रुपन्देहीको तिलोत्तमा नगरपालिका-३ मा रहेको डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा बचतकर्ताहरुको करोडौँ रकम अपचलन भएपछि सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा प्रहरीको सुरक्षामा अडिटर राखेर हिसाब गर्ने कार्य जारी छ ।
करोडौँ रकम अपचलनको घटना सार्वजनिकपछि सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा (क्षेत्री) सँगै सम्पर्कविहीन भएका व्यवस्थापक बसन्त पराजुलीले शुक्रबार दिउँसो आत्मसमर्पण गरेका छन् ।
करिब दुई हजार २ सय सदस्य रहेको सहकारीमा प्रमुख सञ्चालक समितिका अध्यक्ष र सचिव भागेपछि आक्रोशित बचतकर्ताले बिहीबार साँझदेखि राति १ बजेसम्म अध्यक्ष र सचिवको घर घेरेर बचतकर्ताको रकम फिर्ता गर्न माग गर्दै दोषीउपर कारबाही गर्नुपर्ने नाराबाजी गरेपछि शुक्रबार दिउँसो प्रहरीको सुरक्षा घेरामा सहकारीको कार्यालय नजिक मन्दिर परिसरमा अडिट गर्ने कार्य भइरहेका बेला व्यवस्थापक पराजुलीले सहकारीकै केही व्यक्तिहरुको साथमा आएर प्रहरी सामु आत्मसमर्पण गरेका हुन् ।
डिंगरनगर सहकारीमा अपचलन भएको भन्दै बचतकर्ताले सचिव थापाको घर घेरे, चार जना नियन्त्रणमा
वडा प्रहरी कार्यालय रामनगर बुटवलको प्रहरी टोलीसमक्ष आत्मसमर्पण गरेका व्यवस्थापक पराजुलीले अडिटरसामु सहकारीको पहिलो दिनदेखि नै हिसाब हेर्नुपर्ने बताएको स्रोतले जानकारी दिएको छ ।
आफ्ना भनाइ राखेका पराजुलीलाई शुक्रबार (हिजो) नै इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको र आइतबार (भोलि) सरकारी वकिलको कार्यालयमा बयार गराएर अदालत पेश गरिने इलाका प्रहरी कार्यालय बुटवलका मुद्धाफाँटका प्रमुख धर्मराज खत्रीले बताए ।
व्यवस्थापक पराजुलीले तीन जना शेयर सदस्यको नाममा देखाइएको किर्ते ऋण र आफूसहित श्रीमती, छोरी र छोराको नाममा लिएको ऋण गरी नौ करोड ५५ लाख ३० हजार अठासी रुपैयाँ अपचलन गरेको २०८२ साल जेठ ५ गते कबुलियतनामा गरिएको एउटा तमसुक फेला परेको छ ।
तमसुकमा ऋणी देखाइएका छोरी र छोरालाई नै साक्षी बसालेकोले सहकारीका अध्यक्ष र सचिवले यो कागज गराएर निलम्बित गराइएको हो कि व्यवस्थापक पराजुलीले आफैँ गरेका हुन् भन्ने तथ्य अडिट रिपोर्टपछि मात्रै थाहा हुने नाम नखुलाउने सर्तमा एक कार्यसमिति सदस्यले बताएका छन् ।
नारायण वली/हाम्राकुरा










