बुटवल । बुटवलमा निर्माणधिन ६ लेनको सडक निर्माण थालेको ६ बर्ष पुरा भइसक्दा अझै पनि पूरा हुन सकेको छ ।
अहिले सडक निर्माणधिन अवस्थामा छ ।
साढे तीन किलोमिटर सडक निर्माण गर्न यति धेरै समय लाग्नुले नेपालमा निर्माणको गति कसरी अघि बढेको छ भन्ने प्रष्ट हुन्छ ।
६ लेनको बनाउन २०७३ चैत १७ गते ठेक्का सम्झौता भएपछि अहिले सडकको काम जम्मा ३० प्रतिशत मात्र भएको छ ।
ठेक्का सम्झौता गर्दा यो सडक ३० महिना भित्र सम्पन्न गर्ने भनिएको थियो । तर घरधनीको मुद्धा मामिला, सडकको क्षेत्रभित्रका घरहरु हटाउन घरधनीको आनाकानी, ठेकेदारलाई राजनीतिक दलबाट भएको सपोटले काम सुस्त गतिमा भइरहेको छ ।
स्थानिय तह निर्वाचनको समयमा त सडक निर्माणको जस पाईने भएकाले चुनावभर बुटवलको सडकमा काम नगर्न राजनीतिक दलले ठेकेदारलाई दवाव समेत दिएका थिए ।
ठेकेदारले काम नै रोकेको थियो । तर निर्वाचन पछि काम नभएको भन्दै ठेकेदारको टेण्डर सम्झौता रद्द गर्ने भनिएपनि राजनीतिक दलकै आंडमा ठेकेदारले सडक निर्माणको म्याद थप गरेको थियो ।
अहिले राजमार्ग चौराह देखि सडक निर्माण भइरहेको भएपनि सुस्त गतिमा काम भइरहेको छ । सडक भत्काएर त्यत्तिकै छाडिएको छ । कतै सडक वान वे बनाइएको छ ।
सडक वान वे भएकै कारण बसपार्कमा गत हप्ता मात्र दुर्घटना हुँदा पत्रकार मनोज हिताङगाको मृत्यु समेत भएको छ । बांकी ७० प्रतिशत सडक कहिले कसरी सकिने हो, जवाफसमेत कसैसित छैन ।
बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण कम्पनी द कञ्चनजंघा बिरुवा जेभीमार्फत पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्ग विस्तार थालेको थियो । अहिले आयोजना बन्द भएको छ । बाँकी सडक निर्माणको जिम्मा संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयले लिएको छ ।
इन्जिनियर अरुण खत्रीले आउँदो १५ महिनामा सक्ने लक्ष्य रहे पनि निर्माण कम्पनीको बेवास्ताले सडक निर्माण अलपत्र परेको बताए ।
सुरुका तीन वर्ष स्थानीयले सडक क्षेत्रका घर भत्काउन नमान्दा ढिलाइ भएको थियो । तीन वर्षयता निर्माण कम्पनीले कामै नगर्दा लम्बिएको छ । म्याद थप्ने बेलामा काम गरेजस्तो देखाउने कञ्चनजंघा बिरुवा जेभीले सम्झौतापछि कामै गर्दैन ।
गत साउनमा निर्माणको तेस्रो पटक म्याद थप गर्दा निर्माण कम्पनीले २०७९ चैतसम्ममा ७० प्रतिशत र २०८० असार २९ सम्ममा सबै काम सक्ने कार्ययोजना बुझाएको थियो । तर, सम्झौतापछि काम गरेन । आगामी असार मसान्तसम्म पनि काम पूरा नहुने पक्का भएपछि सडक डिभिजन कार्यालयले फागुन ४ गते १५ दिनभित्र ठेक्का सम्झौता किन नतोड्ने भन्दै सूचना प्रकाशन गरेको छ ।
गत वर्ष पुष्पलाल चोकदेखि बसपार्कसम्म गिट्टी बिछ्याएर कम्पनीले एक वर्ष म्याद थप गराएको थियो । यसपालि ठेक्का सम्झौता तोड्न सक्ने सूचनापछि मिलनचोकदेखि बसपार्कसम्म गिट्टी फिँजाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअगाडि अस्थायी कालेपत्र गरेको छ । इन्जिनियर खत्रीले सरकारी निकायले सडक निर्माणका लागि सबै सुविधा दिए पनि कम्पनीले काम नगरेको बताए । ‘सडक अलपत्र पारिराख्नुभएन,’ उनले भने, ‘चित्तबुझ्दो कारण नआए ठेक्का तोडिनेछ ।’
निर्माण कम्पनीले पटक–पटक झुक्याएकाले यस पटक भने ठेक्का तोडेर अर्कै प्रक्रियाबाट भए पनि सडक निर्माण सक्नुपर्ने नागरिकको दबाब छ । पारदर्शी सरोकार समूह बुटवलका उपसचिव दीपक ढकालले पहुँचका भरमा ठेक्का लिने तर निर्माण पूरा नगर्ने कम्पनीलाई कारबाही गरेर सडक पूरा गर्नुपर्ने बताए ।
सडक निर्माणका लागि ४७ करोड ३२ लाखमा ठेक्का लिएको कञ्चनजंघा बिरुवा जेभीले अहिलेसम्म १३ करोड ८५ लाख रुपैयाँ लगिसकेको छ । बुटवल मात्र होइन, यस कम्पनीले बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत तीनवटा ठेक्का लिएकामा तीनवटै काम पूरा नगरेको सडक कार्यालयले जनाएको छ । यही कारण आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको सडक अलपत्र छ । बरु नसकिँदै भत्कन र भासिन थालेको छ ।










