रोटरी क्लब अफ लुम्बिनी स्टार्सको आठौं पदस्थापन समारोह तथा १४८औँ नियमित बैठक आइतबार सम्पन्न भएको छ। कार्यक्रममा रोटरी वर्ष २०२५/२६ का अध्यक्ष बिमल ढकालले रोटरी वर्ष २०२६/२७ का अध्यक्ष बालाकृष्ण पोखरेललाई पद तथा जिम्मेवारी हस्तान्तरण गरेका छन्।
समारोहको उद्घाटन रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर इलेक्ट (डीजी इलेक्ट) ईश्वरीप्रसाद ढकालले गरेका थिए। उद्घाटन मन्तव्यका क्रममा उनले रोटरीको विश्वव्यापी अभियान, यसको कार्यक्षेत्र तथा सबै उमेर र वर्गलाई समेटेर सञ्चालन गरिएका सेवामूलक कार्यक्रमबारे प्रकाश पारे।
उनले नयाँ नेतृत्वलाई सांस्कृतिक आदान–प्रदान (कल्चर एक्सचेन्ज), आपसी भाइचारा र सहकार्यलाई प्राथमिकता दिन सुझाव दिँदै रोटरी एक्सन ग्रुप, नेतृत्व विकास र सेवाभावलाई आत्मसात गर्दै समाजमा सकारात्मक परिवर्तनका लागि सक्रिय हुन आग्रह गरे।
नवनिर्वाचित अध्यक्ष बालाकृष्ण पोखरेलले आगामी रोटरी वर्षको वार्षिक कार्ययोजना प्रस्तुत गर्दै डिस्ट्रिक्टले तय गरेका लक्ष्यअनुसार वृक्षारोपण, शिक्षा, स्वास्थ्य तथा समुदाय केन्द्रित विभिन्न सेवामूलक कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
निवर्तमान अध्यक्ष बिमल ढकालले आफ्नो कार्यकालमा सम्पन्न भएका गतिविधिको समीक्षा गर्दै सफलतामा साथ र सहयोग पुर्याउने सदस्य तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरेका थिए।
कार्यक्रममा असाइन्ड असिस्टेन्ट गभर्नर (एजी) नुमलाल पौडेल, जीएसआर एजाज आलम, डिस्ट्रिक्ट कमिटी चेयर राजेन्द्र ढकाल, संस्थापक अध्यक्ष यादव भण्डारी, पूर्वअध्यक्ष बालकृष्ण पाण्डेय, डिस्ट्रिक्ट एडभाइजर काउन्सिल चेयर आर.सी. आचार्य, पीडीडीआर विक्रम क्षेत्री तथा रोटर्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष अनिस ढकालले क्लबले निरन्तरको मेहनत र सक्रियताबाट छुट्टै पहिचान स्थापित गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा अझ रचनात्मक र प्रभावकारी सामाजिक सेवाका कार्यक्रम सञ्चालन गर्न सबै सदस्यको एकता र सहकार्य आवश्यक रहेको बताए।
यसैबीच, क्लबको गतिविधि, इतिहास र परिचय समेटिएको डाइरेक्टरी पनि सार्वजनिक गरिएको क्लबका सचिव योगेन्द्र कँडेलले जानकारी दिए।










