
बुटवल । सदस्यहरुको रकम तिर्न नसकेपछि बन्द बनेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बुटवल शाखा अझै खुलेको छैन् । सहकारी संस्थाले एक सूचना जारी गर्दै मर्जर प्रक्रियामा जान लागेको र देशको आर्थिक स्थित खराव हुँदा रकम तिर्न नसकेको भन्दै फागुन २३ गते सम्मका लागि सहकारीको बुटवल शाखा बन्द गरेको थियो । तर २३ गते पछि पनि सहकारी खुल्न सकेको छैन् ।
सहकारीले विहिबार पुनः सूचना जारी गर्दै सञ्चालक समितिहरु ऋहिले विभिन्न शाखाहरुमा सहजिकरणका लागि डढेलधुरा हुँदै, अत्तरिया, सुर्खेत, कोहलपुर शाखाहरुको कार्यक्रम सकेर बुटवल आउने कार्यतालिका भएकाले अर्को सूचना नआउँदा सम्म कार्यालय बन्द हुने जानाकारी गराएको छ ।
सहकारी बन्द हुँदा अहिले पनि दैनिक सयौको संख्यामा बचतकर्ताहरु कार्यालयमा पुगेपनि फर्कन बाध्य भएका छन् । दैनिक खाजा खर्च कटाएर समेत सहकारीमा रकम जम्मा गरेकाहरु बचतकर्ताहरु आफ्नो रकम जोखिममा परे संगै आत्तिएका छन् । सहकारीका सञ्चालकहरुले पनि जग्गा विक्रि गरेर भएपनि शेयर सदस्यहरुको रकम फिर्ता गर्ने बचन दिइरहेको छ ।
भक्तपुरमा केन्द्रीय कार्यालय रहेको सहकारी २०६९ असोज २८ गते सहकारी विभागमा दर्ता भएको थियो । २०७८ साउन १९ मा व्यवसाय दर्ता गरेर सहकारीले बुटवलको योगीकुटीमा डिपार्टमेन्टल स्टोर्स सञ्चालन गरेको थियो ।
रकम माग्ने बचतकर्ताहरूको भीड लागेपछि सहकारीले माघ ७ गतेभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएको थियो । तर, भुक्तानी गर्ने बेला भएपछि सहकारीका सञ्चालक र व्यवस्थापक सूचना टाँस गरेर सम्पर्कविहीन भएका छन् ।
बचतकर्ता द्वारा भेलाको आव्हान
सहकारीले रकम फिर्ता दिने छाटकाँट नदेखाएपछि सहकारीबाट पिडित भएका बचतकर्ताहरुले भेलाको आव्हान गरेका छन् । सहकारीको गेटमै एक सूचना जारी गर्दै विशेष छलफलका चैत ३ गते सहकारीकै कार्यालय अगाडि सहकारीबाट पिडित भएकाहरुलाई उपस्थित हुन आग्रह गरेका छन् । सहकारी बाट पिडित बनेका राजेन्द्र झाक्रिले उक्त भेलाबाट बचतकर्ताहरु कसरी अगाडि बढ्ने भन्ने बारे निचोडमा पुगेर अघि बढ्ने बताए ।
यता समस्याग्रस्त बनेका बुटवलका सहकारीहरुले लामो समय देखि बचत कर्ताले रकम फिर्ताको माग गरेपनि अहिले सम्म पाउन सकेका छैनन् ।
बचतकर्ताहरु दैनिक जसो सहकारीका ढोकामा आफ्नो रकम लिन पुगेपनि सहकारीका सञ्चालकहरुले ‘पछि आउनुस, हामीले तपाईको रकम तिर्छौ’ भन्ने रेडिमेट जवाफ दिएर फर्काउने गरेका छन् ।
काठमाडौंमा दर्ता भएर बुटवलको राजमार्ग चौराहमा कारोबार गर्दै आएको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले गैरसदस्यलाई बिनाधितो ऋण प्रवाह गरी मापदण्डविपरीत आर्थिक कारोबार गर्दा समस्यामा परेको हो ।
सुप्रिमले करिब ५० जना कर्मचारी परिचालन गरी रूपन्देही र कपिलवस्तुका मुख्य सहर र ग्रामीण क्षेत्रबाट दैनिक बचत संकलन गर्दै आएको थियो । त्यसमध्येको करिब १ अर्ब २० करोड रुपैयाँ काठमाडौंका गैरसदस्यलाई बिनाधितो लगानी गरेको हो ।
रूपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष वसन्तप्रसाद ढकालले सहकारीका नियमन निकायहरु सहकारीलाई नियमन गर्नुको सटट अधिकार क्षेत्रभित्र नपर्ने भन्दै तर्किएपछि बचतकर्ताहरु थप शंसकित भएको बताए ।
प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष टीकाराम पोखरेलले प्रदेशमा दर्ता नभइ सञ्चालन भएका सहकारीहरूमा अपचलनको गुनासो आएको बताए ।
रूपन्देहीका २ सय ८२ सहकारीहरू पछिल्लो समय मर्ज भएर २ सय ५६ भएका छन । लुम्बिनी प्रदेशमा दर्ता भएका ७ सय ६३ सहकारी छन ।