भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

विकासको विगत बोकेर चुनावी मैदानमा बासुदेव घिमिरे

प्रतिनिधि सभा निर्वाचनको मौन अवधि शुरू हुनुअघि रूपन्देही–३ मा चुनावी माहोल उत्कर्षमा पुगेको छ । उम्मेदवारहरू अन्तिम समयसम्म मतदाताको घरदैलोमा पुगेर विश्वास जित्ने प्रयासमा छन् भने मतदाता पनि यसपटक भावनाभन्दा काम र अनुभवको आधारमा निर्णय गर्ने मनस्थितिमा देखिएका छन् । मतदान मिति नजिकिँदै जाँदा यहाँको चुनावी बहस ‘नयाँ अनुहार कि परीक्षण भइसकेको नेतृत्व’ भन्ने प्रश्न वरिपरि केन्द्रित हुँदै गएको छ ।

यस बहसको केन्द्रमा छन् नेकपा (एमाले)का उम्मेदवार बासुदेव घिमिरे । नयाँ अनुहार, पेशागत पहिचान र राजनीतिक विरासत बोकेका अन्य प्रतिस्पर्धी मैदानमा उत्रिए पनि मतदातामाझ घिमिरेको विगतको कार्यसम्पादन नै प्रमुख चर्चा बनेको छ । संगठनात्मक मजबुती, स्थानीय तहदेखि संघीय संसद्सम्मको अनुभव र निरन्तर जनसम्पर्कका कारण उनको चुनावी अभियानले गति लिएको स्थानीयहरू बताउँछन् ।

रूपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. लेखजंग थापा, राप्रपाका गौरव बोहोरा, नेपाली कांग्रेसका सुशील गुरुङसहित ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । डा. थापाले चिकित्सकको पेशागत अनुभवलाई चुनावी एजेन्डा बनाएका छन् भने बोहोरा पारिवारिक राजनीतिक विरासतको निरन्तरतासहित मैदानमा छन् । कांग्रेस उम्मेदवार गुरुङले पार्टीको नयाँ रूपान्तरणको सन्देशसहित मत मागिरहेका छन् । तर मतदाताबीच भने अनुभव र कार्यसम्पादनको तुलना प्रमुख विषय बनेको देखिन्छ ।

तिलोत्तमा नगरपालिकासँग प्रत्यक्ष जोडिएको यस क्षेत्रमा घिमिरे पुरानै परिचित नाम हुन् । नगर प्रमुखका रूपमा उनले नेतृत्व सम्हालेको समयलाई धेरै मतदाताले अहिले पनि स्मरण गर्ने गर्छन् । पूर्वाधार विकास, सडक स्तरोन्नति, सरसफाइ अभियान, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिएको सुधारका कारण तिलोत्तमाको विकास मोडल अन्य स्थानीय तहका लागि उदाहरण बनेको स्थानीयको भनाइ छ ।

तिलोत्तमा–१३ का किराना व्यवसायी विवेक चौधरी भन्छन्, “नयाँ उम्मेदवारले धेरै कुरा भन्न सक्छन्, तर काम गरेर देखाइसकेको व्यक्ति घिमिरे नै हुन् । परीक्षण भइसकेको नेतृत्व भएकाले विश्वास गर्न सजिलो हुन्छ ।” चौधरीजस्ता मतदाता यहाँ थुप्रै भेटिन्छन्, जसले विगतको कामलाई नै भविष्यको आधार मानिरहेका छन् ।

घिमिरे संघीय सांसद रहँदा संसद्मा क्षेत्रका मुद्दा निरन्तर उठाएको, विकास आयोजनाका लागि बजेट विनियोजनमा पहल गरेको र स्थानीय आवश्यकतालाई राष्ट्रिय स्तरमा पुर्‍याउने काम गरेको स्थानीयहरूको बुझाइ छ । शुद्धोदन गाउँपालिका–५ का मानबहादुर थारू भन्छन्, “आश्वासन त सबैले दिन्छन्, तर योजना बनाएर कार्यान्वयन गर्ने अनुभव सबैसँग हुँदैन । घिमिरेसँग त्यो अनुभव छ ।”

घरदैलो अभियानका क्रममा देखिएको जनसहभागिता पनि चुनावी संकेतका रूपमा हेरिएको छ । विभिन्न टोलमा आयोजित भेटघाट कार्यक्रममा देखिएको भीड र सक्रियता एमालेको संगठनात्मक संरचना अझै बलियो रहेको संकेत भएको स्थानीय राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । टोलस्तरसम्म सक्रिय संगठन, पुराना कार्यकर्ता र पछिल्लो समय अन्य दलबाट आएका समर्थकले एमालेको आधार विस्तार भएको दाबी गरिएको छ ।

यस क्षेत्रको राजनीतिक समीकरण पनि रोचक छ । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक मतमा नेपाली कांग्रेस अघि भए पनि अहिले कांग्रेस आन्तरिक गुटबन्दीका कारण पूर्ण रूपमा एकजुट हुन नसकेको चर्चा स्थानीय तहमा सुनिन्छ । नयाँ राजनीतिक दलहरूको प्रभाव अन्य क्षेत्रजस्तो यहाँ बलियो देखिएको छैन । रास्वपा र राप्रपाको उपस्थिति रहे पनि मत आधार सीमित रहेको आकलन गरिएको छ ।

सिद्धार्थनगर–१० का एक युवा मतदाता भन्छन्, “यसपटक दलभन्दा उम्मेदवार हेर्ने माहोल छ । घरदैलोमा देखिएको सक्रियता र सहभागिता हेर्दा प्रतिस्पर्धा भए पनि एमाले केही अघि जस्तो लाग्छ ।” उनका अनुसार मतदाता अहिले भावनात्मक नाराभन्दा परिणाम देखाउने नेतृत्व खोजिरहेका छन् ।

घिमिरे स्वयं भने विगतको अनुभवलाई आगामी योजनासँग जोडेर मतदातामाझ पुगेका छन् । नगर प्रमुख हुँदा सुरु गरेका विकास योजनालाई संघीय स्तरबाट विस्तार गर्ने, पूर्वाधारसँगै रोजगारी र आर्थिक गतिविधि बढाउने तथा शिक्षा–स्वास्थ्य सेवामा गुणस्तर सुधार गर्ने प्रतिबद्धता उनले दोहोर्याउँदै आएका छन् ।

रूपन्देही–३ को चुनावी दृश्यले नेपाली राजनीतिमा देखिँदै गएको नयाँ प्रवृत्तिलाई पनि संकेत गर्छ—मतदाता अब केवल पार्टीको झण्डाभन्दा नेतृत्वको क्षमता, विगतको काम र भरोसालाई प्राथमिकता दिन थालेका छन् । यही कारण यहाँ ‘टेस्टेड लिडरशिप’ भन्ने शब्द चुनावी बहसको मुख्य आधार बनेको छ ।

यद्यपि चुनावी माहोल जति अनुमान र विश्लेषणले भरिए पनि अन्तिम निर्णय भने मतपेटिकाले नै गर्नेछ । मतदाताको विश्वास कसले जित्छ भन्ने उत्तर अब मतदानपछि मात्रै स्पष्ट हुनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित