बुटवल । नेकपा (एमाले) रुपन्देहीले भोली कात्तिक २९ गते आयोजना गर्न लागेको जिल्लास्तरीय जनप्रदर्शन तथा आमसभाको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । लोकतन्त्र र संविधानको रक्षा, तथा जेनजी समुदायका माग सम्बोधनका एजेण्डासहित आयोजना गरिने जनसभालाई ऐतिहासिक बनाउने उद्देश्यसहित सबै तयारी पूरा गरिएको पार्टीले जनाएको छ ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेका अनुसार रुपन्देहीका १६ वटै स्थानीय तहबाट हजारौं कार्यकर्ता, समर्थक र आम नागरिकको उत्साहजनक सहभागिता रहनेछ । उनले भने, “जिल्लाभरिका जनताको सहभागिताले रुपन्देहीमा ठूलो जनप्रदर्शन हुनेछ । हाम्रो मुख्य सन्देश लोकतन्त्र, संविधान र राष्ट्रिय हितको रक्षा हो ।”
कात्तिक २९ गते बिहान ११ बजे राजमार्ग चौराहाबाट सुरु हुने मार्चपाससहितको ¥याली बुटवलको ट्राफिकचोकमा पुगेर सभामा परिणत हुनेछ । पार्टीका विभिन्न कमिटी, जनवर्गीय संगठन र स्थानीय संरचनाहरूलाई आवश्यक जिम्मेवारी तोकिएको छ । हालसम्म तयारीका लागि आयोजित भेला र बैठकहरू सम्पन्न भइसकेका छन् ।
जनसंगठन समन्वय समिति रुपन्देहीका प्रमुख बाबुराम पन्थीले पार्टीका २३ वटै जनवर्गीय संगठनले त्यस दिनको जनप्रदर्शन र सभामा उत्साहपूर्ण सहभागिता जनाउने बताए । “सबै जनवर्गीय संगठनलाई आवश्यक जिम्मेवारी दिइएको छ, त्यसदिनको प्रदर्शन ऐतिहासिक र भव्य हुने छ”-उनले भने ।
जनसभामा जेनजी समुदाय, युवा तथा आम रुपन्देहीबासीलाई सहभागी हुन पार्टीले विशेष अपिल गरेको छ । प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलका अनुसार जेनजीको आवाज र माग एमालेले मात्रै संस्थागत रूपमा बोकेर अघि बढाएको छ । उनले भने, “जेनजीका माग संविधान संशोधनमार्फत मात्र पूरा गर्न सकिन्छ । त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना अपरिहार्य छ, र एमाले त्यसको पक्षमा दृढ छ ।”
सभामा पार्टीका विभिन्न नेताहरूले सम्बोधन गर्नेछन् । जनप्रदर्शनलाई संगठन सुदृढीकरण र नयाँ पुस्तामा राजनीतिक चेतना जगाउने अवसरका रूपमा लिइएको छ । एमाले रुपन्देहीले जनसभालाई शान्तिपूर्ण, अनुशासित र सन्देशमुखी बनाउन सुरक्षादल र ट्राफिक व्यवस्थापनसमेतका विषयमा सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको जनाएको छ ।
एमाले नेतृत्वका अनुसार भोली कात्तिक २९ को जनप्रदर्शनले रुपन्देहीमा राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा जगाउने अपेक्षा गरिएको छ ।










