
रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रकम अपचलन गरेर अध्यक्ष र सचिव फरार भएपछि बचतकर्ताले सबै संचालकहरुलाई कार्यालयमा छलफलका लागि बोलाएर थुनेर राखेका छन् । कार्यालयमा थुनिनेमा फरार रहेका अध्यक्ष र सचिवका श्रीमतिहरु पनि रहेका छन् ।
असार १७ गते यो सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर क्षेत्री बचतकर्ताको करोडौं अपचलन गरी फरार भएपछि वचतकर्ताले उनीहरुलाई कारबाहीको माग गर्दै आफ्नो वचत फिर्ताको वातावरण बनाउन लगातार प्रशासनलाई दवाव दिँदै आएका थिए ।
तर कसैगरी उनीहरु सम्पर्कमा नआएपछि दुई दिनअघि प्रहरीले फरार दुवैजनाका श्रीमतीलाई नियन्त्रणमा लिएर छलफल गराएको छ । बुधबार अपरान्हदेखि बचतकर्ता र अध्यक्ष तिवारीकी श्रीमती शारदा तिवारी र सचिवको श्रीमती गीतादेवी पन्थीबीच छलफल भएपनि कुनै सहमति नभएपछि पीडित बचतकर्ताले सहकारीको कार्यालयबाट उनीहरुलाई रातभर निस्कन दिएनन् ।
बुधबार राति छलफलका लागि कार्यालयमा बोलाइएका सबै संचालकलाई भित्र थुनिएको र यो समस्या समाधान नहुँदासम्म निस्कन नदिने सदस्य लालबहादुर खत्रीले बताए । उनीहरुलाई सामान्य खानाको व्वस्था भित्रै गरिएको र यसको वास्तविकता नआउन्जेल बाहिर आउन नदिइने उनले जनाएका छन् ।
अहिले कार्यालय बाहिर ५ वटा सशस्त्र प्रहरीका गाडीले सुरक्षा दिइरहेको स्थानीयले जनाएका छन् ।
मंगलबारको छलफलमा अध्यक्ष तिवारीकी पत्नी शारदाले अपचलन र हिनामिना भएको रकमको जिम्मेवारी अध्यक्ष र सचिव मात्र नभई सिंगो सञ्चालक समितिले लिनुपर्ने तर्क गरेकी थिइन् । बचतकर्ताहरुले उनको तर्क अस्वीकार गर्दै तिवारीलाई यथाशीघ्र उपस्थित गराउनुपर्ने अन्यथा सम्पति र जायजेथा बिक्री गरेर बचत फिर्ता गर्नुपर्ने माग गरेका थिए ।
मंगलबार शारदाले आफूसँग भएको रकम करिब ७ करोड दिएर अहिले बचत रकम फिर्ता गराउन यहाँको समन्वय समितिमा राजी भएपनि पछि उनका जेठाजू हरि तिवारीले नमालेपछि बिग्रेको समन्वय समितिका एक सदस्यले बताए ।
बचत फिर्ताको सुनिश्चित नहुँदासम्म घर घेराउ आन्दोलन जारी रहने बचतकर्ता बसन्त शर्माले बताए । छलफलमा सहकारीका उपाध्यक्ष बलराम न्यौपाने, कोषाध्यक्ष सुरेन्द्र बज्राचार्य, सह–कोषाध्यक्ष केशरी पाण्डेले आफूहरु बचतकर्ताको रकम छिटो फिर्ता हुनुपर्ने र त्यसका लागि फरार अध्यक्ष र सचिवलाई छिटो सम्पर्कमा ल्याउन प्रहरी प्रशासनसँग माग गरे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी गणेश सापकोटाले फरार अध्यक्ष र सचिवको खोजी जारी रहेको र छिटै पक्राउ पर्ने दाबी गरे ।
मंगलबार अपरान्हदेखि सुरु भएको सहकारी कार्यालय घेराउ कार्यक्रम अहिले पनि जारी छ । अध्यक्ष र सचिवकी श्रीमतीलाई बचतकर्ताले कार्यालयबाट निस्कन दिएका छैनन् भने प्रहरीले बाहिरबाट सुरक्षा दिइरहेको छ ।
पीडितहरुले अध्यक्ष र सचिवलाई तत्काल झिकाउन माग गर्दै बचत फिर्ता नभएसम्म आन्दोलन नरोक्ने बताएका छन् । असार १७ देखि फरार दुवैजनाविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । तर, प्रहरी उनीहरूको खोजीमा गम्भीर नभएको भन्दै बचतकर्ता आक्रोशित छन् ।
सहकारीमा संकट आएपछि प्रदेश सहकारीको कार्यालयबाट यहाँको वास्तविक अवस्था पत्ता लगाउन अहिले आन्तरिक लेखापरीक्षणको अन्तिम तयारी भएको छ तर यसअघि नै लेखापरीक्षणमा गलत तथ्य राखेकाले यसलाई ढिलाई गरिएको हो ।