
कपिलवस्तुस्थित कन्थक स्तूपको दक्षिणतर्फ उत्खननका क्रममा गजुर फेला परेको छ । माटोबाट निर्मित उक्त गजुर ४२ सेन्टिमिटर लामोे छ । शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदबार क्षेत्र तिलौराकोटसँगैको कन्थक स्तूपनजिकै रहेको विहार र पोखरीको उत्खननमा उक्त गजुर भेटिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताए ।
यहाँ उत्खननका क्रममा माटोबाट बनेको गजलक्ष्मीको मूर्ति, माटाका भाँडाका टुक्रा र शिला पनि फेला परेका छन् । पुरातत्वविदका अनुसार भेटिएको गजुर कुन समयमा बनेको हो ? भन्ने परीक्षण गरेपछि मात्र पत्ता लाग्ने छ । ‘हामीलाई जानकारीमा आएअनुसार तिलौराकोट क्षेत्रको उत्खननमा यस यस किसिमको गजुर पहिलो पटक भेटिएको हो’, भट्टराईले भने ।
विहार उत्खननका क्रममा सन् २०१५ मा तेस्रो शताब्दीका ४९७ वटा मौर्याकालीन चाँदीका पञ्चमार्क सिक्का भेटिएका थिए । त्यसपछि लामो समयसम्म सो क्षेत्रमा कुनै पनि उत्खननका कार्य भएन । पछि आएर सन् २०१७ मा विहार र पोखरीको क्षेत्रमा भूभौतिक सर्वेक्षण गर्दा थप संरचना भेटिएका थिए ।
तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार नजिक कन्थक स्तूप छ । ‘कन्थक स्तूपको दक्षिणतर्फ सन् २०१४ मा भूभौतिक सर्वेक्षण गरिएको थियो’, लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भने, ‘त्यस ठाउँमा विहारको र पोखरीको संरचना फेलापरेको थियो ।’ उप्रेतीकाअनुसार सन् २०१५ मा त्यस क्षेत्रमा उत्खनन गर्दा विहार र पोखरीको सानो भागको उत्खनन गरिएको थियो । पोखरी र विहारका पर्खाल उत्खननमा मौर्या कालका इँटाबाट बनेको पाइएको हो ।
अहिले यहाँको उत्खनन कार्यमा पुरातत्व विभाग, लुम्बिनी विकास कोष, बेलायतको दुर्हम विश्वविद्यालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञको टोलीलगायतको सहभागिता छ । शाक्यमुनि बुद्धले २९ वर्षको उमेरमा राजदरबार त्याग गर्दा कन्थक नामक घोडाको सवार गरी अनोमा नदीसम्म पुगेका थिए । अनोमा नदी हाल भारत उत्तर प्रदेशको बस्ती जिल्लामा पर्छ । सो नदीलाई अहिले भारतमा अमी नदीको नामले चिनिन्छ । कन्थक घोडामा सवार भई अनोमा नदीसम्म पुगेका राजकुमार सिद्धार्थ नदी किनारमा सबै आभूषण तथा पोसाक त्यागी संन्यास जीवन सुरु गरी ज्ञानको खोजीमा निस्किएका थिए ।
अनोमा नदीबाट फर्केको कन्थक घोडा तिलौराकोट दरबार क्षेत्रको पूर्वी गेटनजिक आइपुगेपछि स्वेच्छाले देह त्याग गरेको बौद्ध धर्मग्रन्थमा उल्लेख छ । कन्थक घोडाले देह त्याग गरेको स्थानमा कन्थक स्तूप निर्माण गरिएको पुरातत्वविद्को भनाइ छ । गजुर मन्दिरको माथिल्लो भागमा राखिने गरिन्छ । गजुरको स्वरूप मन्दिरका देवीदेवता अनुरूपको फरक हुने गर्छ । बौद्धस्तूप एवं विहारको माथिल्लो भागमा प्रयोग हुने गजुरमा चाहिँ स्तूपको स्वरूप हुने गर्छ ।