भारतीय मालबाहक सवारीले बोक्दै आएको ओभरलोड नियन्त्रण कहिले ?

ढुवानी व्यवसायीहरुले भारतीय मालबाहक सवारीले बोक्दै आएको ओभरलोड भन्सारविन्दुमै समायोजन (पोल्ट्री) गरिनु पर्ने लगायतका माग राख्दै भैरहवा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले क्षमताभन्दा तीन–चार गुणा ओभरलोड बोकेका भारतीय ट्रक निर्वाधरुपमा नेपालभर चल्दा नेपाली व्यवसायी मर्कामा परेको भन्दै भन्सारविन्दुमै भार मिलान गरिनुपर्ने माग गरेका छन् ।

शुक्रबार भैरहवा भन्सार कार्यालय अगाडि जम्मा भएका संयुक्त ढुवानी व्यवस्थापन समितिका पादाधिकारी, सदस्य तथा मजदुरहरुले भारतीय मालबाक सवारीकै कारण आफूहरु पलायन हुने अवस्था आएको बताए । ‘मनपरि सामान बोकेर नेपाल आउने भारतीय ट्रकहरुलाई मुलुकभर ढुवानीमा छुट दिइएको छ, भारतीय ट्रककै कारण मुलुकको सडक, पुल लगायतका संरचना ध्वस्त भएका छन् भने नेपाली व्यवसायी धरासायी भएका छन्’, विरोधन प्रदर्शनपछि आयोजित कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले भने, ‘यस्तै अवस्था रहीरहे हामी पलायन हुने अवस्था आउँछ ।’

उनले ओभरलोड बोकेर आउने भारतीय ट्रकलाई भन्सार विन्दुमै रोकेर भारमिलान गरी नेपाली ट्रकलाई सामान बोक्न दिनुपर्ने बताए । मुलुकभित्र नियम अनुसार नेपाली ट्रकले ढुवानी गर्न पाउनु पर्ने र आफूहरुका माग पूरा नभए निरन्तर आन्दोलन गर्ने उनले बताए । पाण्डेले भारतीय ट्रकले अधिक भार बोकेको बारे सुरक्षा निकायले ध्यान नदिएको आरोप लगाए । ‘धेरै भार बोक्ने ट्रकसित जरिवाना अशुलेर नियम विपरितको तौल घटाउन लगाउनु पर्छ,’ उनले भने, ‘तर, यहाँ जरिवाना अशुलेर अधिक भार बोक्न दिने गरिएको छ ।’

पेट्रोलियम पदार्थको मूल्य बृद्धिका कारण मारमा परेका व्यवसायी भारतीय ट्रकको मनपरिले झन धरासायी बनेको बताए । ‘हाम्रा ट्रकदेखि तिनमा प्रयोग हुने इन्धन, टायर, पार्टस लगायत बस्तु् भारतबाटै आयात गरिन्छ,’ उनले भने, ‘यी बस्तुमा अत्यधिक भन्सार महशुल लगाइएको छ । जसले गर्दा हामी भारतीय ट्रकसित प्रतिष्पर्धा गर्न सक्दैनौं ।’ त्यसैले मुलुकमा भारतीय ट्रकको निर्वाध आवागमन र अधिक भार बहन नियन्त्रण गर्न माग गरिरहेको उनले बताए ।

‘अधिक भार बहन सम्बन्धमा नेपाली ट्रकलाई कडाइ गरिन्छ,’ उनले भने, ‘तर, भारतीय ट्रकको हकमा आँखा चिम्लिने गर्दा समस्या भएको हो ।’ राज्यलाई सघाउने उद्देश्यले आन्दोलन गर्नु परेको उनले बताए । भारतीय ट्रकले नियमले तोकेको भन्दा तेब्बर तौल बोकर मुलुकभरि ढुवानी गररहेको जनाउँदैं ट्रक यातायात व्यवसायीका संस्थाले अब निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

महासंघका राष्ट्रिय बरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले अधिक भार बहन र भारतीय ट्रकको मनपरि बारे वर्षौदेखि सुनुवाई नहनु दुःखद् भएको बताए । ‘नेपाली व्यवसायी अत्यन्तै गम्भीर अवस्थामा रहेका छन,’ उनले भने, ‘प्रत्येक वर्ष यही विषयमा ध्यानाकर्षण गराउनु परिरहेको छ । यो भन्दा दुःखको कुरा के हुन्छ ।’ नेपाली प्रशासन र सरकार यस बिषयमा जानकारी भए पनि माग पूरा गर्न गम्भीर नदेखिएको उनले बताए ।

‘अहिले हामीले बिरोध सभा गरेर माग सुनुवाईका लागि दबाब दिएका हौं,’ उनले भने, ‘तत्काल माग सुनुवाई नभए भारतीय ट्रक रोक्ने र हाम्रा ट्रक भन्सारमा खडा गर्ने चेतावनी दिन्छु ।’ कोरोना महामारीबाट थलिएका व्यावसायीलाई बैंकको ताकेताले अत्याइरहेको अवस्थामा राज्यबाट राहत उपलब्ध गराउने कार्यक्रम नहुनु चिन्ताको विषय भएको बताए । ‘एकातिर व्यवसाय चलाउनै कठिन छ,’ उनले भने, ‘अर्कातर्फ बैंकको किस्ता बुझाउने ताकेताले व्यवसायीको मनोदशा विक्षिप्त बनेको छ ।’ व्यवसायीका अनुसार भारतीय ३० टन बोक्ने क्षमताका ट्रकले ९० टनसम्म सामान बोकेर नेपाल आउँछन् ।

यसरी अधिक ओभरलोड बोकेर आउने भारतीय ट्रकलाई सीमामै रोकेर भारमिलान गर्नुपर्छ । तर जरिवाना गरी निर्वाध नेपालभर जान दिइन्छ । यसले एकातर्फ नेपालका सडकलगायतका संरचना भत्किने, भाँसिने समस्या बढिरहेको छ भने नेपाली ट्रक व्यवसायी मारमा छन् । ‘भारतीय ट्रकले ओभरलोड नबोक्ने हो भने, नेपाली ट्रकहरु खाली बस्नै पर्दैन, भार मिलान हुँदावित्तिकै हाम्रा ट्रकले काम पाउँछन्’, संयोजक पाण्डेले भने ।

शुक्रबार रुपन्देहीको बेलहिया नाकामा प्रदर्शन गरेका व्यवसायीले आफूहरु चल्नै नसक्ने अवस्था आएकाले बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । सरकारले आफूहरुका माग सुनुवाई नगरे कति व्यवसायी आत्महत्या गर्ने अवस्थामा पुगेको महासंघले दावी गरेको छ । बेलहिया नजिकै बाइपासमा रहेको ट्रक पार्किङ स्थलबाट नाराबाजी गर्दै व्यवसायीले भन्सार कार्यालयको गेटमा पुगेर बिरोध सभा गरेको थिए । कानुन विपरित भारतीय ट्रकले गरिरहेको अधिक भारबहनले नेपाली व्यवसायी मर्कामा परेको उल्लेख गर्दै उनीहरुले नियन्त्रणका लागि दबाब दिएका छन् ।

ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको बिरोध प्रदर्शनमा यातायात मजदुर संघका साथै आधा दर्जन व्यवसायिक संस्थाका प्रतिनिधि सहभागी थिए । महासंघले भारतीय ट्रकले भन्सार बिन्दुसम्म ओसारेका समान नेपाली ट्रकले ढुवानी गर्न पाउने व्यवस्था मिलाउन माग गर्दै मंसिर दोस्रो साता भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएको थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार