एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का केन्द्रीय अध्यक्ष पदमबहादुर खड्काले बुटवल हस्पिटल प्रालिले प्रदान गरिरहेको सेवा, व्यवस्थापन र भौतिक पूर्वाधारको खुलेर प्रशंसा गरेका छन्। उनले बुटवल हस्पिटललाई गुणस्तरीय स्वास्थ्य सेवाको नमुनाका रूपमा उल्लेख गर्दै निजी स्वास्थ्य संस्थाप्रति राज्यले समान व्यवहार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
अफिन लुम्बिनी प्रदेशको अधिवेशनका क्रममा बुटवल आएका अध्यक्ष खड्काले हस्पिटलको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै बुटवल हस्पिटलको सेवा–सुविधा राजधानीका धेरै अस्पतालभन्दा पनि उत्कृष्ट रहेको बताए। सरकारी अस्पतालको तुलनामा यहाँको व्यवस्थापन, भौतिक संरचना र बिरामीमैत्री सेवा थप व्यवस्थित देखिएको उनको भनाइ थियो।
उनले निजी स्वास्थ्य संस्थाहरू सरकारका प्रतिस्पर्धी नभई स्वास्थ्य सेवामा सरकारका सहयात्री भएको उल्लेख गर्दै नागरिकलाई गुणस्तरीय उपचार उपलब्ध गराउन निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। त्यसैले सरकारले निजी स्वास्थ्य संस्थाप्रति विभेदरहित नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।
हस्पिटलका अध्यक्ष चुन्नुप्रसाद पौडेलले स्थानीय नागरिकलाई सामान्यदेखि जटिल रोगको उपचारका लागि काठमाडौं वा अन्य सहर धाउनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले अस्पताललाई आधुनिक प्रविधिसहित विस्तार गरिएको जानकारी दिए। दक्ष विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण र प्रभावकारी सेवामार्फत बिरामीलाई सहज र भरपर्दो उपचार उपलब्ध गराउने लक्ष्यका साथ अस्पताल अघि बढिरहेको उनले बताए।
उनका अनुसार आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्नुका साथै अत्याधुनिक स्वास्थ्य प्रविधि भित्र्याएर अस्पतालको सेवा अझ प्रभावकारी बनाइनेछ।
अफिन लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद खरेलले बुटवल हस्पिटल प्रदेशकै स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै निजी स्वास्थ्य क्षेत्रमा यसले उदाहरणीय काम गरिरहेको बताए।
बुटवल–६, चाँदबारी चोकमा रहेको बुटवल हस्पिटल प्रालि सरकारबाट १०० शैयाको सञ्चालन अनुमति प्राप्त बहुविशेषज्ञ अस्पताल हो। अस्पतालमा हाल ३५ जना विशेषज्ञ चिकित्सकसहित करिब ३०० जना कर्मचारी कार्यरत छन्। हालै अस्पतालले अत्याधुनिक सीटी स्क्यान (CT Scan) सेवा सञ्चालनमा ल्याएको छ, जसले यस क्षेत्रका बिरामीलाई छिटो, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।










