बुटवल । गुल्मी छत्रकोट–खज्र्याङग रुपन्देही सम्पर्क समाजको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एडमण्ड सिटी अस्पतालको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार केन्द्र बुटवलको समन्वयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको थियो ।
समाजका अध्यक्ष विष्णुप्रसाद पन्तको अध्यक्षता तथा छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष पाण्डेले समाजले सामाजिक क्षेत्रमा गरेको कार्य प्रसंशनिय रहेको बताए ।

उनले समाज रुपान्तरणको अभियानमा समाज कटिबद्ध भएर लाग्न सुझाव समेत दिए ।
समाजका अध्यक्ष विष्णुप्रसाद पन्तले समाजले विभिन्न सामाजिक कार्य गर्दै आएको बताउँदै बार्षिक कार्य योजना अनुसार रक्तदान, सरसफाई, सहयोग वितरण जस्ता कार्यक्रम गर्दै आएको बताए । रक्तदान कार्यक्रमका संयोजक ईश्वरी पौडेलले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना बताए ।
त्यस्तै एडभण्ड सिटी हस्पिटलका अध्यक्ष प्रकाश रानाले सामाजिक कार्यमा समाज सँग जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताए । सो अवसरमा हस्पिटल र समाज बीच उपचार छुटमा सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।
कार्यक्रम रमेश सिटौलाको सञ्चालनमा सम्पन्न भएको थियो ।











