैरहवा, कपिलवस्तु, नवलपरासीलगायत विभिन्न ठाउँबाट माछाका स्वादका पारखी आउने गर्छन्।

‘जति जना रिसोर्टमा आउनुहुन्छ। केही माछाका बारेमा सिक्न खोज्नेहरू पनि हुनुहुन्छ। परिकारको स्वादमा रमाउँदै बल्छी हानेर फिसिङको मज्जा लिने ग्राहक पनि आउनुहुन्छ,’ उनले भने।

सधैं चिकेन, मटन र बफ ममको स्वाद लिएकाहरू यहाँ फिस मम सबैभन्दा बढी रुचाउँछन्। त्यहाँ आउने अधिकांशको रोजाई नै फिस मम हुने गरेको गौरवले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित